विद्युतीय सवारी साधनको बिक्री बढेपछि धमाधम सर्भिस सेन्टर र चार्जिङ स्टेसन निर्माण



काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको आकर्षण बढेसँगै कम्पनीहरुले सर्भिस सेन्टर र चार्जिङ स्टेसन निर्माणमा जोड दिएका छन् । नेपाली बजारमा उच्च संख्यामा विद्युतीय सवारी साधन बिक्री गर्दै आएका कम्पनीले ग्राहकको विश्वास बढाउन सर्भिस सेन्टर र चार्जिङ स्टेसनमा ठूलो लगानी गर्न थालेका हुन् ।

विश्वव्यापी रुपमै विद्युतीय सवारी साधनमा आकर्षण बढेपछि उत्पादनकर्ताले लगानी थप्दै लगेका छन् । विश्वका ठूला सवारी साधन निर्माता कम्पनीहरुले सन् २०३० सम्ममा हजारौं विद्युतीय सवारी साधनसँगै ब्याट्री र कच्चा पदार्थ उत्पादनका लागि १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेका छन् । उनीहरुले स्पेयर पार्टस तथा सर्भिसिङ क्षेत्रमा पनि ठूलो लगानी गर्ने भएका छन् ।

नेपालमा पनि विद्युतीय सवारी साधनमा आकर्षण बढ्दो छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिँदै आएको छ । जसले गर्दा विद्युतीय सवारी साधनको व्यापार बढ्दै गएको छ । चालू आर्थिक वर्षको ८ महिनामा नेपालले विभिन्न देशबाट २२ सय विद्युतीय सवारी साधन आयात गरिसकेको छ ।

विद्युतीय सवारी साधनको आकर्षण बढेपछि कम्पनीहरुले चार्जिङ स्टेसन, पार्टपुर्जा र सर्भिसिङलाई उच्च प्राथमिकतामा राखेर लगानी बढाएका छन् । विद्युतीय सवारी साधनमा पहिलो प्राथमिकता चार्जिङ स्टेसन र त्यसपछि सर्भिस सेन्टरको सुविधा दिनुपर्छ भन्ने ध्येयका साथ लगानी बढाएको कम्पनीहरुले बताएका छन् ।

नेपालमा बीवाईडी, हुन्डाई, टाटा, एमजीलगायतका विक्रेता कम्पनीले धमाधम सर्भिस सेन्टर र चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् ।

कसको कस्तो सुविधा ?

बीवाइडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिले ग्राहक आकर्षित गर्न सर्भिस सेन्टर र चार्जिङमा ठूलो लगानी गरेको छ । छोटो समयमै उच्च विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले गौरीघाटमा ६ रोपनीमा सर्भिस सेन्टर बनाएको कम्पनीका सर्भिस हेड सुशील तन्डुकारले बताए । उनका अनुसार कम्पनीले करिब ८ करोड रुपैयाँ खर्चेर सर्भिस सेन्टर निर्माण गरेको हो ।

कम्पनीले सुरुमा बालुवाटारको सानो वर्कसपबाट सर्भिस सेन्टरको सुविधा दिएको थियो । तर, माग बढ्दै गएपछि सर्भिस सेन्टरसँगै चार्जिङ स्टेसन निर्माणमा जोड दिइएको हो । ‘हालसम्ममा ५ सयहाराहारी विद्युतीय सवारी साधन बिक्री भइसकेका छन्, ५ सयवटा बुकिङ भएका छन्,’ तन्डुकारले भने, ‘ती सवारी साधनका लागि थप सहज तरिकाले सेवा प्रदान गर्ने गरी देशभर सर्भिस सेन्टर निर्माणमा जोड दिएका छौं ।’

कम्पनीका काठमाडौंमा २ वटा र उपत्यकाबाहिर ७ वटा सोरुम छन् । सबै सोरुममा कम्पनीले चार्जिङ स्टेसन र सर्भिस सेन्टरको व्यवस्था गरेको छ । कम्पनीले अन्य लामो दूरीमा यात्रा गर्नेहरुका लागि पनि ठाउँ-ठाउँमा एसी चार्जिङ निर्माणको तयारी गरिरहेको छ ।

‘बिक्री गरिसकेको सवारी साधनका सेवाग्राहीलाई ३-३ महिनाको अन्तरमा कम्पनीले आफैँ फोन गरेर सर्भिसका लागि बोलाएर सेवा दिँदै दिइरहेको छ,’ उनले भने, ‘अहिले दैनिक ४ देखि ५ वटा गाडीलाई सर्भिस दिँदै आएका छौं ।’

केही वर्ष अघिसम्म सहजै स्पेयर पार्टस् तथा चार्जिङको व्यवस्था नभएको भन्दै मानिसहरु खरिद गर्न डराइरहेका थिए । तर, गाडीमा आकर्षण बढेपछि अवस्था फेरिएको हो । बजारमा बीवाइडीको अहिलेकै अवस्थामा माग बढ्दै गएको अवस्थामा ललितपुर र भक्तपुरमा पनि सर्भिस सेन्टरको सेवा दिन तयार गर्नेछौं ।

हुन्डाइ अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि विद्युतीय सवारी साधनका सेवाग्राहीका लागि देशभर ४० भन्दा बढी चार्जिङ स्टेसन बनाइसकेको छ । कम्पनीले गत वर्ष नै देशभर ५० वटा चार्जिङ स्टेसन बनाउने घोषणा गरेको थियो ।

टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पनि विभिन्न स्थानमा चार्जिङ स्टेसन र सर्भिस सेन्टरको सुविधा दिने तयारी गरिरहेको छ । देशभर सयभन्दा बढी ठाउँमा एसी र डीसी चार्जिङको सेवा दिँदै आएको कम्पनीले विभिन्न क्षेत्रबाट सर्भिस सेन्टर तथा स्पेयर पार्टसको पनि सुविधा दिँदै आएको छ ।

एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि देशका विभिन्न स्थानमा सर्भिस सेन्टर बनाउने योजना बनाएको कम्पनीका जेनरल म्यानेजर सचिन अर्यालले बताए । उनका अनुसार अहिले कम्पनीले विभिन्न ९ वटा स्थानबाट सर्भिस सेन्टर तथा चार्जिङ स्टेसनको सेवा दिँदै आएको छ । आगामी दिनमा थप ग्राहकलाई विश्वस्त र सहज बनाउन अन्य स्थानमा पनि सेवा दिने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

नेटा भीको आधिकारिक विक्रेता सीजी ग्रुपले पनि देशका विभिन्न स्थानमा सर्भिस सेन्टर र चार्जिङ स्टेसन बनाउनका लागि योजना बनाइरहेको मार्केटिङ हेड दिपक थापाले बताए ।


अरिष्मा मोक्तान