सिलिकन भ्याली बैंक डुबेपछि बैंकिङ क्षेत्रको विश्वास बढाउन अमेरिकी सरकार सक्रिय, सबै निक्षेप फिर्ता हुने
एजेन्सी । सिलिकन भ्याली बैंक डुबेपछि आउन सक्ने वित्तीय संकट रोक्न अमेरिकी अधिकारीहरुले आइतबार आकस्मिक कदमहरु चालेका छन् । सिलिकन भ्याली डुबेपछि बैंकिङ प्रणालीमा विश्वास बढाउन अमेरिकी अधिकारीहरुले आकस्मिक कदम चालेका हुन् ।
गत साता नाटकीय रुपमा सिलिकन भ्याली बैंक टाट पल्टेपछि अमेरिकी नियामक निकाय फेडरल रिजर्बले सोमबारदेखि असफल बैंकका सबै ग्राहकको आफ्नो निक्षेपमा पहुँच हुने र बैंकको पनि आपतकालीन कोषमा पहुँच हुने व्यवस्था गरेको छ । संकटमा बैंकहरुले सहजै सापटी लिन सक्ने व्यवस्था पनि फेडरल रिजर्बले गरेको छ ।
फेडरल रिजर्बले चालेका कदमले सिलिकन भ्यालीमा रहेका संस्था र ग्लोबल बजारलाई केही राहत दिए पनि बैंकिङ क्षेत्रमा जोखिम रहेको चिन्ता र आक्रामक रुपले ब्याजदर बढाइरहेको फेडले आगामी दिनमा के गर्छ भन्ने चासो उस्तै छ ।
‘फेडरल रिजर्ब, ट्रेजरी र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पले चालेका कदमले बैंकिङ क्षेत्रको मनोबल बढाएको छ,’ कोरपेका प्रमुख बजार रणनीतिकार कार्ल स्कामोटाले भने, ‘तर पछिल्लो घटनाक्रमले अस्थिरता निम्त्याउने जोखिम छ । फेडको कसिलो नीतिले निरन्तरता पायो भने अन्य दारार पनि आउन सक्छन् भनेर सावधानीपूर्वक लगानीकर्ताले हेरिरहेका छन् ।’
नियामकहरूले न्युयोर्कको सिग्नेचर बैंकलाई पनि निगरानीमा राखेका थिए । सिग्नेचर बैंक पनि टाट पल्टिसकेको छ । संकटबाट बच्न चालिएका कदमले वालस्ट्रिट स्टकको भविष्य फराकिलो बनाउन मद्दत गर्ने अनुमान छ ।
यद्यपि, वित्तीय क्षेत्रमा संकट फैलन सक्ने डरले प्रमुख बैंकिङ सेयर एचएसबीसी होल्डिङ्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, जापानको मित्सुबिसी यूएफजे र सिंगापुरको डिबिएसको मूल्यमा गिरावट आएको छ ।
बाइडेन प्रशासनको हस्तक्षेपले मुद्रास्फीतिलाई नियन्त्रण गर्न भन्दै ब्याजदर बढाउने फेड र अन्य प्रमुख केन्द्रीय बैंकको निर्णयले वित्तीय प्रणाली र विश्वव्यापी बजारहरुमा कसरी तनाव सिर्जना गर्यो भन्ने प्रस्ट भएको छ ।
स्टार्टअप अर्थतन्त्रका लागि मुख्य आधार रहेको सिलिकन भ्याली बैंक (एसभीबी) ले दशकौंदेखि सस्तो ब्याजमा कर्जा प्रवाह गरिरहेको थियो । एसभीबीले लिएको अद्वितीय जोखिम नै यसलाई कमजोर बनाएको हो । तर गत हप्ता बैंक समस्यामा परेको खबर सार्वजनिक भएसँगै अन्य क्षेत्रीय बैंकहरूमा पनि समान समस्या रहेको चिन्ता व्यक्त भएका छन् ।
फेडले आगामी दिनमा ब्याजदर बढाउने तयारी गरेकाले अर्थतन्त्र र वित्तीय प्रणाली थप खराब अवस्थामा पुग्ने लगानीकर्ताहरूले चेतावनी दिएका छन् ।
फेडले मार्च २१-२२ मा नीतिगत हेरफेर गर्न बैठक बोलाएको छ । गोल्डम्यान साक्सका विश्लेषकहरूले बैंकिङ क्षेत्रमा तनाव रहेकाले उक्त बैठकले ब्याजदर बढाउने निर्णय नगर्ने बताएका छन् । गोल्डम्यानले सिलिकन भ्याली बैंक डुब्नुअघि मार्चमा बस्ने फेडको बैठकले ०.२५ प्रतिशत बिन्दुले नीतिगत दर बढ्ने अपेक्षा गरेको थियो ।
‘लगानीकर्ताले आगामी दिनमा विभिन्न किसिमका जोखिमको सामना गर्न तयार हुनुपर्छ,’ टलब्याकेन क्यापिटल एड्भाइजरका प्रमुख कार्यकारी माइकल पुर्वेसले भने, ‘अन्य क्षेत्रीय बैंकमा समस्या आउन सक्ने सम्भावना अझै पनि छ ।’
‘निक्षेपकर्ता सुरक्षित‘
सन् २००८ पछिको सबैभन्दा ठूलो एसभीबीको पतनले साना व्यवसायीले आफ्ना कर्मचारीको तलब भत्ता कसरी भुक्तानी गर्छन् भन्ने चिन्ता थपिएको छ । किनभने एफडीआईसीले २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गर्छ ।
एफडीआईसीका अनुसार सन् २०२२ को अन्त्यसम्ममा एसभीबीमा रहेको १ खर्ब ७५ अर्ब अमेरिकी डलर अर्थात् ८९ प्रतिशत निक्षेपको बिमा गरिएको छैन ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन, फेड अध्यक्ष जेरोम पावेल र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनका अध्यक्ष मार्टिन ग्रुएनबर्गद्वारा आइतबार साँझ जारी संयुक्त विज्ञप्तिमा सरकारले निर्धारण गरेको बिमा सीमाभन्दा पनि बढी रकम जम्मा गरेको भए पनि सबै निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने जनाएको छ ।
एक वरिष्ठ यूएस ट्रेजरी अधिकारीले सरकारले गरेको निर्णयले निक्षेपकर्तालाई सुरक्षा दिनुको साथै बैंकिङ प्रणालीलाई भरोसा दिलाउन महत्वपूर्ण योगदान दिने जनाएका छन् । यस्तै, नियामक निकायले वित्तीय प्रणालीको स्थिरताका लागि अनुगमनलाई तीव्रता दिने बताइएको छ ।
‘कम्पनीलाई जमानत दिइएन । निक्षेपकर्तालाई सुरक्षित गरिएको छ,’ अधिकारीहरुले भनेका छन् । निक्षेप बिमा कोषले जोखिम वहन गर्ने र कोषसँग पर्याप्त रकम रहेको अधिकारीले जानकारी दिएका छन् ।
‘सखाप’
ट्रेजरी अधिकारीहरूले न्युयोर्क राज्यको नियामकले आइतबार बन्द गरेको न्युयोर्कको सिग्नेचर बैंकका निक्षेपकर्तालाई पनि करदातालाई नोक्सान नगरी पूर्ण रकम फिर्ता गरिनेछ ।
एसभीबी जस्तै सिग्नेचर पनि प्रविधि क्षेत्रमा केन्द्रित थियो । ब्याजदर बढेसँगै यसको ब्यालेन्स सिट खराब हुँदै गएको थियो । सिग्नेचरले सेप्टेम्बरसम्म कुल निक्षेपको लगभग एक चौथाइ क्रिप्टोकरेन्सी क्षेत्रबाट प्राप्त गरेको थियो । तर, डिसेम्बरमा बैंकले क्रिप्टोसँग सम्बन्धित निक्षेपहरू ८ अर्ब डलरले घटेको घोषणा गरेको थियो ।
सबै निक्षेपकर्तालाई रकम फिर्ता गर्ने नयाँ नीतिले एसभीबी र सिग्नेचर बैंकको सेयर र डिभेन्चरमा लगानीकर्तालाई भने सम्बोधन गरेको छैन । वित्तीय संस्थाले सबै निक्षेपकर्तालाई रकम फिर्ता गर्ने फेडको निर्णयले बजारको विश्वास पुन:स्थापित गर्ने अमेरिकी अधिकारीले जनाएका छन् ।
फेडले निक्षेपकर्तालाई १ वर्ष अवधिको ऋण दिन न्यु बैंक टर्म फन्डिङ प्रोग्राममार्फत बैंकलाई अतिरिक्त रकम उपलब्ध गराउने कार्यक्रम ल्याउने जनाएको छ । कोरोना महामारीका क्रममा कर्जा प्रवाह बढाउन ब्याजदर घटाउनेदेखि टर्म लोनको समयावधि बढाउनेसम्मका निर्णय भएका थिए । त्यसबखत फेडले ५० अर्ब डलरको सुविधा प्रयोग गर्न दिएको थियो ।
गत साताको बीचसम्ममा एसभीबी पतन हुनुभन्दा पहिला उपभोग बढ्ने कुनै संकेत थिएन । फेडको तथ्यांकअनुसार यो वर्षको सुरुदेखि हरेक साता भुक्तानी गर्न बाँकी रकम ४ देखि ५ अर्ब अमेरिकी डलर थियो ।