आफ्नै जिल्ला अध्यक्षले बैंक बन्द गर्न पत्राचार गर्दा पनि किन बोलेन महासंघ ?



काठमाडौं । बैंकको ब्याजदरको विषयलाई लिएर अराजक शैलीमा सडक आन्दोलनमा उत्रिने व्वसायीहरुको होडबाजीले सीमा नाघ्न थालेको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको सदस्य मकवानपुर उद्योग वाणिज्य महासंघले बैंक बन्द गर्न बैंकलाई नै पत्र पठायो ।

संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले संस्थाको लेटरप्याडमा सोमबार पत्र पठाउँदै मंगलबार (आज) बैंक बन्द गर्न आग्रह गरे ।

‘आर्थिक मन्दीको कारण उद्योगका उत्पादनहरुको बिक्रीमा गम्भीर धक्का लागेको छ, व्यवसायीहरुको न्यून बिक्रीको कारण आर्थिक सन्तुलन बिग्रिएको छ, उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई टेवा पुर्याउन एक अंकको ब्याजदर कायम गरी राहत दिन यहाँमार्फत् अनुरोध गर्दै फागुन ३० गते हाम्रो अनुरोधलाई सघाउन बैंक बन्द गरिदिन अुरोध गर्दछौं,’ पत्रमा लेखिएको छ ।

सरकारले अत्यावश्वक सेवा भनेर परिभाषित गरेको बैंक जस्तो संवेदनशील क्षेत्रलाई एउटा व्यवसायीले सनकका भरमा बन्द गर्न पत्र पठाउँदासमेत निजी क्षेत्रका छाता संगठनहरु भने मुकदर्शक बनेका छन् ।

आफ्ना सदस्यले बैंक बन्द गर्न पत्राचार पठाउँदो नेपाल उद्योग वाणिज्य महासंघको मुल नेतृत्वले त्यस्तो अराजक आन्दोलनमा महासंघको समर्थन नरहेको भनेर विज्ञप्तिसम्म निकालेन । न त महासंघ अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमा यस्तो हर्कतप्रति दुख व्यक्त गरे । न त यस्तो नगर्न आग्रह गर्दै महासंघले विज्ञप्ति नै निकाल्यो ।

‘शेखरजीले केही नबोल्नु र महासंघले विज्ञप्तिसमेत ननिकाल्नुको अर्थ यो अराजकतालाई महासंघले मौन समर्थन गरेको भन्ने हो,’ महासंघकै एक कार्यकारिणी सदस्यले भने, ‘शेखरजीजतिको व्यक्ति यो हदसम्मको डरपोक हुनुहुन्छ भन्ने सोचेका समेत थिएनौं ।’

त्यसो त सार्वजनिक फोरमहरुमा र व्यक्तिगत भेटघाटमा शेखर गोल्छाले व्यक्त गर्ने बिचार पूर्णरुपमा विरोधाभाष रहेको उनलाई थाहा नभएको भने होइन ।

‘व्यक्तिगत भेटमा शेखरजी ब्याजदर बढाउने राष्ट्र बैंकको नीति ठीक हो भन्नुहुन्छ तर सार्वजनिक फोरमहरुमा चर्को विरोध गर्नुहुन्छ,’ उनले भने, ‘मुल नेतृत्वको द्धैद्ध चरित्रले पनि अराजक गतिविधि गर्नेहरुको मनोवल बढेको छ ।’

बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भनेर अराजक गतिविधि नर्ग आग्रह गर्दै हिँडिरहेका छन् । तर, ढकालका कुरा कसैले पनि सुनिरहेका छैनन् । किनभने, बरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु खासगरी दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले नै यो आन्दोलन चर्काएका हुन् ।

ब्याजदर विरुद्धको व्यवसायीहरुको आन्दोलनले सीमा नाघिसक्दा पनि आफूलाई चुनावमा फाइदा हुने हिसाबकिताबमा दिनेश र अञ्जनले मलजल र गोडमेल गरिरहेका छन् ।

‘महासंघको बरिष्ठ उपाध्यक्ष बनेर निजी क्षेत्रको नेतृत्व गर्छु भन्ने आकांक्ष राख्ने व्यक्तिहरुले अहिले जे जस्तो भूमिका खेलिरहनु भएको छ, क्षणिकरुपमा उहाँहरुलाई चुनावी लाभ छ होला तर, वित्तीय क्षेत्र धारासायी बन्यो भने उहाँहरु स्वयं समेत रहनुहुन्न,’ एक व्यवसायीले भने ।

संसारभर बैंकको ब्याजदर बढेको छ । तर कहीँ पनि नेपालमा जस्तो अराजक शैलीमा आन्दोलन भएको छैन ।

नेपालमा भने सीमित स्वार्थ समूहको उक्साहटमा प्रणाली नै ध्वस्त पार्ने मनसायले बैंक विरुद्ध आन्दोलन हुँदै आएको छ ।

‘बैंकले माग र आपूर्तिका आधारमा ब्याजदर तय गर्ने हुन्,’ एक व्यवसायीले भने, ‘मै हुँ भन्ने व्यवसायीहरुले पनि यति सामान्य कुरा नबुझेको वा बुझेर पनि बुझ पचाएको देख्दा दया लाग्छ ।’

आफू अध्यक्ष भएपछि महासंघका पदाधिकारी र कार्यकारिणी सदस्य सबैको एउटै बोलि हुने जिकिर गरेका गोल्छाले प्रणाली विरुद्धको अराजक आन्दोलन नगर्न आग्रह गर्ने हिम्मत समेत गर्न सकेका छैनन् ।


क्लिकमान्डु