जीवन बीमा कम्पनीको व्यवसाय ९३ अर्ब ७५ करोडमाथि, ११ वटाको बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको आठ महिना अर्थात् फागुन महिनासम्ममा ९३ अर्ब ७५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.६८ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट १८ अर्ब ५५ करोड रुपैयाँ र नवीकरणीय बीमाशुल्कबाट ७५ अर्ब २० करोड रुपैयाँ गरी सो रकम संकलन गरेका हुन् । प्राधिकरणकाअनुसार जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ वटा रहेको छ ।

सबैभन्दा धेरै नेपाल लाइफको, थोरै महालक्ष्मी लाइफको

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ । कम्पनीले यस अवधिसम्ममा २४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा व्यसायको २६ प्रतिशत हुन आउँछ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीले कुल बीमाशुल्क संकलन १.८७ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले २३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा भने महालक्ष्मी लाइफ इन्स्योरेन्स परेको छ । इन्स्योरेन्सले यस अवधिमा र महालक्ष्मी लाइफले १ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेको छ । यो कुल जीवन बीमा व्यवसायको १.०९ प्रतिशत मात्रै हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआइसीले यस अवधिमा ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरको छ । नेशनल लाइफले ८ महिनाको अवधिमा १० अर्ब २२ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्रािधकरणको तथ्यांक छ ।

राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड र यूनियन लाइफले ५ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस्तै, एशियन लाइफले ४ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५७ करोड, मेट लाइफले ३ अर्ब ३९ करोड, प्राइम लाइफले २ अर्ब ९६ करोड र आइएमई लाइफले २ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सन नेपाल लाइफले २ अर्ब ५८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड, रिलायन्स लाइफले २ अर्ब ७ करोड, गुराँस लाइफले १ अर्ब ९८ करोड, सानिमा लाइफले १ अर्ब ६५ करोड र प्रभु लाइफले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

७ कम्पनीको व्यवसाय घट्यो

गत आवको सोही अवधिको तुलनामा १८ वटा जीवन बीमा कम्पनीमध्ये ७ वटा व्यवसाय भने घटेको छ । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय प्राइम लाइफ इन्स्योरेन्सको घटेको छ । गत आवको तुलनामा प्राइमको व्यवसाय १३.४८ प्रतिशतले घटेको हो ।

यस्तै, रिलायबल नेपाल लाइफको व्यवसाय ११.६८ प्रतिशत, मेट लाइफको ७.२३ प्रतिशत, सन नेपाल लाइफको ५.०८ प्रतिशत, गुराँस लाइफको ४.७७ प्रतिशत, सूर्यज्योति लाइफको ०.९४ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांक छ ।

आइएमई लाइफको व्यवसाय सार्वधिक बढ्यो

प्राधिकरणकाअनुसार १८ जीवन बीमा कम्पनीमध्ये ११ वटाको व्यवसाय भने बढेको छ । ११ वटा कम्पनीमध्ये आइएमई लाइफको व्यवसाय धेरै प्रतिशतले बढेको छ । गत आवको सोही अवधिको तुलनामा आइएमईको व्यवसाय २२.३३ प्रतिशतले बढेको हो ।

यस्तै, नेशनल लाइफको व्यवसाय १३.४० प्रतिशत, रिलायन्सको ११.२६ प्रतिशत, महालक्ष्मी लाइफको ९.०६ प्रतिशत, सानिमा लाइफको ७.९७ प्रतिशत र प्रभु लाइफको ५.७३ प्रतिशतले बढेको छ ।

यस्तै, एलआइसीको व्यवसाय ३.४२ प्रतिशत, सिटिजन लाइफको २.६१ प्रतिशत, नेपाल लाइफको १.८७ प्रतिशत र एशियन लाइफको १.०४ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु