६ जीवन बीमा कम्पनीले अझै बिक्री गरेनन् वैदेशिक रोजगार बीमालेख



काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये ११ वटाले मात्रै वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । बीमा प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुलसम्बन्धी कार्यविधि’ खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलिदिए पनि ६ कम्पनी इच्छुक नदेखिएका हुन् ।

नेपाल बीमा प्राधिकरणले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट प्राप्त कार्यविधिबमोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो । सोही व्यवस्था बमोजिम कम्पनीहरुको सहमतिअनुसार पुल प्रणालीमार्फत बीमालेख जारी हुँदै आएको थियो ।

बीमा कम्पनीहरुले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार बीमा जारी गर्दै आएका थिए ।

बीमा प्राधिकरणले गत साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको उक्त निर्णयबमोजिम चालु आवको शुरुवातदेखि सबै बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरुले उक्त बीमालेख जारी गर्न सक्ने भएपनि ११ वटा कम्पनीले मात्रै बीमालेख जारी गरेको बीमा प्राधिकरणले जनाएको छ । जसअनुसार ६ वटा कम्पनीले भने वैदेशिक रोजगार बीमालेख बिक्री गरेका छैनन् ।

२ अर्ब २३ करोड संकलन

चालु आवको फागुन मसान्तसम्मा ११ वटा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गरी कुल २ अर्ब २३ करोड १३ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । कुल जीवन बीमा व्यवसायमा वैदेशिक बीमाको योगदान २.३ प्रतिशत हुन आउँछ । कम्पनीहरुले चालु यस अवधिमा ९३ अर्ब ७५ करोड ३७ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् ।

प्राधिकरणकाअनुसार फागुन मसान्तसम्ममा कुल सक्रिय रहेको बीमालेखको संख्या १३ लाख ९३ हजार ९५६ वटा रहेको छ । यस अवधिमा बीमालेख जारी गरेका ११ कम्पनीहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ८३ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । फागुन मसान्तसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या ७ लाख ७०३ वटा छन् ।

सन नेपाल लाइफ पछि सूर्यज्योति लाइफले यस बीमालेख जारी गरी ३५ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या २ लाख ८१ हजार ९९७ वटा रहेको छ ।

आइएमई लाइफले २९ करोड १५ लाख रुपैयाँ, नेपाल लाइफले २० करोड ४२ लाख रुपैयाँ, सानीमा लाइफले १५ करोड २४ लाख रुपैयाँ, सिटिजन लाइफले १४ करोड ९१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १० करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, नेशनल लाइफले ८ करोड १४ लाख रुपैयाँ, रिलायन्स लाइफले ३ करोड ८७ लाख रुपैयाँ र प्रभु लाइफले १ करोड ७७ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट फागुन महिनामा मात्रै २६ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । फागुन महिनामा ५९ हजार ३०८ वटा बीमालेख जारी भएको प्राधिकरणको तथ्यांक छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु