चुक्ता पुँजीका आधारमा नेपाल लाइफ र आईजीआई प्रुडेन्सियल बने ठूला कम्पनी



काठमाडौं । नेपाली बीमा बजारमा नेपाल लाइफ इन्स्यारेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीका आधारमा ठूला कम्पनी बनेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स चुक्ता पुँजीका आधारमा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा ठूलो कम्पनी बनेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ माथि छ, जुन नियामकले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई बनेको ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ निर्जीवन बीमा कम्पनीतर्फ चुक्ता पुँजीका आधारमा ठूलो कम्पनी बनेको हो ।

‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यो पनि नियामकले तोकेको न्यूनतम पुँजीभन्दा धेरै हो । मर्जरसम्बन्धी अन्तिम सम्झौता पारित गरेका कम्पनीहरुले एकीकृत कारोबार मिति भने तय गरेका छैनन् ।

जीवनतर्फ पुँजीका आधारमा दोस्रो कम्पनी बन्यो ‘हिमालयन लाइफ’

मर्जरपश्चात जीवन बीमा कम्पनीको संख्या १४ वटा कायम हुनेछ । मर्जरपश्चात बन्ने ‘हिमालयन लाइफ इन्स्योरेन्स’ जीवन बीमा कम्पनीतर्फ चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बन्ने देखिएको छ ।

प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफले गत वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्जर हुन लागेका हुन् । एकीकृत कारोबारपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७२ करोड रुपैयाँ नाघ्नेछ । कम्पनीहरुले वैशाखदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपश्चात बनेको सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस्तै, मर्जरपछि बनेको सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ ।

नेसनलको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । एलआइसीको पुँजी २ अर्ब ६५ करोड माथि छ । एशियनको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपैयाँ छ ।

यस्तै, सिटिजन लाइफको चुक्ता पुँजी २ अर्ब ६२ करोड, सन नेपाल लाइफको २ अर्ब २४ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८० करोड र आईएमई लाइफको २ अर्ब ८० करोड रुपैयाँ छ । यी कम्पनीहरुले आईपीओमार्फत नियामकले तोके बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्याउने प्रक्रिया अघि बढाएका छन् ।

निर्जीवनतर्फ ‘सिद्धार्थ प्रिमियर’ बन्यो दोस्रो ठूलो कम्पनी

निर्जीवन बीमा कम्पनीतर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सपश्चात चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी सिद्धार्थ प्रिमियर बनेको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘सिद्धार्थ प्रिमियर’को चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ आईजीआई प्रुडेन्सियल र सिद्धार्थ प्रिमियरसहित शिखर र सगरमाथा लुम्बनीले मात्रै हालसम्म नियामक निकायले तोके बमोजिमको न्यूतम चुक्ता पुँजी पुर्याएका छन् ।

शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । सगरमाथा र लुम्बिनी जनरल मर्ज भई बनेको नायँ कम्पनी ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ  । यो नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘सानिमा जिआईसी’ को चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, अजोड, यूनाइटेड र प्रुडेन्सियल, आईएमई जनरल भने मर्जर प्रक्रियामा छन् । अजोडले प्रभु इन्स्योरेन्ससँग भएको मर्जर सम्झौता तोड्दै पुनः युनाइटेडसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग पुस २६ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । युनाइटेड र अजोडबीच स्वाप रेसियो १००:९० हुने प्रारम्भिक सहमति भएको थियो । यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स’ हुनेछ ।

यस्तै, एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ अर्ब ४८ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको २ अर्ब एक करोड रुपैयाँ रहेको छ । यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ छ ।

जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । प्राधिकरणको निर्देशनअनुसार २०७९ चैत मसान्तसम्ममा कम्पनीहरुले तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरिसक्नुपर्ने छ ।


क्लिकमान्डु