जीवन बीमा व्यवसायमा आर्थिक मन्दीको असर, प्रथम बीमाशुल्क २८ प्रतिशतले घट्यो



काठमाडौं । जीवन बीमा व्यवसायमा आर्थिक मन्दीको असर परेको तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क (नयाँ व्यवसाय) घटेको छ ।

जीवन बीमा कम्पनीहरुले पोलिसी बिक्री गरेको सुरुवातको किस्ताबापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । अर्थात् नयाँ बीमितबाट संकलन भएको बीमाशुल्क नै प्रथम बीमाशुल्क हो ।

सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको फागुनसम्ममा १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँबराबरको नयाँ व्यवसाय गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २८.३८ प्रतिशत अर्थात् ७ अर्ब ३५ करोड १२ लाख रुपैयाँले थोरै हो ।

गत आवको फागुनसम्ममा कम्पनीहरुले २५ अर्ब ९० करोड २९ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका थिए । प्राधिकरणको तथ्यांकअनुसार कुल बीमा व्यवसायमा प्रथम बीमाशुल्कको योगदान १९.७९ प्रतिशत छ ।

व्यक्तिले आफ्नो खर्चपश्चात बचेको रकमबाट पनि निश्चित रकम छुट्याएर बीमा गर्ने हो । तर, महँगीका कारण बचत घट्दै गइरहेको अवस्थामा बीमा प्राथमिकतामा पर्न नसकेको हो । बचत नै नभएको अवस्थामा बीमा अपरिहार्य हुँदैन । त्यसैले पनि बीमामा दीर्घकालीन लगानी गर्नेहरुको संख्या कम हुँदै गएको छ ।

महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई आर्थिक मन्दीका कारण बीमा व्यवसाय प्रभावित भएको बताउँछन् । अन्य क्षेत्र जस्तै बीमा क्षेत्र पनि आर्थिक मन्दीको चपेटामा परेको उनले बताए ।

यो असर आगामी दिनमा झनै बढ्दै जाने उनको अनुमान छ । नयाँ व्यवसाय घटिरहेका बेला व्यवसायलाई नवीकरणीय बीमाशुल्कले टेवा पुर्‍याएको भट्टराई बताउँछन् ।

‘जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय खुम्चिनुमा आर्थिक मन्दी नै प्रमुख कारण हो,’ क्लिकमान्डुसँग उनले भने, ‘मान्छेसँग पैसा छैन, बचत नभएपछि बीमा प्राथमिकतामा नपर्दा प्रथम बीमाशुल्क घट्न पुगेको हो ।’

उनका अनुसार महिनामा २० लाख रुपैयाँ बीमाशुल्क तिरेर बीमा गर्नेले अहिले २ लाख रुपैयाँको मात्रै गर्ने गरेका छन् । ‘आफ्नो सबै खर्च धानिसकेपछि बाँकी रहेको बचतबाट बीमा गर्ने हो । बचत नै नभएको अवस्थामा बीमा अपरिहार्य होइन,’ उनले भने, ‘यो स्थिति डरलाग्दो बन्ने देखिन्छ । आर्थिक वर्षको अन्त्यसम्ममा अवस्था झनै बिग्रिनेछ ।’

सानिमा रिलायन्स लाइफका डेपुटी सीईओ निरञ्जन कँडेल पनि जीवन बीमा कम्पनीहरुमा नयाँ व्यवसाय घट्नुको प्रमुख कारण आर्थिक मन्दी नै रहेको बताउँछन् ।

‘घरजग्गा बिक्री घटेको छ, स्टक मार्केटको अवस्था पनि उस्तै छ, बैंकहरुले दिने कर्जा एकदमै घटेको छ, जसले गर्दा अर्थतन्त्र चलाययमन भएको छैन,’ क्लिकमान्डुसँग उनले भने, ‘मान्छेको हातमा जति पैसा हुनुपर्ने हो, त्यो छैन । ब्याजदर बढ्दा पैसा महँगो भयो । जसका कारण मान्छेहरुको प्राथमिकतामा बीमा परेन ।’

आर्थिक मन्दीकै कारण कम्पनीहरुमा बीमालेख समर्पण गर्नेको संख्या पनि बढ्दै गएको उनले बताए । आर्थिक मन्दीले सबै क्षेत्रमा प्रभाव पार्दा बीमा व्यवसायमा पनि त्यसको असर पर्ने कँडेल बताउँछन् ।

सबै कम्पनीको प्रथम बीमाशुल्क घट्यो

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा जीवन बीमा व्यवसाय गर्दै आएका १८ वटै जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको छ । १८ मध्ये सबैभन्दा धेरै प्रथम बीमाशुल्क गुराँस लाइफको घटेको छ ।

गत आवको फागुनसम्मको तुलनामा गुराँसको प्रथम बीमाशुल्क ५१.२७ प्रतिशत घटेर २२ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४५ करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, युनियन लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफको प्रथम बीमाशुल्क ४० प्रतिशतभन्दा धेरैले घटेको छ । युनियनको प्रथम बीमाशुल्क ४७.७४ प्रतिशत, रिलायबल नेपालको ४५.४८ प्रतिशत र प्रभु लाइफको ४०.८९ प्रतिशतले घटेको हो ।

यो अवधिमा प्रथम बीमाशुल्कबापत युनियनले ८३ करोड ३३ लाख, रिलायबल नेपाल लाइफले ९२ करोड ६ लाख र प्रभु लाइफले ४१ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क ३९.५ प्रतिशत, प्राइम लाइफको ३९.८४ प्रतिशत, महालक्ष्मी लाइफको ३९.५५ प्रतिशत, सिटिजन लाइफको ३७.२३ प्रतिशत, सानिमा लाइफको ३१.४७ प्रतिशत, एसियन लाइफको २८.५७ प्रतिशत, सन नेपाल लाइफको २७.८६ प्रतिशत, नेपाल लाइफको २०.७९ प्रतिशत, रिलायन्स लाइफको २०.३५ प्रतिशत र मेट लाइफको २०.०४ प्रतिशतले घटेको छ ।

यस्तै, नेसनल लाइफको प्रथम बीमाशुल्क १८.४६ प्रतिशत, एलआईसी नेपालको १४.१५ प्रतिशत र आईएमई लाइफको ६.३२ प्रतिशतले घटेको छ ।

व्यवसायलाई नवीकरण बीमाशुल्कको टेवा

कुल जीवन बीमा व्यवसायमा नवीकरणीय बीमाशुल्कको योगदान ८०.२१ प्रतिशत छ । यस अवधिमा कम्पनीहरुले नवीकरणीय बीमाशुल्कबापत ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ संकलन गरेका छन् ।

गत आवको सोही अवधिमा ६६ अर्ब २८ करोड ८५ लाख रुपैयाँ नवीकरणीय बीमाशुल्कबाट उठेको थियो । बीमा कम्पनीहरुले दोस्रो वा त्यसभन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क हो ।

बीमा निश्चित समयसम्मका लागि खरिद गरिन्छ । यसरी खरिद गरिएको बीमालेखलाई चलायमान बनाउन बीमाशुल्क भुक्तानी गर्नुपर्छ । जसले गर्दा नवीकरणीय बीमाशुल्क बर्सेनि बढ्दै जान्छ । बर्सेनि बढ्दै जाने हुँदा जीवन बीमा व्यवसायमा नवीकरणीय बीमाशुल्कको हिस्सा बढी हुन्छ ।

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको आठ महिना अर्थात् फागुनसम्ममा ९३ अर्ब ७५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६८ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ छ ।


क्लिकमान्डु