पद्मा कोलोनीले साढे ५ अर्ब लगानीमा रामकोट र इटहरीमा हाउजिङ निर्माण गर्दै



फाइल तस्बिर

काठमाडौं । पद्मा कोलोनी प्रालिले साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा हाउजिङ निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौं रामकोट र सुनसरीको इटहरीमा ५ अर्ब ६८ करोड रुपैयाँ लगानीमा हाउजिङ निर्माण गर्ने भएको हो ।

ती दुई स्थानमा ५ सय युनिटको हाउजिङ निर्माण हुने कम्पनीले जनाएको छ । रामकोटमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा ३ सय युनिट र सुनसरीको इटहरीमा २ अर्ब १८ करोड रुपैयाँ लगानीमा २ सय युनिट हाउजिङ निर्माण गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नै पहिलो चरणमा सितापाइलमा ३५० रोपनी क्षेत्रफलमा १७० वटा युनिट हाउजिङ निर्माण गरिसकेको छ । त्यस्तै, दोस्रो चरणमा कुसुन्ती ललितपुरमा १९ रोपनीमा ४१ वटा युनिट, तेस्रो चरणमा रामकोट नागार्जुनमा ४५ रोपनी क्षेत्रफलमा ९१ वटा युनिट र चौथो चरणमा टौखेलमा ७० युनिटको हाउजिङ निर्माण गरिसकेको छ ।

त्यस्तै, कम्पनीले पाँचौ र छैठौं चरणमा रामकोट र इटहरीमा ५०० युनिट हाउजिङ निर्माण गर्ने तयारी गरेको हो ।

कम्पनीअनुसार पाँचौ चरणको हाउजिङ निर्माणका लागि ९० प्रतिशत जग्गाको अधिग्रहण गरिसकेको छ भने छैठौं चरणको हाउजिङ निर्माणका लागि ५० प्रतिशत जग्गाको अधिग्रहण भएको जनाएको छ ।

कम्पनीले जग्गा अधिग्रहणको कार्य सम्पन्न गरिसकेपछि सन् २०२४ देखि निर्माण कार्य अगाडि बढाउने तयारी गरेको छ । निर्माण गर्न लागिएको हाउजिङ ८० प्रतिशत बिक्री भएमा आयोजना अगाडि बढाउने कम्पनीको योजना छ । साथै, निर्माण कार्य अगाडि बढाएको दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीले हाउजिङ निर्माणका लागि ८० प्रतिशत कर्जा लिने भएको छ भने २० प्रतिशत कम्पनीबाट लगानी हुने उल्लेख छ । त्यसैगरी, कम्पनीले हाउजिङ निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ८३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९४ करोड ९२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

सरकारले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत् पूँजीगत लाभकर बढाएको छ । जसमा सरकारले निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (घरजग्गा)को स्वामित्व ५ वर्ष वा ५ वर्षभन्दा बढी भएको छ भने ५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, गैर व्यावसायिक करयोग्य सम्पत्ति घरजग्गाको स्वामित्व ५ वर्षभन्दा कम रहेको छ भने ७.५ प्रतिशतको दरले कर लाग्नेछ ।

५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्नेछ । उक्त व्यवस्थाले पनि घरजग्गा किनबेचमा उच्च प्रभाव परेको कम्पनीको भनाइ छ । साथै, सन् २०२२ मा बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावले हाउजिङको माग कम भएको उल्लेख छ ।

त्यस्तै, मौद्रिक नीतिमा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको ‘फेयर मार्केट भ्यालु’बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गरेको छ । उक्त व्यवस्थाले अहिले घरजग्गा खरिदका लागि कर्जाका अनुपात घटेकोले रियल स्टेट क्षेत्रमा असर देखिएको कम्पनीको भनाइ छ ।

पद्मा ग्रुप अफ कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेल हुन् । सन् २००३ देखि नै रियल स्टेट क्षेत्रमा काम गर्दै आएको कम्पनीले हालसम्ममा पहिलो र दोस्रो चरणको हाउजिङ निर्माण गरी बिक्री गरिसकेको छ ।


क्लिकमान्डु