उद्योगी‑व्यवसायी भन्छन्- अर्थतन्त्र चौपट भइसकेको छ, कांग्रेस भन्छ- अब हामी सम्हाल्छौं
काठमाडौं । अर्थतन्त्रको बिग्रँदो अवस्थाप्रति उद्योगी‑व्यवसायीले गहिरो चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा सहभागी भएका व्यवसायीले अर्थतन्त्रका विषयमा आशाभन्दा बढी निराशा अभिव्यक्त गरेका हुन् ।
छलफलको सुरुवाततिर नै आफ्ना कुरा राख्ने अवसर पाएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले केही सुधारिएका आर्थिक सूचक प्रस्तुत गरेका थिए । ‘हामी श्रीलंका, पाकिस्तान र बंगलादेशको तुलनामा राम्रो स्थितिमा छौं,’ उनले भने, ‘तर यसको अर्थ अर्थतन्त्र ठिक ढंगले चलिरहेको छ भन्नेचाहिँ होइन ।’
केही कुरा राम्रो हुँदाहुँदै पनि किन आर्थिक गतिविधि संकुचित भइरहेको छ ? व्यापार‑व्यवसायमा ४० प्रतिशतभन्दा बढीको संकुचन किन छ ? यस्ता प्रश्नहरुको उत्तर गम्भीर भएर खोज्नुपर्ने उनले बताए ।
‘यो कोभिडका कारणले निम्तिएको समस्या हो,’ महासंघ अध्यक्ष गोल्छाले भने, ‘सीमित स्रोतका बाबजुद राष्ट्र बैंकले १ खर्बभन्दा बढी रि‑फाइनान्सिङ गर्यो, तरलता ह्वात्तै बढ्यो र बैंकहरुले आँखा चिम्लेर जथाभावी लगानी गरे, अहिले त्यसैको प्रभाव भोगिरहेका छौं ।’
अर्थतन्त्रमा संकट देखिन थालेपछि लगातार सीसीडीबाट सीडी, चालू पुँजी निर्देशिका, आयातमा रोक र अन्य कर्जामा कडाइ गरिँदा असन्तुलनको स्थिति देखापरेको उनको भनाइ छ । ‘परिणामतः बिजनेस साइकल नै प्रभावित भयो, अर्थतन्त्र चलायमान नै हुन सकेन,’ उनले भने, ‘यसले उद्योग वाणिज्य क्षेत्रमा मात्र होइन, राष्ट्रिय समस्याको रुप लियो ।’
महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उत्पादन अभिवृद्धिदेखि रोजगारी सिर्जनासम्म योगदान पुर्याइरहेको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता औल्याए । ‘उद्योगी‑व्यवसायीले नाफा गर्नु पाप हो ?’ उनले प्रश्न गरे, ‘उद्योगीहरु किन व्यापारतिर सिफ्ट भइरहेका छन्, यसको खोजी गर्नुपर्दैन ?’
उनले बनेका कतिपय ऐन पनि कार्यान्वयनमा नआएका र कतिपय सान्दर्भिक नहुँदा उद्योगी–व्यवसायीले धेरै दुःख पाइरहेको स्मरण गराए । ‘तोकिएका सामानमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन भनेर वर्षौंअघि बनेको कालाबजारी ऐनमा लेखिएको छ,’ मुरारकाले भने, ‘तर अहिलेसम्म सामान तोकिएको छैन, तर कर्मचारले त्यही नियममा टेकेर मनपरी गरिरहेका छन् ।’
आयकर ऐनको दफा ५७ को पनि मनपरी व्याख्या भइरहेकोतर्फ उनले ध्यानाकर्षण गराए । ऐनको दफा ५७ मा कम्पनीको स्वामित्व ‘नियन्त्रणमा परिवर्तन’ सम्बन्धी व्यवस्था छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवालले अर्थतन्त्रमा आशा गर्न सकिने ठाउँ नै नरहेको बताए । ‘व्यापार व्यवसाय ४० प्रतिशतले घटेको छ,’ उनले भने, ‘करिब ९० प्रतिशत उद्योगीले लगानीको योजना पछाडि धकेलेका छन् । यो भयावह स्थिति हो ।’ उनले सहकारीको पैसा सबै जग्गा र सेयर बजारमा जाँदा ठूलो समस्या निम्तिएको तर्क गरे ।
छलफल कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेको ठोकुवा गरे । ‘प्रेडिक्टेबल इकोनोमिक पोलिसी नै नभएको देशमा लगानी बढ्दैन,’ उनले भने, ‘पार्टीहरुले आफ्नो आर्थिक नीति स्पष्ट गर्न जरुरी छ ।’
शर्माले संविधानसँग बाझिने गरी कतिपय कानुन निर्माण गरिने र कानुनमै नभएका कुरा नियमावलीमा ल्याएर दुःख दिइने गरेको दृष्टान्त पेस गरे ।
उद्योगी एवं संविधानसभा सदस्य विमल केडियाले दलको पनि कुनै समूहले यस्ता आर्थिक बहस चलाएर नहुने तर्क गरे । आर्थिक विषयमा बृहत छलफल जरुरी भएकाले सबै पार्टीमा र कम्तीमा पनि कांग्रेसले दलका तर्फबाट यस्ता अन्तक्र्रिया चलाउनुपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री केशव आचार्यले अर्थतन्त्रको उत्पादन चक्र नै बिग्रिएकाले त्यसलाई सही दिशा दिन जरुरी रहेको धारणा राखे । त्यस्तै राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशन त्रिलोचन पंगेनीले विदेशी मुद्रा आर्जनको नीति नै परिवर्तन गर्नुपर्ने बताए ।
‘रेमिट्यान्स ट्रयापबाट हामी मुक्त हुनैपर्छ,’ उनले भने, ‘त्यसका लागि विदेशी मुद्रा आर्जनको नीति नै परिवर्तन गर्नुको विकल्प हामीसामु छैन ।’ उनले राष्ट्रको नियमन क्षमता अहिले अत्यन्तै कमजोर भएको टिप्पणी गरे । ‘सेन्ट्रल बैंक रिफर्म (म्याक्रो इकोनोमिक रिफर्म) गर्न ढिला भइसकेको छ,’ पंगेनीले भने, ‘कत्ति ढिला नगरी सेन्ट्रल बैंकको सञ्चालक समितिमा पूरै फेरबदल गर्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रका चारै क्षेत्र (वित्त, मौद्रिक, बाह्य र वास्तविक) को सुधारका लागि कडा निर्णय लिनुपर्ने बेला भएको धारणा राखे । ‘राजनीतिक नेतृत्वले अर्थतन्त्रलाई लिकमा ल्याउन बोल्ड डिसिजन गर्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘सार्वजनिक खर्च कटौतीलगायतमा बोल्ड डिसिजन गर्नैपर्छ ।’ उनले सेवा क्षेत्रले विदेशी मुद्रा आर्जनको अहिलेको प्रवृत्तिलाई परिवर्तन गर्न सक्ने स्पष्ट पारे ।
कार्यक्रमको अन्त्यमा कांग्रेस महामन्त्री गगनकुमार थापाले आर्थिक क्षेत्रलाई मूल विषय बनाउन चाहेको बताए । ‘कांग्रेसले अब आर्थिक पक्षलाई मूल विषय बनाउँछ,’ उद्योगी‑व्यवसायीलाई आश्वस्त पार्दै उनले भने, ‘अब आर्थिक बहस र छलफललाई निरन्तरता दिन्छौं । अब हामी सम्हाल्छौं ।’
महामन्त्री थापाले अर्थतन्त्रलाई ज्वरो आएकाले पहिला यसलाई बढ्न दिन नहुने तर्क गरे । ‘पहिले ज्वरो निको पार्ने स्मार्ट सरकार र पछि अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने वाइज सरकार अहिलेको आवश्यकता हो भन्ने मैले बुझेको छु,’ उनले भने, ‘हामी समस्या समाधानमा लाग्छ ।’
व्यवसायीले आफ्ना धारणा राख्नुअघि नेता डा. शेखर कोइरालाले व्यवसायीको सुझाव कार्यान्वयनका लागि सरकारले दबाब दिने बताएका थिए । कार्यक्रममा आफ्ना कुरा राखेका सबै उद्योगी‑व्यवसायीले चिन्ता मात्रै जाहेर गरेका थिए ।