मोरङ-सुनसरी औद्यागिक क्षेत्रमा दैनिक ८ घण्टा लोडसेडिङ, ७० प्रतिशतसम्म उत्पादन कटौती



विराटनगर । मोरङ-सुनसरी औद्यागिक क्षेत्रमा हाल दैनिक ८ घण्टा लोडसेडिङ छ । गत वर्षको तुलनामा स्टिल, छड, सिमेन्ट, चाउचाउजस्ता केही ठूला उद्योग थपिएका कारण औद्योगिक क्षेत्रमा विद्युत अपुग हुँदा उत्पादन ७० प्रतिशतसम्म कटौती गर्नुपरेको उद्योगीले बताएका छन् ।

दुई वर्षअघि औद्योगिक क्षेत्रलाई १७५ मेगावाट विद्युत पर्याप्त हुने गरेको थियो । त्यसपछि क्रमिक रुपमा थपिँदै गएका उद्योगका कारण माग बढेको ऊर्जा क्षेत्रका जानकार युवा उद्योगी राकेश सुराना बताउँछन् । सुरानाका अनुसार कतिपय यस्ता ठूला उद्योग छन्, ती उद्योगको मेसिन तताउनलाई नै डेढ-दुई घण्टा समय लाग्छ ।

मेसिन तातिसकेपछि विद्युत कटौती हुँदा त्यसको प्रत्यक्ष असर उत्पादन लागतमा पर्छ । जानकारी बिना अप्रत्यासित रुपमा विद्युत कटौती गर्दा केही ऊर्जा खपत भइसकेको हुन्छ । श्रमिक पनि आइसकेका हुन्छन् । यस्तो अवस्थामा उद्योगले बिनाउत्पादन व्ययभार बोक्नुपर्ने हुन्छ ।

औद्योगिक क्षेत्रमा ६० देखि ७० प्रतिशत विद्युत कटौती गरिँदा पनि यो विषयले प्राथमिकता नपाएको उनको भनाइ छ । प्राधिकरणले प्रर्याप्त विद्युत आपूर्ति पनि गर्न नसकेको र लोडसेडिङ छ भनेर स्वीकार नगरेको उनले बताए ।

विद्युत कटौतीको विषयले प्रथामिकता नपाउनुमा बैंकको ब्याजदर वृद्धिको विषयले बढी प्राथमिकता पाउनु पनि हो । त्यतिमात्र नभएर आर्थिक मन्दी, बैंकमा तरलता संकुचन समस्यासँग उद्योगी व्यवसायीले जुझ्नुपरेको कठिन चुनौती पनि छ ।

मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा २ सय मेगावाट विद्युत आवश्यक रहेकोमा १२० मेगावाट मात्र आपूर्ति भइरहेको छ । यो क्षेत्रमा साना-ठूला गरी ५ सय उद्योग छन् । तीमध्ये ठूला उद्योगले मात्र दैनिक १५० मेगावाट विद्युत माग गरेका छन् ।

एक त सुक्खा मौसम अनि भारतबाट पनि सम्झौता र मागअनुसार विद्युत आपूर्ति नभएकाले औद्योगिक क्षेत्रमा विद्युत अभाव भएको उद्योगी सुरानाको भनाइ छ । भारतबाट न्यूनमात्र आपूर्ति भएको र पर्याप्त पानी नपरी ऊर्जा उत्पादन नहुने भएकाले मागबमोजिमको विद्युत प्राप्त नभइरहेको उनले बताए ।

उद्योगी भीम घिमिरेले विद्युत लोडसेडिङले इँटा व्यवसाय नै धरापमा परेको बताए । उनको सुनसरीको तनमुनामा एबी इँटा उद्योग छ ।

नियमित विद्युत आपूर्ति गर्न नसक्नुमा सरकारको कमजोरी र अक्षमता रहेको उनको आरोप छ । सरकारले धेरै रकम खर्च हुन्छ र नाफा हुँदैन भनेर भारतसँग प्रर्याप्त विद्युत खरिद नगरेको कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।

सर्वसाधारण पनि समस्यामा

लोडसेडिङले उद्योगधन्दामा मात्र नभई घरायसी क्षेत्रमा पनि उस्तै समस्या छ । विराटनगर-३ उदयमार्गका प्रकाश शर्मा दैनिकजसो विद्युत कटौती हुने गरेको गुनासो गर्छन् ।

गृहिणीका समस्या उस्तै छन् । ‘कहिले त राइ सकुकरमा खाना पकाउँदा-पकाउँदै लाइन गएर दिनभर आउँदैन,’ विराटनगर शान्तिचोककी गायत्रा नेपाल भन्छिन्, ‘पकाउँदै गरेको खाना निकालेर ग्यास चुलोमा पुनः पकाउनुपर्छ । यसो गर्दा अफिस र स्कुल जानेलाई समय मिलाउन पनि गाह्रो हुन्छ र अनावश्यक झन्झट हुन्छ, खर्च पनि बढ्छ ।’

भारतले सम्झौताअनुसार नदिँदा समस्या

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख उमेशकुमार झाले ढल्केबर-मुजफपुर प्रसारणलाइनबाट विद्युत कम आपूर्ति भएकाले समस्या देखिएको बताए । अघिल्लो वर्ष भएको सम्झौताअनुसार भारतले विद्युत आपूर्ति नगरेको र स्वदेशमा सुक्खायामका कारण खोलामा पानीको सतह घट्न गई विद्युत ऊर्जा उत्पादन न्यून भएको छ । त्यसैले उद्योगधन्धालाई पर्याप्त विद्युत उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

तर, घरायसी प्रयोजनको लागि विद्युत अभाव नभएको उनले दाबी गरे । केही समयपछि विद्युत आपूर्तिको समस्या पूर्णरुपमा समाधान हुने उनले जानकारी गराए ।

विराटनगर विद्युत वितरण शाखाका प्रमुख सरोज कुमारले भने कतै पनि लोडसेडिङ नभएको बताए । ‘कहिलेकाहीँ विद्युत जानु बेग्लै कुरा हो,’ उनले भने, ‘त्यो पनि घरायसी प्रयोजनका लागि हामीले विद्युत लाइन काट्ने गरेको छैनौं ।’


क्लिकमान्डु