सरकारको गलत नीतिले उद्योगी/व्यवसायीलाई पीडित बनायोः अन्जन श्रेष्ठ



धनगढी । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पिडित भएको बताएका छन् ।

सुदुरपश्चिम प्रदेशको धनगढीमा आइतवार आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ? विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ । यसले हामी सबैलाई पिडित बनाएको छ,’ श्रेष्ठले भने, ‘यो गलत नीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने राम्रो उदाहरण हो ।’

सुदुरपश्चिम क्षेत्रमा पर्यटनको अथाह संभावना भएको भन्दै उनले यसमा सहकार्य र सामुहिक भावनामार्फत् अगाडि बढ्न सकिने बताए । उनले पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने स्पष्ट पारे ।

श्रेष्ठले आफ्नो परिवारको सानो व्यवसायबाट अगाडि बढ्दै बिस्तार भएको जानकारी दिँदै उनले आफुले उद्योगी व्यवसायीहरुको समस्या नजिकबाट भोगेको जानकारी दिए ।
‘हामी नवप्रवर्तनमा विश्वास गर्दछौं र सँधै तपाईँहरुबाट नयाँ कुराहरु सिक्न चाहन्छौं,’ उनले भने ।

उद्योग बाणिज्य महासंघमा धेरै चुनौतीहरु रहेको बताउँदै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले संस्थालाई पहुँचयुक्त र सक्षम निजी क्षेत्रको रुपमा अगाडि बढाउने बताए । उनले साना तथा मझौला व्यवसायलाई पनि साथसाथै अगाडि लैजाने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोबिन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिबिधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

‘पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठन बाहेक सबै राजनीतिक दस्ताबेजहरु मात्र ल्याएछौं, जसले पनि अर्थतन्त्रमा हामी सचेत छैनौं भन्ने देखिन्छ,’ पोखरेलले भने ।

वैदेशिक रेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको बताए ।

उनले सहजरुपमा कर तिर्ने र घुस खुवाउनुपर्ने अवस्था रोक्न सकिएपनि उद्योगी व्यवसायीहरुलाई राहत हुने भन्दै रेमिट्यान्स नियमित आउँदा नेताहरुलाई हाईसन्चो भएको बताए ।
“रेमिट्यान्स आईरहेको छ, आवाज उठाउने र सचेत गराउने युवाहरु वैदेशिक रोजगारीमा गएका छन्। यसले नेताहरुलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो,” उनले भने ।

योजना आयोजका पूर्वउपाध्यक्ष पोखरेलले निजी क्षेत्रले पहिचान चाहेको र त्यसको लागि सरकारले सहजीकरण र सुबिधा दिनुपर्ने सुझाब दिए ।

कार्यक्रममा सुदुरपश्चिम क्षेत्रमा दशकौंदेखि पत्रकारिता गर्दै आएका दीर्घराज उपाध्यायले सुदुरपश्चिम क्षेत्रलाई पर्यटन र कृषिमा केन्द्रित गर्नसके आर्थिक विकास गर्न सकिने बताए ।
“खप्तड, बडिमालिका, सात भगवती जस्ता पर्यटकिय क्षेत्रको प्रबद्र्धन गर्ने र धान कोदोको उत्पादन वृद्धि र ब्राण्डिङ्ग गर्न सकिएमा प्रदेशको तिब्र विकास गर्न सकिन्छ,” उनले भने ।

यसको लागि तीन तहकै सरकारले सामुहिकरुपमा प्रदेशको आर्थिक विकास गर्न मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु