सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंस मच्चाउँछः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा गठबन्धनलाई रावणको संज्ञा दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन् । उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरे ।

उनले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गरे । उनले सत्ता गठबन्धनप्रति इंगित गर्दै उनले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए ।

ओलीको भनाइ जस्ताको त्यस्तै

अहिले एउटा षड्यन्त्र के हुन खोजेको छ भने संविधानको अक्षरमा अस्पष्टता होला, लेखाइमा स्पष्टता नहुनेगरी रहेको हुनसक्छ, सभामुख वा उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति मध्ये एउटा महिला हुनुपर्छ, संविधानको भावना त्यही हो । यसको अपव्याख्या गर्ने ठाउँ हुनसक्छ तर त्यसको अपव्याख्या नगरी संविधानको कार्यान्वयन गर्नुपर्छ । अहिले १० दलीय गठबन्धनका नेताहरु संविधानको त्यो मर्मलाई मिच्न, महिला उत्थानलाई रोक्न, महिलाको अधिकार खोस्न, निर्वाचन आयोग त प्रयोग गरिसके अरु संस्था पनि प्रयोग गर्न सक्छन् । संविधानको मर्मको व्याख्या यो प्रश्न वास्तवमा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने संविधानको व्याख्या सम्बन्धी प्रश्न हो यो । त्यस लेखाइको अर्थ के हो, मर्म के हो, भावना के हो ? सिंगो हाम्रो संविधानको दिशा निर्देश के हो ? तदनुसार व्याख्या गरिनुपर्ने हो, तर त्यो देखिँदैन । १० दलिय गठबन्धनका जब १० टाउको एक ठाउँ हुन्छ त्यो भयंकर विदु्रप हुन्छ । १० वटा टाउको एकै ठाउँमा रावणको थियो, १० वटा टाउको एकै ठाउँमा भएपछि त रावण हुन्छ । १० टाउके रावण, अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिए, मर्मविपरित हरण गरिए, संविधान र कानूनको । यसपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य रुपमा पर्ने संवैधानिक व्यवस्था, संविधानले विभेदकारी रुपमा चल्नुपर्छ भन्दैन , पहिलो पटक संविधान नबन्दा पुरुष दुवैजना भए ,त्यसैलाई ध्यानमा राखेर हामीले महिलाको चर्चा गरेको हो ।

कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रुपमा निर्णय गरेको छ र प्रश्तुत गरेको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरु छन् । सबै कारणको चर्चा गर्नु वाञ्छनिय हुँदैन, भत्किन्छ, बिग्रिन्छ । सम्भावनाको अन्तिम बेलासम्म खोजि गर्ने हो । जित्ने सम्भावना छ । उनीहरुभित्र अनेक प्रकारका समस्याहरु छन्, हामीभित्र कुनै प्रकारको समस्या छैन । हामी एउटा गठबन्धन, विपक्षीसँग चुनाव लडिरहेका छौँ । राष्ट्रिय राजनीति हामी एकातिर अरु एकातिर भइरहेका छौँ । यसलाई हामीले नराम्रो मान्नुपर्दैन, बहुदलीय व्यवस्थामा १० जना १० तिर जानुभन्दा १० थरी एउटा ध्रुवको रुपमा गएका छन् राम्रो छ ।

१० दलका गठबन्धनका नेताहरुको जुन खालको मानसिकता पाइरहेको छ त्यो डरलाग्दो छ । वास्तवमा यो प्रतिगामी छ, प्रतिगामी भनेको पछाडि सर्ने होइन र ? यसअघि हामीले अभ्यास गरिसकेका छौँ, एक महिला एक पुरुषको अभ्यास भइसक्यो त्यो सर्वोच्च पदमा । देशको पहिलो र दोस्रो सम्मानित पदमा एक महिला र पुरुष हुनुपर्छ । यो बिल्कुल ठिक हो । समाजमा महिला र पुरुष छन्, सर्वोच्च ठाउँमा एउटा महिला र एउटा पुरुष किन नहुने ? हामी यसमा अनुदार छैनौँ । हामीले हाम्रो आन्दोलनलाई जुन उचाई दिलाइसकेका हौँ, त्यो उचाईबाट तल खस्न दिनुहुँदैन । पछाडि फर्किन दिनु हुँदैन, जुन कुरा बिस्तारै दक्षिणपन्थी गठबन्धन जुन छ त्यसले दक्षिणपन्थताको पनि अनुदार विचार र व्यवहारतिर देशलाई धकेल्न खोजेको छ ।


क्लिकमान्डु