पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई कारबाहीस्वरुप व्यवसायको सीमा तोक्दै प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न दिएको समय सीमा नजिकिँदै छ । प्राधिकरणले गत चैत महिनामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गरिसक्नुपर्ने छ । तोकिएको समयमा पुँजी पुर्याउन सहज नहुने भन्दै कम्पनीहरुले समय सीमा थप गरिदिन आग्रह गर्दै आएका थिए ।
तर, प्राधिकरणले भने तोकिएको समय सीमाभित्र पुँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुलाई कारबाही स्वरुप व्यवसायको सीमा तोक्ने भएको छ । अर्थात् तोकिए बमोजिमको न्यूनतम पुँजी नपुग्ने बीमा कम्पनीहरुले आफ्नो पुँजीको आकारअनुसार मात्रै व्यवसाय लिन पाउने भएका हुन् ।

कम्पनीहरुको जति पुँजी छ, त्यति नै मात्रामा जोखिम बहन गर्न पाउने गरी व्यवसायको सीमा तोक्ने तयारी बीमा प्राधिकरणले गरेको हो । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुँजी वृद्धि गर्नका लागि समय सीमा नथपिने र कारबाहीस्वरुप जोखिममा आधारित पुँजीको सिद्दान्तका आधारमा व्यवसाय गर्न निर्देशन दिने बताए ।

‘अब पुँजी वृद्धिका लागि समय थपिँदैन,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डुसँग भने,‘पुँजी नपुर्याएका कम्पनीहरुको कारोबार पनि रोक्का गर्न सकिँदैन । त्यही कारणले गर्दा ती कम्पनीहरुलाई रिस्कवेस क्यापिटलमा जान निर्देशन दिन सक्ने निर्णय प्राधिकरणले लिन सक्छ ।’

बीमा कम्पनीलाई साउन १, २०८० देखि चरणबद्धरुपमा जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । विश्व बैंकसँग सहकार्य गरी रिस्कवेस क्यापिटलको मोडालिटी प्राधिकरणले बनाएको थियो । तर, चैत मसान्तभित्र तोकिए बमोजिमको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुको हकमा भने निर्देशिकाले तोकेको मितिभन्दा अघिनै जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने भएको हो ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफको पुँजी प्राधिकरणले तोके बमोजिम पुगिसकेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा माथि छ । जुन नियामकले तोकेभन्दा बढी हो । नेशनलको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । भने एलआइसीले हकप्रद सेयरमार्फत् पुँजी बढाउने प्रक्रिया अघि बढाएको छ ।

विदेशी कम्पनी मेट लाइफ नेपालको पँुजी पुगेको छैन । सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, रिलायबल लाइफले चुक्ता पुँजी सर्वसाधारणमा आईपीओ जारी गरी पुँजी बढाउने योजनामा छन् । एशियन लाइफले भने हकप्रद सेयरमार्फत् पुँजी बढाउने तयारी गरेको छ ।

शिखर, मर्जरपछि बनेको कम्पनी सगरमाथा लुम्बिनी, मर्जरपछि बनेको सिदार्थ प्रिमियरको चुक्ता पुँजी पुगेको छ । नेशनल र दि ओरियन्टल इन्स्योरेन्सको चुक्ता पुँजी पुगेको छैन । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको समेत पुँजी पुग्न बाँकी छ । यी कम्पनीहरुले हालसम्म पुँजी वृद्धिका लागि ठोस योजना बनाएका छैनन् ।

हालसम्म २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् । हालसम्म १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन्  । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये ८ निर्जीवन बीमा कम्पनी ४ वटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । अब अन्य चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

यस्तै, जीवन बीमा कम्पनीतर्फ ९ कम्पनी चार वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन् । जसमध्ये सूर्या लाइफ र ज्योति लाइफले सूर्यज्योति लाइफको नामबाट र रिलायन्स लाइफ र सानिमा लाइफले सानिमा रिलायन्स लाइफको नाममा एकीकृत कारोबार शुरु गरेका छन् । अन्य कम्पनीको मर्जर भने प्रक्रियामै छ  ।

प्रक्रियामा रहेका सबैको मर्जर सफल भएमा जीवन र निर्जीवन बीमा कम्पनीको संख्या १४/१४ वटामा सीमित हुनेछ ।

पुँजी वृद्धिको योजनामा सामेल भएकालाई हकप्रद सेयरको सुविधा

मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमध्ये मर्जरपश्चात् पनि केही कम्पनीहरुको चुक्ता पुँजी नपुग्ने देखिन्छ । मर्ज भई एकीकृत करोबार गरेका कम्पनीहरुको पनि पुँजी पुगेको छैन ।

त्यस्ता कम्पनीहरुलाई प्राधिकरणले हकप्रद सेयर जारी गर्न पाउने सुविधा दिएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरमा गएपछि पनि पुँजी नपुग्ने बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने बताए ।

‘पुँजी वृद्धि गर्न मर्जरको बाटो रोजेका र मर्जरपछि पनि पुँजी नपुगेका कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्ने सुविधा दिइन्छ,’ पौडेलले भने,‘यस्तो सुविधा मर्जरमा गई पुँजी वृद्धि गर्ने योजना बनाएका कम्पनीहरुलाई मात्रै दिईन्छ ।’

पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरुलाई भने हकप्रद सेयर जारी गर्न नदिने उनको भनाइ छ ।

मर्जर प्रक्रियामा गएका महालक्ष्मी लाइफ र प्रभु लाइफको न्यूनतम चुक्ता पुँजी पुग्दैन । मर्जर पश्चात् सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस्तै, सानिमा रिलायन्सको पनि न्यूनतम चुक्ता पुँजी पुग्दैन । मर्जरपश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ । मर्जर प्रक्रियामा गएका प्राइम, गुराँस र यूनियन लाइफको न्यूनतम पुँजी पुग्ने छ ।

हिमालयन एभरेष्ट (हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स) को पनि बीमा प्राधिकरणले तोकेको साढे २ अर्ब रुपैयाँ पुँजी पुगेको छैन । कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

सानिमा जिआईसी (साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स) को पनि पुँजी पुगेको छैन । हाल सानिमा जीआईसी कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

मर्जरपश्चात एकीकृत कारोबार गरेका सिदार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनीको न्यूनतम चुक्ता पुँजी पुगेको छ । मर्जर प्रक्रियामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार पश्चात् तोकिए बमोजिमको न्यूनतम चुक्ता पुँजी पुग्नेछ।


बिजया बास्कोटा