श्रीलंकालाई ३ अर्ब डलर ऋण दिने आईएमएफको निर्णय, अर्थतन्त्र सुधार हुँदै



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत ३ अर्ब अमेरिकी डलर कर्जा दिने भएको छ ।

सोमबार बसेको आईएमएफ बोर्ड बैठकले आगामी ४८ महिनाभित्र श्रीलंकालाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आईएमएफले स्वीकृत गरेको ईएफएफअन्तर्गत रहेको ३३ करोड ३० लाख डलर तत्कालै निकासा गर्ने निर्णय छ ।

श्रीलंकाले सेन्ट्रल बैंक अफ श्रीलंकालाई थप बलियो बनाउने गरि कानून संशोधन गर्नुको साथै चीन र अन्य विभिन्न कम्पनीसँग लिएको ऋण पुनर्संरचना गर्ने निर्णय गरेपछि आईएमएफले ईएफएफ उपलब्ध गराउने निर्णय गरेको हो ।

आईएमएफले विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग गर्ने निर्णय गरेसँगै श्रीलंकाले आगामी असारदेखि आयातमा लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै जाने भएको छ ।

गत वर्ष विदेशी मुद्राको सञ्चिति रित्तिएपछि श्रीलंका आर्थिक संकटमा परेको थियो । जसले गर्दा गत वर्ष श्रीलंकाको अर्थतन्त्र ८.७ प्रतिशतले घटेको थियो । यो वर्ष ३.५ प्रतिशतले अर्थतन्त्र ऋणात्मक हुने र आगामी वर्ष १.५ प्रतिशतले वृद्धि हुने कोषको अनुमान छ ।

गत वर्ष श्रीलंकामा महँगी ५८.२ प्रतिशतले बढेको थियो । यो वर्ष महँगी २८.५ प्रतिशतले बढ्ने र आगामी वर्ष ८.७ प्रतिशतमा झर्ने कोषको अनुमान छ ।

श्रीलंकाको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको १२८ प्रतिशत पुगेको थियो ।

पछिल्ला वर्षहरुमा श्रीलंकाले लिएको ऋणले अर्थतन्त्रको आकार र सरकारको राजस्व बढाउन भूमिका नखेलेकाले अर्थतन्त्र संकटमा परेको थियो ।

विशेषगरी श्रीलंकाले कृषि उत्पादनमा रासायनिक मलको प्रयोग प्रतिबन्ध लगाउने निर्णयपछि कृषिजन्य बस्तुको आयात ह्वात्तै बढेको थियो । यस्तै, कोरोना महामारीपछि पर्यटन सुस्त हुँदा श्रीलंकाको विदेशी मुद्राको सञ्चिति घटेको थियो ।

अर्कोतर्फ करिब १०० अर्ब अमेरिकी डलर ऋणको साँवा ब्याज तिर्नु पर्ने दायित्वले श्रीलंकाको विदेशी मुद्राको अभाव भएको थियो । आर्थिक संकटमा फसेपछि गत वर्ष श्रीलंकाको सरकारले ऋणको साँवा र ब्याज तिर्न नसक्ने घोषणा गरेको थियो ।

कर्जा पुर्नसंरचनाका साथै आईएमएफ, एशियाली विकास बैंक र विश्व बैंकको सहयोगले श्रीलंकाको विदेशी मुद्रा सञ्चितिमा पनि सुधार भइरहेको छ । यस्तै, पछिल्लो समय श्रीलंकाको पर्यटन क्षेत्र पनि चलायमान भइरहेको छ ।

एक वर्षमा पर्यटन क्षेत्रको आम्दानी ६.७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनबरीमा पर्यटन क्षेत्रबाट १५ करोड २० लाख डलर विदेशी मुद्रा आर्जन भएकोमा गत जनबरीमा १६ करोड २० लाख डलर आर्जन भएको छ ।

यस्तै, श्रीलंकाको रेमिट्यान्स आम्दानी एक वर्षको अवधीमा ८२ प्रतिशतले बढेको छ । गत वर्ष जनबरी र फेब्रुअरीमा ४६ करोड ४१ लाख डलर रेमिट्यान्स आएकोमा यो वर्ष जनबरी र फेब्रुअरीमा ८४ करोड ४९ लाख डलर रेमिट्यान्ट आएको छ ।

गत वर्ष १० दिनको पनि आयात धान्न पनि नपुग्ने अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिति हाल २.२ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्ने अवस्थामा छ ।

कोषको सहयोगले श्रीलंकाको अर्थतन्त्र स्थीर बनाउन र गरिबीको रेखामुनि रहेका व्यक्तिलाई संरक्षण गर्न सहयोगी हुने कोषले जनाएको छ ।

गत वर्ष जनवरीमा ८५ करोड ६८ लाख डलर रहेको श्रीलंकाको व्यापार घाटा यो वर्ष ४० करोड ९८ लाख डलरमा सीमित भएको छ ।

यो वर्ष २९ प्रतिशतले आयात घटेकाले श्रीलंकाले व्यापार घाटा घटेको हो ।


क्लिकमान्डु