रोजगारीको खोजीमा २ लाख महिला बिदेसिए, छैन रेमिट्यान्सको तथ्यांक



काठमाडौं । नेपालले औपचारिक रुपमा १११ राष्ट्रहरु वैदेशिक रोजगारीका लागि खुला गरेको छ । तर, नेपालबाट १७० भन्दा धेरै देशमा वैदेशिक रोजगारीका लागि पुगेका छन् ।

नेपालबाट हालसम्ममा ५० लाखभन्दा बढी नेपाली विदेशिएको विभिन्न अध्ययनले देखाएको छ । तर, महिला कहिलेदेखि र कति विदेशिएका छन् भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन ।

दुई दशकयता कामका लागि विदेशिने नेपाली महिलाहरुको संख्यामा निकै वृद्धि भएको देखिन्छ । आप्रवासी महिला कामदारका हकमा सरकारदेखि पारिवारिक बन्देज छ । तर, पनि आर्थिक अभावले गर्दा अवैध ढंगबाट विदेशिनेको संख्या धेरै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार हालसम्ममा २ लाख हाराहारीमा नेपाली महिला बदेसिएका छन् ।

मन्त्रालयको तथ्यांकले वार्षिक ३० हजारको हाराहारीमा महिला विदेशिने गरेको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ सम्ममा नेपालबाट संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिई १ लाख ९८ हजार २१६ जना नेपाली महिला बिदेसिएका छन् ।

नेपालबाट आर्थिक वर्ष २०७२/७३ मा ३१ हजार ९३४ जना, आव २०७३/७४ मा ३३ हजार ५२० जना, आव २०७५/७६ मा ३२ हजार १२३ जना, आव २०७६/७७ मा २८ हजार ४३३ जना, आब २०७७/७८ मा ११ हजार ४५६ जना र आव २०७८/७९ मा ४९ हजार १२८ जना बिदेसिएका छन् ।

तथ्यांक हेर्दा हरेक वर्ष महिला बिदेसिने क्रम बढ्दो छ । महिला मात्रै नभई पछिल्ला दिनमा समग्र बिदेसिनको संख्या बढ्दो छ । जसले गर्दा रेमिट्यान्स आप्रवाह हरेक वर्ष बढ्दै गएको छ ।

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण बलियो खम्बा सावित भएको छ । वार्षिक १० खर्ब हाराहारी भित्रिएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ ।

वैदेशिक रोजगारीमा जाने युवामध्ये पुरुषको तुलनामा महिलाको संख्या न्यून छ । वार्षिक ६ लाखको हाराहारीमा नेपाली बिदेसिँदा महिला ३३ हजार हाराहारीमा बिदेसिँदै आएका छन् । तर, सरकारी तथ्यांकमा बिदेसिएका महिलाबाट रेमिट्यान्सको योगदान कति छ त भन्ने हालसम्म यकिन तथ्यांक छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता कविराज उप्रेतीले वैदेशिक रोजगारीमा गएका महिलाले कति रेमिट्यान्स पठाए भन्नबारे सरकारसँग एकीकृत तथ्यांक नभएको बताए ।

नेपालबाट श्रम स्वीकृति लिएर बिदेसिने महिलाको तथ्यांक उपलब्ध भए पनि रेमिट्यान्स आप्रवाहमा मन्त्रालयले अहिलेसम्म अध्ययन गरेको छैन ।

तर, सन् २००३/०४ मा युनेस्केपले गरेको ‘नेपाली महिलाहरुको श्रम आप्रवासनः गरिबी न्यूनिकरणमा रेमिट्यान्सको प्रभाव’ विषयमा गरेको एक अध्ययनअनुसार रेमिट्यान्स आप्रवाहमा महिलाको योगदान ११ प्रतिशत रहेको उल्लेख छ ।

उक्त अध्ययनमा महिलाले पठाएको रेमिट्यान्सले समग्र गरिबी न्यूनीकरणमा महत्वपूर्ण प्रभाव पारेको उल्लेख छ ।

गरिबी न्यूनीकरण मात्रै नभएर महिलाले पठाएको रेमिट्यान्सले सामाजिक तथा महिलाको विरुद्धको हिंसा कम हुँदै गएको अध्ययनमा उल्लेख गरिएको छ ।

श्रम विज्ञ सोम लुइँटेलले महिलाले पठाएको रेमिट्यान्सको ठूलो योगदान देशमा भए पनि तथ्यांक नहुनु दुःखद् भएको बताए । ‘सरकारले रेमिट्यान्सको तथ्यांक संकलन गर्दै आएको छ । तर, पुरुषबाहेक महिलाको योगदान कति छ भन्ने विषयमा अध्ययन नै भएको देखिँदैन,’ उनले भने ।

युनेस्केपले गरेको उक्त अध्ययनबाहेक महिलाले पठाएको रेमिट्यान्सको योगदानबारे हालसम्म अध्ययन हुन सकेको छैन । अध्ययन नहुँदा महिलाले पठाएको रेमिट्यान्सको न लेखाजोखा नै छ न त तथ्यांक नै । त्यसमाथि सरकारले महिलालाई वैदेशिक रोजगारीमा कडाइ गर्दै आएको छ ।

सरकारले विभिन्न चरणमा खाडी मुलुकमा जान प्रतिबन्ध तथा फुकुवा गर्दै आएको छ । जसले गर्दा महिला सरकारी तवरबाट सहजै विदेश जान पाउँदैनन् ।

मन्त्रालयको तथ्यांकअनुसार संस्थागत तवरले वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको अनुपात ३ प्रतिशतभन्दा पनि कम छ । सरकारले महिलालाई विदेश जान कडाइ गरे पनि अवैध ढंगबाट जानेको संख्या भने उच्च छ ।

खाडी मुलुक प्रमुख गन्तव्य

मन्त्रालयका अनुसार नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक हुन् । नेपालहरु घरेलु कामदारका रुपमा बहराइन, कुबेत, लेबनान, मलेसिया, ओमन, कतार, साउदी अरब र यूएई जाने गरेका छन् । त्यसबाहेक पुरुषको तुलनामा क्रोसिया, साइप्रस, जोर्डन, माल्टा, रोमनिया र टर्कीमा जाने महिलाको संख्या बढ्दो छ ।

सन् २०२१/२२ मा ३३ हजार ६२ जना महिलाले नयाँ श्रम स्वीकृति लिएकामध्ये यूएईमा मात्रै ३९.१ प्रतिशत गएका छन् । त्यसबाहेक कतारमा १३.२ प्रतिशत, कुवेतमा ११.३ प्रतिशत, साइप्रसमा ८.६ प्रतिशत, मलेसियामा ३.८ प्रतिशत, क्रोसियामा ३.३ प्रतिशत, माल्दिभ्समा २.७ प्रतिशत, रोमनियामा २.५ प्रतिशत, जोर्डनमा २.३ प्रतिशत, बहराइनमा १.९ प्रतिशत र अन्य गरी ११.३ प्रतिशत महिलाले नयाँ श्रम स्वीकृति लिई रोजगारीमा गएका छन् ।

सन् २०२१/२२ मा १६ हजार ६६ जना महिला पुनः श्रम स्वीकृति लिई विभिन्न मुलुक पुगेका छन् । मन्त्रालयका अनुसार सन् २०२१/२२ मा ८ हजार २११ जना यूएईमा, २ हजार ७९० जना कतारमा, १ हजार ६३३ जना कुवेतमा, २०६ जना मलेसिया, साइप्रसमा ८२६ जना र ५१८ जना साउदी अरबमा पुनः श्रम स्वीकृति लिई महिला बिदेसिएका छन् ।

त्यस्तै, बहराइनमा ३६९ जना, इजरायलमा ३६९ जना, माल्दिभ्समा २६३ जना, ओमनामा २६३ जना र अन्य देश गरी १६ हजार महिला पुनः श्रम स्वीकृति लिई बिदेसिएका छन् ।

झापा र सिन्धुपाल्चोकबाट बढी महिला बिदेसिए

नेपालबाट सबैभन्दा बढी झापाबाट महिला बिदेसिने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार सन् २०२१/२२ मा नयाँ श्रम स्वीकृति लिई बसदेसिएका महिलामध्ये झापाबाट मात्रै ८.१ प्रतिशत छन् ।

झापापछि ६.१ प्रतिशत सिन्धुपाल्चोकबाट, मकवानपुरबाट ५.६ प्रतिशत, मोरङबाट ५.३ प्रतिशत, काभ्रेपलाञ्चोकबाट ५ प्रतिशत र नुवाकोटबाट ४.३ प्रतिशत छ ।

त्यसैगरी, काठमाडौंबाट ३.८ प्रतिशत, सुनसरीबाट ३.२ प्रतिशत, चितवनबाट ३.१ प्रतिशत, धादिङबाट ३.१ प्रतिशत र अन्य जिल्लाबाट ५२.४ प्रतिशत महिला बिदेसिएका छन् ।


अरिष्मा मोक्तान