को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ?



काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट उम्मेदवार रहेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।

८ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसदले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८सांसदले मत दिएका थिए ।

चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ ।

को हुन् पौडेल ?

तनहुँ जिल्ला साविक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८ मा मध्यमवर्गीय किसान परिवार बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते रामचन्द्रको जन्म भएको थियो ।

हाल काठमाडौं महानगरपालिका-१६ बोहोराटारमा बसोबास गर्दै आएका पौडेलले संस्कृत साहित्यमा शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् ।

राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल १६ वर्षको उमेरमा राजनीतिमा होमिएका हुन् । कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर पौडेलले काम गरेका थिए ।

भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएका पौडेल २०१८ मा काठमाडौबाट गिरफ्तार भएका थिए र पहिलोपटक करिब एक महिना हिरासतको सजाय काटेका थिए । पटकपटक गरि पौडेलले १ दशकभन्दा बढी जेल र हिरासत जीवन विताएका छन् ।

०२३ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भएका पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचत भएका थिए ।

२०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भएका उनी संस्थापक केन्द्रीय सदस्य बने । २०४० कांग्रेसको केन्द्रीय प्रचार समिति संयोजक बनेका पौडेलले २०४४ सालमा केन्द्रीय सदस्य बनेका थिए ।

समन्वयकारी, मध्यमार्गी नेताका रुपमा परिचित पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचित भएका उनी २०५१, २०५६, २०६४, २०७० र ०७९ मा निर्वाचत हुँदै आएका छन् ।

पौडेल २०४८ सालमा पहिलोपटक मन्त्री बनेका थिए । उनी स्थानीय विकास, २०४९ मा कृषि, २०५६ मा सूचना तथा सञ्चार, २०५६ मा उपप्रधान तथा गृहमन्त्री र २०६३ मा शान्ति तथा पुन:निर्माण मन्त्री बनेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी शान्ति सचिवालय संयोजक बने । २०६५ सालमा पौडेल कांग्रेस संसदीय दलका नेता बनेका थिए ।

पौडेल २०५१ सालमा प्रतिनिधि सभाका सभामुख निर्वाचित भएका थिए । पौडेल प्रधानमन्त्रीको निर्वाचनमा १७ पटक चुनाव लडेका थिए । तर उनी निर्वाचित हुन सकेका थिएनन् ।

२०६७ मा १७ पटक चुनाव लड्दा पनि उनी प्रधानमन्त्री पदमा निर्वाचित हुन नसकेका हुन् । उक्त निर्वाचनमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए । तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका हुन् । निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले निर्वाचित भएका थिए ।

पौडेलका नेपाली कांग्रेसको संक्षिप्त इतिहाससहितका करिब एक दर्जन पुस्तक प्रकाशित छन् । पौडेलकी श्रीमती, चार छोरी र एक छोरा छन् ।


क्लिकमान्डु