विदेशी लगानीकर्तालाई प्रवर्धन गर्न तत्कालै एकल विन्दु सेवा सुरु गर्ने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्ने घोषणा गरेका छन् ।

नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा आयोजना गरेको नेपाल-चाइना बिजनेस फोरम २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन पारित हुने क्रममा रहेको जानकारी गराए ।

सरकारले विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने उनको भनाइ छ । ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता छ,’ दाहालले भने, ‘चीनले हाम्रो उक्त आवश्यकता पूरा गर्न सहयोग गर्छ भन्ने विश्वास छ । हामी पनि विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिबद्ध छौं ।’

केही वर्षमा नेपाल र चीन बीच जनस्तरमा बलियो सम्बन्ध बन्दै जानु सकारात्मक भएको दाहालले बताए । ‘चीनबाट प्रतिबद्धताअनुसार लगानी आएको छैन । हाम्रो कारणले लगानी आउन समस्या भएको हो, त्यस्ता समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने ।

दुई देशबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्रीले बताए । नेपालबाट निर्यात हुने तरकारी, चिया मासु, आयुर्वेदिक औषधी जस्ता उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने गरी सुविधा दिन दाहालले आग्रह गरे । ‘त्यसले व्यापार घाटा कम गर्न महत्पूर्ण योगदान दिनेछ,’ उनले भने ।

नेपाल एक चीन नीतिमा प्रस्ट रहेको भन्दै दाहालले नेपाली भूमि हाम्रा छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘चीनले पर्यटकलाई देशबाहिर जान दिएको छ,’ उनले भने, ‘नेपाल पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न तयार छ ।’

कार्यक्रमको उद्घा टनसत्रमा परिसंघ अध्यक्ष विष्णुप्रसाद अग्रवालले नेपाल र चीनमा व्यवसायीबीच दुई देशमा रहेको व्यावसायिक सम्भावनाका विषयमा छलफल गर्न सहयोगी हुने बताए ।

‘नेपाल र चीनबीच ६७ वर्षदेखि दुईपक्षीय व्यापार भइरहेको छ, यो फोरम दुई देशबीच थप सहकार्यको सम्भावना खोज्न सफल हुने मेरो विश्वास छ,’ अग्रवालले भने, ‘नेपालको आर्थिक समृद्धिका लागि चीन र नेपालबीच सहकार्य बढ्न जरुरी छ ।’

सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले चीन नेपालको राम्रो मित्र भएको बताए । ‘६७ वर्षदेखि चीन र नेपालको दौत्य सम्बन्ध कायम छ । नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको छ,’ उनले भने, ‘त्यसले नेपालको निर्यात बढाउन सहयोग गर्नेछ । यस्तै चीनका पर्यटक पनि नेपाल भ्रमण गर्न सक्छन्, त्यसले पनि नेपालको अर्थतन्त्र विस्तार गर्न सहयोग गर्नेछ ।’

दुईपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको उनको भनाइ छ । ‘हामी लगानी र सहकार्यका नयाँ क्षेत्र पहिचान गरिरहेका छौं । स्वच्छ ऊर्जा, प्रविधि, विद्युतलगायतका क्षेत्रमा सहकार्य गर्ने हाम्रो सोच छ,’ साओहाङले भने, ‘व्यापार प्रवर्धन गर्न दुई देशका संयन्त्रले थप काम गर्नुपर्छ ।’

नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘नेपाल र चीनबीच जनस्तरमा बलियो सम्बन्ध हुनुपर्छ, त्यसका लागि दुई देशको व्यापार बढ्न जरुरी छ,’ साङले भने, ‘जलविद्युत, ट्रान्समिसन लाइनलगायतका क्षेत्रमा सहयोग गर्ने हाम्रो सोच छ । आधुनिक भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने चीनको योजना छ ।’

राजदुत साङले आगामी दिनमा चीनबाट नेपालमा धेरै पर्यटन आउने भन्दै नेपालीलाई पनि चीन भ्रमण गर्न आमन्त्रण गरे । काठमाडौंमा आयोजित फोरममा दुई देशबीच व्यापार कसरी विस्तार गर्ने र व्यावसायिक सम्भावना कसरी खोज्ने भन्ने विषयमा छलफल हुनेछ ।


क्लिकमान्डु