नयाँ लघुबीमा कम्पनी आउने भएपछि पुराना कम्पनी व्यवसाय विस्तारमा आक्रामक



काठमाडौं । नयाँ लघुबीमा कम्पनीहरु आउने भएसँगै पुराना कम्पनीहरु लघुबीमा व्यवसायमा आक्रामक भएका छन् । नेपाल बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएसँगै पुराना कम्पनीहरु उक्त व्यवसाय विस्तारमा केन्द्रित भएका हुन् ।

लक्ष्य अनुरुप लघुबीमा कार्यक्रमले गति लिन नसक्दा बीमा प्राधिकरणले छुट्टै लघुबीमा कम्पनीको परिकल्पना गरि लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । नयाँ कम्पनीहरुले कारोबार गर्ने तयारी गरिरहँदा पूराना कम्पनीहरुले लघुबीमा व्यवसायतर्फ ध्यान दिएको प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।

लघुबीमा कम्पनीहरुलाई लाइसेन्सदिएपछि पुराना कम्पनीहरुमा लघुबीमालेखहरुको संख्या बढ्न थालेको छ ।

‘लक्ष्यअनुसार लघुबीमा बढेको छैन,’ एक कम्पनीका सीइओले क्लिकमान्डुसँग भने,‘नयाँ कम्पनीहरुलाई लाइसेन्स दिएपछि भने कम्पनीहरुको आकर्षण देखिएको छ ।’

१ अर्ब ६४ करोड संकलन

नेपाल बीमा प्राधिकरणकाअनुसार जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा फागुन महिनासम्ममा ९७४.१९ प्रतिशतले लघुबीमा व्यवसाय बढाएका छन् । कम्पनीहरुले फागुनसम्ममा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमाशुल्क लघुबीमा व्यवसायबाट संकलन गरेका हुन् । जुन गत साउनमा १५ करोड २६ लाख रुपैयाँ थियो । कम्पनीहरुमा बीमालेखको संख्या समेत बढेको छ ।
हाल जीवन बीमा कम्पनीहरुमा सक्रिय लघुबीमालेखको संख्या ४१ लाख ५ हजार ७५५ वटा रहेका छन् । जुन कुल जीवन बीमालेखको २९.३२ प्रतिशत हुन आउँछ । कम्पनीहरुमा सक्रिय रहेको कुल बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ वटा रहेको छ ।

सरकारको निर्देशनलाई वेवास्ता गर्छन् कम्पनी

सरकारले कम्पनीहरुलाई आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबीमा व्यवसाय गर्न निर्देशन दिएको थियो  । सरकारले लघुबीमा कार्यक्रमलाई विस्तार गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ को बजेट उक्त सीमा तोकेको थियो ।

तर, कम्पनीहरुले उक्त निर्देशनलाई मान्दै आएका छैनन् । फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले गरेको कुल बीमा व्यवसायमा लघुबीमाको हिस्सा १.७५ प्रतिशत मात्रै हुन आउँछ । फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ९३ अर्ब ७५ करोड रुपैयाँको कुल व्यवसाय गरेका छन् ।

किन आकर्षक छैनन् कम्पनीहरु ?

लघुबीमाको प्रिमियम सानो भएका कारणले ठूला बीमा कम्पनीहरुको आकर्षण लघुबीमा व्यवसायमा पर्न नसकेको सरोकारवालाहरु बताउँछन् । लघुबीमामा बीमाशुल्क न्यून हुन्छ । बीमा गर्दा लाग्ने लागत पनि नउठ्ने बीमकहरु बताउँछन् । ठूला ठूला विजनेशले नै कम्पनीहरु चलिरहने हुँदा पनि लघुबीमा प्रति कम्पनीहरुले चाँसो नदिएको सरोकारवालाहरु बताउँछन् ।

‘लघुबीमाको प्रिमियम थोरै हुने हुँदा लागत पनि नउठ्ने अवश्था हुन्छ । आफुले गरेको व्यवसायबाट थोरै पनि फाइदा हुदैन भने त्यस्तो विजनेश कम्पनीले लिदैनन्,’ एक बीमकले क्लिमान्डुसँग भने, ‘ठुलो विजनेशले नै कम्पनीहरुलाई पुगिराखेको छ । कम्पनीहरु चलिराखेका छन्, जसले गर्दा आकर्षक कम देखिन्छ ।’

७ वटा कम्पनीले पाएका छन् लघुबीमाको लाइसेन्स

नेपाल बीमा प्राधिकरणले कात्तिक ११ गते सात वटा कम्पनीलाई लघुबीमाको व्यसाय गर्ने अनुमति दिएको थियो । प्राधिकरणले जीवनतर्फ ३ र निर्जीवनतर्फ ४ वटा कम्पनी गरी कुल ७ वटालाई लाइसेन्स दिएको थियो । लघु जीवन बीमा कम्पनीतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमा रहेका छन् । त्यस्तै, लघु निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाएका छन् ।

लाइसेन्स पाएका यी कम्पनीहरुले कारोबार भने शुरु गरिसकेका छैनन् ।

प्राधिकरणले लघुबीमा निर्देशिका, २०७६ लाई संशोधन गर्दै ५ लाख रूपैयाँसम्मको लघुबीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको छ । समितिले गरेको नयाँ व्यवस्थाअनुसार ३ लाख रुपैयाँसम्मको जीवन लघुबीमा (सावधिक, म्यादी, अन्य) गर्न सकिन्छ ।


क्लिकमान्डु