पर्याप्त अध्ययनबिना उद्योग स्थापना र सञ्चालन गर्दा जोखिम: राउत



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले माग पक्षको पर्याप्त अध्ययनबिना उद्योग स्थापना र सञ्चालन गर्दा अतिरिक्त जोखिम निम्तिने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

अध्यक्ष राउतले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने नीति र अभ्यास नहुनु, भन्सार नीति र प्रशासनमा रहेका समस्याका कारण कच्चा पदार्थ र अन्तिम उत्पादनमा समान कर तथा शुल्क तिर्नुपर्ने अवस्था रहनुले कठिनाइ उत्पन्न गरेको बताए ।

उनले भन्सार छलेर सामान आयात हुने अवस्थालाई सरकार अन्देखा भइदिंदा स्थानीय उत्पादनभन्दा आयातित बस्तुको बजार मूल्य कम हुनु, अत्यधिक विद्युत कटौतीका कारणले उत्पादन लागत उच्च हुनु, सरकारले पुँजीगत खर्च गर्न नसक्नु, कतिपय उद्योगमा बिना अध्ययन वाह्य लगानी भित्र्याइनु आदि कारणले स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको औंल्याए ।

कार्यक्रममा बोल्दै रिलाएन्स स्पिनिङ उद्योगका महेश पोख्रेलले टेक्सटाइल उद्योग विश्वको औद्योगिक क्रान्ति र आर्थिक विकासको प्रमुख आधार रहेको विषयलाई महत्व दिन नसक्दै दर्जनौं चरणमा मूल्य अभिबृद्धि हुने गरेकको बताए । उनले कृषिलगायत औद्योगिक उत्पादनका विभिन्न चरणमा आय र रोजगारी सिर्जना गर्ने यी उद्योग बचाउने विषयलाई सरकारले प्राथमिकता नदिँदा करिडोर क्षेत्रका १० वटाभन्दा बढी ठूला टेक्स्टाइल उद्योग बन्द भएको बताए ।

प्रगति टेक्स्टाइलका प्रदिप निरौलाले नेपाल सरकारले टेक्स्टाइल उद्योग बचाउनका लागि गैरकानुनीरुपमा हुने कपडा पैठारी रोक्नु नै पर्याप्त हुने बताए । कपडाको खपतसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै उनले वार्षिक नेपालमा ८० करोड मिटर कपडा माग भएकोमा आन्तरिक उत्पादन करिब ६ करोड मिटर र आयात करिब ४ करोड मिटरको तथ्यांक मात्र सरकारसँग रहेकोले यसबाट कपडाको गैरकानुनी आयात कति छ भन्ने स्पष्ट रहेको जानकारी गराए ।

रघुपती जुट मिलका निर्देशक सोमनाथ अधिकारीले जुट उत्पादन बन्द हुनु वा उद्योग रुग्ण हुनुको मुख्य कारण भारतले लगाएको एन्टी डम्पीङ नीति अन्तर्गतको नियन्त्रण रहेको बताए । भारतीय कुल जुट उत्पादन बजारको २ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने नेपाल जुटका उत्पादनलाई रोक्नुपर्ने कारण नभए पनि नेपाल सरकारले पर्याप्त कूटनीतिक प्रयास गर्न नसक्दा हालसम्म बन्देज नहटेको उनले प्रस्ट पारे ।

सो क्रममा कृषिमा आधारित उद्योग, दुग्ध प्रशोधन उद्योग आदिलाई कृषि उत्पादनसँग जोड्न नसक्दासम्म जोखिम रहने हुनाले यसलाई ध्यान दिनुपर्नेमा सो क्षेत्रका उद्योगीहरुले जोड दिएका थिए । निर्माणका कार्यमा सुस्तता आउँदा त्यसको प्रभाव सिमेन्ट उत्पादनमा परेको उदाहरण दिँदै सहभागीहरुले निजी क्षेत्र र सरकारबीच पर्याप्त समन्वय हुन नसकेको र सरकारले निजी क्षेत्रका समस्यालाई बेवास्ता गरेको गुनासो गरे ।

बैंक तथा वित्तीय संस्थाले सहज ऋण प्रवाह नगर्नु तथा ऋणको ब्याज उच्च हुनु, बजारमा श्रमिकको सहज उपलब्धता नहुनु र विद्युत आपूर्ति असहज हुनुजस्ता कारणले औद्योगिक उत्पादनको लागत उच्च भएको हो । जसका कारण उद्योग घाटामा जाने र अर्थतन्त्र गम्भीर संकटमा पुग्नसक्नेतर्फ सचेत रहनुपर्ने सहभागीहरुको धारणा थियो ।

कार्यक्रममा द एसिया फाउण्डेशनको सहयोगमा कोशी प्रदेश र कोशी प्रदेशको आर्थिक बृद्धिसम्बन्धी अध्ययन गरिरहेको कम्यूनिटी इन्गेजमेन्ट एण्ड आउटरीच प्रालिका डेपुटी टिम लिडर अनिरुद्र न्यौपानेले नेपालको समग्र अर्थतन्त्रको तुलनामा कोशी प्रदेशको कृषि र उद्योगको योगदान बढी रहेको बताए । उनले यस कार्यलाई सवल पक्षका रुपमा लिंदै कृषि उत्पादन र कृषि प्रशोधनलाई एक अर्काका परिपूरकका रुपमा लिएर सरकार र निजी क्षेत्रबीच प्रभावकारी साझेदारी हुनुपर्ने प्रस्ट्याए ।

एफएनसीसीआई कोशी प्रदेशले औद्योगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका टेक्साटाइल, जुट, चिनी लगायतका विभिन्न उद्योग बन्द हुनुका कारण तथा कृषि र उद्योग क्षेत्रका जोखिमका बारेमा सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो धारणा राखेका थिए ।


क्लिकमान्डु