जीवन बीमा व्यवसायलाई नवीकरण बीमाशुल्कको टेवा



काठमाडौं । आर्थिक मन्दीको असर जीवन बीमा व्यवसायमा पनि देखिन थालेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क (नयाँ व्यवसाय) घटेको छ ।

व्यक्तिले आफ्नो खर्चपश्चात बचेको रकमबाट पनि निश्चित रकम छुट्याएर बीमा गर्ने हो । तर, महँगीका कारण बचत घट्दै गइरहेको अवस्थामा बीमा प्राथमिकतामा नपरेको हो । बचत नै नभएको अवस्थामा बीमा अपरिहार्य हुँदैन । त्यसैले पनि बीमामा दीर्घकालीन लगानी गर्नेहरुको संख्या कम हुँदै गएको छ ।

यस्तो अवस्थामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय गर्न सकिरहेका छैनन् । कम्पनीहरुमा नयाँ व्यवसाय घट्दो क्रममा छ । प्राधिकरणले सार्वजनिक गरेको चालू आवको फागुनसम्मको तथ्यांकअनुसार कम्पनीहरुले १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँको मात्रै नयाँ व्यवसाय भित्र्याएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २८.३८ प्रतिशतले अर्थात ७ अर्ब ३५ करोड १२ लाख ८९ हजार रुपैयाँले थोरै हो ।

गत आवको फागुनसम्ममा कम्पनीहरुले २५ अर्ब ९० करोड २९ लाख ४३ हजार रुपैयाँको नयाँ व्यवसाय गरेका थिए । प्राधिकरणका अनुसार कुल जीवन बीमा व्यवसायमा नयाँ व्यवसायको योगदान १९.७९ प्रतिशत मात्रै हुन आउँछ ।

नयाँ व्यवसाय घटिरहेको अवस्थामा व्यवसायलाई नवीकरणीय बीमाशुल्कले टेवा पुर्याएको बीमकहरु बताउँछन् । जुन कुरा तथ्यांकले पनि पुष्टि गर्छ । नयाँ व्यवसाय घटेको अवस्थामा जीवन बीमा व्यवसाय नवीकरणीय बीमाशुल्कको भरमा चलेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको चालू आवको फागुनसम्मको तथ्यांकअनुसार जीवन बीमा व्यवसायमा नवीकरणीय बीमाशुल्कको योगदान ८०.२१ प्रतिशत छ । कम्पनीहरुले नवीकरणीय बीमाशुल्कबाट ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ९३ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबरको कुल बीमा व्यवसाय गरेका छन् ।

बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क हो । नवीकरण बीमाशुल्क बर्सेनि बढ्दै जान्छ । जीवन बीमा कम्पनीहरुले पोलिसी बिक्री गरेको सुरुवातको किस्ताबापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । अर्था्त नयाँ बीमितबाट संकलन भएको बीमाशुल्क नै प्रथम बीमाशुल्क हो ।

नवीकरण बीमाशुल्क धेरै उठाउनेमा नेपाल लाइफ पहिलो

प्राधिकरणको तथ्यांकअनुसार नवीकरण बीमाशुल्कबाट धेरै रकम संकलन गर्ने कम्पनीमा नेपाल लाइफ अगाडि छ । कम्पनीले यो अवधिमा नवीकरण बीमाशुल्कबाट २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ ।

दोस्रोमा नेसनल लाइफ छ । नेसनलले १० अर्ब २२ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ । तेस्रोमा एलआईसीले ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ । चौथोमा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, सूर्यज्योतिले नवीकरण बीमाशुल्कबाट ५ अर्ब ५१ करोड ६२ लाख, युनियन लाइफले ५ अर्ब १७ करोड ८६ लाख, एसियन लाइफले ४ अर्ब ५९ करोड १० लाख, सिटिजन लाइफले ३ अर्ब ५७ करोड २८ लाख र मेट लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेका छन् ।

प्राइम लाइफले नवीकरण बीमाशुल्कबाट २ अर्ब ९६ करोड ५३ लाख, आईएमई लाइफले २ अर्ब ६२ करोड २९ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड ७४ लाख, गुराँस लाइफले १ अर्ब ९८ करोड ७७ लाख, सानिमा लाइफले १ अर्ब ६५ करोड ९२ लाख र प्रभु लाइफले १ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् ।


बिजया बास्कोटा