सावधिक जीवन बीमाबाट उठ्छ धेरै प्रिमियम, बीमितको रोजाइमा लघुबीमा



काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् ।

कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी जीवन बीमा र लघु जीवन बीमा योजनामा बिक्री गर्दै आएका हुन् ।

जीवन बीमा कम्पनीहरुको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ । अर्थात सञ्चालनमा ल्याएका नौ बीमा योजनामध्ये सावधिक जीवन बीमाबाट सबैभन्दा धेरै प्रिमियम उठेको हो ।

तोकिएको अवधिसम्म किस्ताबन्दी रुपमा बीमाशुल्क तिर्ने र सो अवधिपछि यदि बीमित जीवित छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई बीमांक रकम र आर्जित बोनस (यदि मुनाफामा सरिक हुने गरी बीमा गरिएको भएमा) प्रदान गरिने जीवन बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।

यस्तो बीमा सामान्यतया पाँच वर्षदेखि ५० वर्ष अवधिको लागि गर्ने गरिन्छ । यस बीमाअन्तर्गत बीमा अवधि बाँकी रहँदा नै बीमितको मृत्यु भएमा निजको हकवालालाई र निज जीवितै रहेमा अवधि सकिएपछि निजलाई नै बीमाको रकम प्रदान गरिन्छ । यो बीमा विकासोन्मुख मुलुकहरुमा बढी प्रचलनमा रहेको पाइन्छ । नेपालमा पनि यो बीमा नै सबैभन्दा धेरै प्रचलनमा रहेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आवको फागुन महिनासम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुको कुल व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८.७१ प्रतिशत हुन आउँछ । यस अवधिसम्ममा सावधिक जीवन बीमाबाट कम्पनीहरुले ३६ अर्ब २९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस बीमा योजनका १९ लाख ६२ हजार ७२९ वटा कुल बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

सावधिक जीवन बीमा पछि जीवन बीमा व्यवसायमा अग्रिम भुक्तानी सावधिक जीवन बीमाको योगदान धेरै देखिन्छ । यस बीमा योजना बिक्री गरी कम्पनीहरुले २२ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल जीवन बीमा व्यवसायको २४.०५ प्रतिशत हो । नेपाल बीमा प्राधिकरणकाअनुसार यस बीमा योजनाका सक्रिय बीमालेखको संख्या ४ लाख ९१ हजार २८ वटा रहेका छन् ।

कम्पनीहरुले रुपान्तरित सावधिक जीवन बीमाबाट १२ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस बीमा योजनाका सक्रिय बीमालेखको संख्या ५ लाख १५ हजार ९३९ वटा रहेका छन् ।

कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट १३ अर्ब ८७ करोड ३ लाख रुपैयाँ, आजीवन जीवन बीमा योजनाबाट २ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले लघु जीवन बीमा योजनाबाट १ अर्ब ६४ करोड रुपैयाँ, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २ अर्ब २३ करोड १३ लाख रुपैयाँ, म्यादी बीमाबाट ९० करोड ४९ लाख रुपैयाँ र एकल बीमाशुल्क जीवन बीमाबाट ७६ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघुबीमा बीमितको रोजाइमा

व्यवसायमा सावधिक बीमा योजनाको योगदान बढी देखिएपनि बीमितको आकर्षण भने लघुबीमामा देखिन्छ । अर्थात जीवन बीमा कम्पनीहरुमा रहेको सक्रिय बीमालेखमध्ये २९.३२ प्रतिशत बीमालेख लघु जीवन बीमालेख रहेको हुन् । यस अवधिसम्ममा कम्पनीहरुमा सक्रिय लघु जीवन बीमालेखको संख्या ४१ लाख ५ हजार ७५५ वटा रहेको छ ।

सक्रिय म्यादी जीवन बीमालेखको संख्या ४० लाख ८८ हजार १७२ छ । जुन कुल सक्रिय बीमालेखको २९.२० प्रतिशत हुन आउँछ ।

यस्तै, कम्पनीहरुमा सक्रिय सावधिक जीवन बीमालेखको संख्या १९ लाख ६२ हजार ७२९, वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या १३ लाख ९३ हजार ९५६, बालबच्चा सम्बन्धी सावधिक बीमालेखको संख्या १२ लाख ९२ हजार ११, रुपान्तरित सावधिक बीमालेखको संख्या ५ लाख १५ हजार ९३९, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या ४ लाख ९१ हजार २८, आजीवन जीवन बीमालेखको संख्या १ लाख २७ हजार ७९० र एकल बीमाशुल्क जीवन बीमालेखको संख्या २४ हजार १९६ छ ।

प्राधिकरणको तथ्यांकअनुसार यस अवधिसम्ममा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ छ।


बिजया बास्कोटा