बीमा कम्पनीहरुले शाखा कार्यालय खोल्दा बीमाको दायरा नरहेको स्थानलाई प्राथमिकता दिनुपर्ने



काठमाडौं । नेपाल बीमा प्राधिरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ ।

प्राधिकरणबाट इजाजत प्राप्त बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन आवश्यक रहेकाले बीमा ऐन, २०७९ अनुसार निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ ।

निर्देशिकाअनुसार प्रत्येक बीमा कम्पनीहरुले शाखा कार्यालय खोल्दा बीमाको दायरा नरहेको स्थानलाई प्राथमिकता दिनुपर्ने छ।

कम्पनीहरुले शाखा कार्यालय खोल्दा बीमाको दायरा नरहेको, बीमा कम्पनीहरुको उपस्थित न्यून रहेको स्थान र कुनै पनि बीमा कारोबार गर्ने इकाई नभएको गाउँपालिका वा नगरपालिकामा शाखा वा उप शाखा कार्यालय खोल्न प्राथमिकता दिनुपर्ने छ ।

प्राधिकरणकाअनुसार कम्पनीहरुले कृषि, बाली पशुपन्छी तथा जडीबुटी बीमा सोवा प्रदान गर्न प्राधिकरणले जिल्लागत रुपमा कार्यालय खोल्न तोकेको अवस्थामा सो जिल्लामा प्राथमिकता दिई कार्यालय खोल्नुपर्नेछ ।

कम्पनीहरुले शाखा तथा उपशाखा कार्यालयबाट हुने बीमा व्यवसाय तथा सेवा प्रवाहलाई समन्वय गर्ने गरी प्रत्येक प्रदेशमा प्रदेश कार्यालय खोल्नुपर्नेछ ।

सम्भाव्यता अध्ययन गर्नुपर्ने

प्रदेश कार्यालय वा शाखा कार्यालय वा उपशाखा कार्यालय खोल्नु अघि कम्पनीहरुले सो सम्बन्धमा स्थलगत सम्भाव्यता अध्ययन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

सम्भाव्यता अध्ययनको प्रतिवेदनमा कम्पनीहरुले कार्यालय खोल्नका लागि प्रस्तावित स्थान वित्तीय रुपले सम्भाव्य रहे नरहेको, बीमा सेवामा पहुँचको अवश्था वस्तुनिष्ठ रुपमा भए वा नभएको, प्रस्तावित स्थानमा भईरहेको आर्थिक तथा वित्तीय क्रियाकलापको स्थिति, बीमकको अवस्था र ३ वर्षभित्रमा बीमा कारोबारबाट प्रस्तावित कार्यालयको मुनाफामा सञ्चालन हुन सक्ने औचित्यातपूर्ण आधमर लगायतका विषय समेट्नुपर्नेछ ।

कमपनीहरुले यातायात व्यवस्था कार्यालय, वैदेशिक रोजगार प्रवर्धन कार्यालय, कृषि विकास कार्यालय, अन्तराष्ट्रिय विमानस्थल परिसर, भन्सार नाका, औद्योगिक क्षेत्र जस्ता क्षेत्रलाई लक्षित गरी सेवा प्रवाहको लागि एक्सटेन्सन काउन्टर खोली सञ्चालन गर्न सक्नेछन् ।

यस्तै, कम्पनीहरुले प्राधिकरणको पूर्व सहमति लिई विदेशमा आफ्नो कार्यालयको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्ने व्यवस्था निर्देशिकाले व्यवस्था गरिदिएको छ ।


क्लिकमान्डु