बैंक वित्तीय संस्थाका लागि राष्ट्र बैंकको नयाँ विनियमावली: बैंक दरमा थप २% ब्याज (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धि विनियमावली–२०७९ जारी गरेको छ ।

इजाजतपत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्न यो विनियमावली ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप हुने गरी प्रदान गरिनेछ । यो सुविधा लिने बैंकले ६ महिनसम्मको हुने छ । अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजतपत्रप्राप्त संस्थालाई तोकिएका शर्तहरूको अनुपालना भए÷नभए सम्बन्धमा नियमित अनुगमन गरिनेछ ।

विनियमावलीमा भएको व्यवस्था अनुसार बैंकहरुले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाको माध्यमबाट आवश्यक तरलता व्यवस्था गर्न नसकेको अवस्थामा अन्तिम ऋणदाता सुविधा लिन सकिनेछ ।

केन्द्रीय बैंकका अनुसार अन्तिम ऋणदाता सुविधा एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाई इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले अन्तिम ऋणदाता सुविधाको लागि राष्ट्र बैंक समक्ष अनुरोध गर्न सक्ने छ ।

त्यसका लागि इजाजतपत्रप्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसक्ने अवस्था भएमा वा ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आएमा आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकेमा यो सुविधा लिन सकिने छ ।

संस्थाले प्रतिवद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा, कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा पनि यो सुविधा लिन सकिने छ ।

संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भए बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा, प्राकृतिक प्रकोपको कारण इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा यो सुविधा लिन सकिने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्रप्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा, संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा पनि यो सुविधा लिन सकिने छ ।

इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले इजाजतपत्रप्राप्त संस्था पुनरुत्थान गर्न पेश गरेको कार्ययोजना तथा इजाजतपत्रप्राप्त संस्था दीर्घकालमा सहज ढंगले संचालन हुनसक्ने विषयमा राष्ट्र बैंक विश्वस्त भएमा मात्र इजाजतपत्रप्राप्त संस्था अन्तिम ऋणदाता सुविधाको लागि योग्य मानिने छ ।


क्लिकमान्डु