नयाँ व्यवसायको ५१.६९% रकम सरेण्डरमार्फत बाहिरियो, बीमा पोलिसी त्याग्नेको संख्या ५०%ले बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग्नेको संख्या ५० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुमा ८ हजार ९३९ वटा बीमालेख त्याग भएका छन् ।

जुन गत आवको फागुन महिनाको तुलनामा ५०.५६ प्रतिशतले धेरै हो । गत आवको फागुन महिनामा कम्पनीहरुमा ५ हजार ९७९ वटा पोलिसी सरेण्डर भएका थिए ।

यस्तै, कम्पनीहरुमा पोलिसी सरेण्डरको संख्यासँगै रकम पनि बढेको छ । कम्पनीहरुबाट बीमितहरुले फागुन महिनामा ८ हजार ९३९ वटा बीमा पोलिसी सरेण्डर गरी १ अर्ब ८ करोड २६ लाख रुपैयाँ फिर्ता लगेका छन् ।

जुन गत आवको सोही अवधिको तुलनामा २४.६६ प्रतिशतले धेरै हो । गत आवको फागुन महिनामा कम्पनीहरुमा ८६ करोड ८४ लाख रुपैयाँ बराबरका ५ हजार ९५७ वटा बीमालेख त्याग भएका थिए ।

२ अर्ब नयाँ व्यवसाय भित्र्याउँदा १ अर्बको सरेण्डर

फागुन महिनामा कम्पनीहरुले २ अर्ब ९ करोड ४४ लाख रुपैयाँको नयाँ व्यवसाय भित्र्याउँदा १ अर्ब ८ करोड २६ लाख रुपैयाँको सरेण्डर भएको छ । अर्थात नयाँ व्यवसायको ५१.६९ प्रतिशत रकम सरेण्डरमार्फत बाहिरिएको हो ।

कुन कम्पनीबाट कति ?

फागुन महिनामा नेपाल लाइफको बीमितले २ हजार ५७६ वटा पोलिसी त्याग गरेका छन् । कम्पनीमा ३४ करोड २० लाख रुपैयाँ बराबरका उक्त संख्या बराबरका पोलिसी त्याग भएका हुन् । कम्पनीले फागुन महिनामा नयाँ व्यवसायमार्फत ४४ करोड ६ लाख रुपैयाँ भित्र्याएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा १४ करोड ४१ लाख रुपैयाँ बराबरको २ हजार १५३ पोलिसी त्याग भएका छन् ।

यस्तै, एलआइसी नेपालमा १५ करोड ७३ लाख रुपैयाँ बराबरका १ हजार ४१ वटा, एशियन लाइफमा ७ करोड २५ लाख रुपैयाँ बराबरका ६३६, नेशनल लाइफमा ७ करोड ६७ लाख रुपैयाँ बराबरका ३९२ वटा, सूर्यज्योति लाइफमा १३ करोड ३३ लाख रुपैयाँ बराबरका ५५७ वटा, गुराँस लाइफमा २ करोड २३ लाख रुपैयाँ बराबरका २६० वटा र मेट लाइफमा ३ करोड ९८ लाख रुपैयाँका ३४२ वटा पोलिसी त्याग भएको प्रािधकरणले जनाएको छ ।

यस्तै, कम्पनीहरुबाट रिलायबल लाइफबाट ११४ वटा, रिलायन्स लाइफबाट ११२, आइएमई लाइफबाट ८१ वटा, यूनियन लाइफबाट ६९ वटा, सानीमा लाइफबाट ४८, प्रभुबाट ४७, र महालक्ष्मी लाइफबाट ३६ वटा पोलिसी सरेण्डर भएका छन् ।

जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरुले निश्चित अवधिको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढ्दो क्रममा रहेको देखिएको छ । निश्चित अवधिका लागि खरिद गरिएको पोलिसीलाई परिपक्व अवधिसम्म निरन्तरता नदिने बीमितको संख्या बढ्दै गएको हो ।

बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक पर्नु हो । आर्थिक संकट पर्दा बीमितले आफूले खरिद गरेको पोलिसीलाई सरेण्डर गर्ने बीमकहरु बताउँछन् । आफ्नो आयलाई आधार मानेर बीमालेख खरिद गर्दा बीमितले आफ्नो पोलिसीलाई निरन्तरता दिन सक्ने बीमकहरु बताउँछन् ।

सरेण्डर गर्ने बीमितको संख्या बढ्दै गएपछि प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् ।

उक्त व्यवस्था हुनु अघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न सक्थे । सरेण्डर गर्नेको संख्या बढ्दै गएपछि समितिले नयाँ व्यवस्था लागू गरेको थियो ।

अवधि बढाएपछि पोलिसी त्याग्ने क्रम रोकिने समितिको विश्वास थियो । तर, जीवन बीमा कम्पनीहरुमा बीमालेख सरेण्डर रोक्ने समितिको प्रयास भने असफल बन्दै गएको छ । कडाई गरेपनि कम्पनीहरुमा पोलिसी त्याग्ने क्रममा सुधार भने आउन सकेको छैन ।

बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरिएको छ । बीमितलाई बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने व्यवस्था छ ।


क्लिकमान्डु