बैंकविरोधी आन्दोलनले समस्या समाधान हुँदैन



बैंक तथा वित्तीय संस्थाहरु एक संवेदनशील संस्था हुन् । बैंकिङ व्यवस्थाबिना आज कुनै पनि विकासका काम अघि बढाउन सकिँदैन । अहिले यदाकदा बैंकिङविरोधी नारा जुलुस लगाएको सुनिन्छ । कतै कालोमोसो दल्न पनि पछि नपरेको भन्ने सुनिन्छ ।

यस्ता प्रकारका अमानवीय कार्यले कुनै उद्यमी र व्यवसायीको स्तरोन्नति हुनै सक्दैन । विभिन्न स्थानमा बैंकलाई प्रभावित पार्नेखालका गतिविधि भएको पाइन्छ । यसले कुनै पनि समस्याको समाधान गर्ने छैन । बैंक तथा वित्तीय संस्थाहरु जनताले आफ्नो भविष्यको लागि भनेर एक छाक कम गरी, लाउँलाउँ खाउँखाउँ भन्दाभन्दै आफ्ना इच्छा आकांक्षालाई मारेर जम्मा गरेको रकमबाट स्थापित एक संवेदनशील संस्था हो ।

बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्रोत भनेको निक्षेपकर्ताको बचत नै हो । त्यही बचतलाई कुशलतापूर्वक परिचालन गरी विभिन्न प्रकारका वास्तविक उद्यमीलाई कर्जा प्रवाह गरिन्छ । एक बैंकलाई सबल र सक्षम बनाउनका लागि ठूलो मेहनत पर्छ ।

बैंकले लाखौँ जनतामा ऋण परिचालन गरी त्यसबाट प्राप्त ब्याजबाट बचतकर्जा र संस्थापकहरुलाई प्रतिफल दिने कार्य गरेको हुन्छ । बचतकर्तालाई ब्याज दिएर लिएको रकमबाट कसैलाई ऋण दिएर जोखिम मोली सञ्चालन गर्ने संस्था बैंकिङ संस्था हुन् । यस्ता प्रकारका संस्थालाई बद्नाम गरी, हुलहुज्जत गरी, बैंकहरुको गरिमामाथि आँच आउने काम गर्दा बैंकिङ व्यवस्था नै धरापमा पर्ने हुन्छ । आज हामी कसैको केही लहडमा लागेर यस्तो कार्य गर्दा भोलि आउने दिनमा कानुनी झमेला र दुःख भोग्नु पर्दैन भन्न सकिन्न ।

बैंकिङ व्यवस्था डुब्ने धेरै कुरा हुन्छन् । जस्तैः बैंकिङ संस्थाभित्र सुशासनको कमी भएमा, जोखिम लिने प्रवृत्ति अत्यधिक भएमा, सुनियोजित आन्दोलन भएमा, आन्तरिक कलह र मनमुटाव भएमा, नियामकीय असन्तुलित निर्णय भएमा, कर्जा असुली या भुक्तानीमा सुस्तता आएमा, व्यावसायिक क्षेत्रमा संकट आएमा आदि ।

विभिन्न समयकालमा बाहिरी देशमा यस्तै प्रकारले बैंकहरु धराशयी भएका घटना हामीले बुझेका नै छौँ । हालै पनि अमेरिकामा ठूलो बैंक ताला लाउनुपर्ने अवस्था आयो । बैंकिङ सुशासनको कमी, अत्यधिक रुपमा जोखिम लिने प्रवृत्तिले नेपालकै परिवेशमा पनि यो समस्या आधा दशकअघि भोग्नुपरेको तितो उदाहरण छ ।

यहाँ एक बैंक डुब्यो भने लगानीकर्ता, उद्यमी, व्यवसायी, साना बचतकर्ता सबैले दुःख पाउने हो । हामीले यो अहिलेको आन्दोलनको अवस्थालाई बेलैमा रोक्न सकेनौँ भने भोलि यसले समस्या ल्याउन सक्छ । मानिसहरु बुझ्ने नभएका होइनन् तर पनि लहडमा लाग्ने एक वातावरण बनेको छ । यसले राम्रो भन्यो भनेन भन्ने कुरा नबुझी लहलहैमा हिँड्दा भीडभाड ठुलो हुने र त्यसको प्रचारप्रसार सामाजिक सञ्जालबाट छरपस्ट भएमा, मानिसहरुको ध्यान त्यसले खिच्ने भएकाले यो अवस्था झन् विकराल हुने देखिन्छ । नेपाल सरकार, नियामक निकाय एवं सम्बन्धित संस्थाहरुले समस्याको समाधान समयमै दिन नसके भोलिको दिन त्यति राम्रो र सहज नहुने पक्का छ ।

बैंकिङ क्षेत्रलाई सरकारले अत्यावश्यक क्षेत्र भनेको छ । आज २१औँ शताब्दीको वर्तमान अवस्थामा देखिएको आन्दोलन, बैंकप्रति छरिएको भ्रम, हुलहुज्जत, नाराबारी गर्नु भनेको गम्भीर अपराध हो । आफ्नै फुस्को घरको धुरीमा जुटको बोरामा मट्टितेल हालेर पुल्ठो बालेर बारुला नपोलौँ र पोल्नेलाई पनि सजक गराऔँ । नेपाल सरकार, नियामक निकाय, विभिन्न संघसंस्था र सम्बद्ध व्यक्तित्व बीच आजै, भरे नै घनीभूत छलफल गरौँ । समस्याको समाधान निकालौँ ।


क्लिकमान्डु