कृष्ण बिकको निष्कर्ष: स्वदेश नै ठिक



विराटनगर । मानिसको जीवनको अधबैंसे उमेर हो ४० वर्ष । जीवनको अत्यन्तै ऊर्जाशील करिब २० वर्ष यही उमेरभित्र पर्छ । यतिबेला बगाउने पसिनाले आफ्नो मात्र होइन, देशको समेत भविष्य निर्धारण गर्छ ।

तर दुर्भाग्य ! करिब ४० लाख नेपाली यही ऊर्जाशील उमेर विदेशी भूमि बिताउन बाध्य छन् । विदेशी भूमिमा ऊर्जाहीन बन्दै गएपछि स्वदेश फर्कनु अधिकांश नेपालीको नियति बन्दै आएको छ । करिब ३ दशकदेखि देशले व्यहोरिरहेको कटु सत्य हो यो ।

कतिपय रोजगारीका अवसर नभएर त कतिपय स्वरोजगारीका लागि सीप या दक्षता भएर पनि वातावरण नपाउँदा परिवार पाल्नका लागि मलेसिया र खाडी मुलुक पुग्न विवश छन् । काम खोज्दै भारत पस्नेहरुको सूची पनि निकै लामो छ ।

२०५२ साल फागुन २ गते तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेपछि बिदेसिनेको ताँती नै लाग्यो । मलेसिया र खाडी मुलुक जान मेसो नपाएकाहरु भारततिर भए पनि पसे ।

युद्धको त्रासले भारत पस्नेहरुमध्ये एक थिए- मोरङको पथरी शनिश्चरेका कृष्ण बिक । २०५४ सालमा गाउँका १६ युवासहित भारतको पञ्जाब पुग्दा उनी जम्मा १४ वर्षका थिए ।

माओवादीले युद्धमा लैजान्छ भन्ने गाइँगुइँ सुनेपछि उनीहरु गाउँ छाडेर भागेका थिए । तीन-चार वर्ष त्यतै बित्यो । घरेलु द्वन्द्व उत्कर्षमा पुग्दै थियो । भारतमा दु:खजिलो गरेर बस्न सहज थिएन ।

घर फर्किने सोच बनाउँदै गर्दा तत्कालीन राजा वीरेन्द्रको हत्या गरी बंश नै नास भएको समाचार सुने । त्यसपछि मनमा झन् धेरै डर पस्यो ।

तैपनि नेपाल फर्किए । तर, सुरुमा घर गएनन् । सिधै पोखरातिर हान्निए । त्यसबेला भर्खर १८ वर्ष पुग्दै थिए ।

केही वर्ष पोखरा बसे । उमेर चढ्दै थियो । कमाउने रहर बढ्दै थियो । देशमा अवसर नदेखेका उनले मलेसिया जाने सोच बनाए ।

त्यसका लागि नागरिकता र राहदानी बनाउनु थियो । ‘डराई-डराई सबै काजगात तयार गरियो,’ बिकले ती दिन सम्झिए, ‘आफ्नो घर जाँदा पनि डराउनुपर्ने, नागरिकता, राहदानी पनि बढो मुस्किलले बनाइयो ।’

कमाउने र सजिलोसँग जीवन गुजारा गर्ने रहर बोकेर २०६२ मा सालमा २२ बर्से ठिटो मलेसिया उड्यो । तर, जिन्दगी आफूले सोचेको जस्तो कहिल्यै किन हुन्थ्यो र !

मलेसिया उत्रिएकै दिनदेखि उनले चरम दु:ख व्यहोर्नुपर्‍यो । जहाजबाट झरेदेखिका ५ दिन त खान नपाएर विमानस्थलमै थुनिएर भोकै बस्नुपर्‍यो ।

‘विमानस्थल आउ-जाउ गर्ने नेपालीले दिएको पानी, दालमोड र चिउराका भरमा पाँच दिन पाँच रात बितायौं,’ लामो स्वास तान्दै उनले भने, ‘बल्ल छैटौं दिन कम्पनीको मानिस लिन आयो र बाँचियो ।’

त्यसबेला वैदेशिक रोजगारीमा ठगीको रजगज थियो । पठाउने मान्छे, कम्पनी अथवा देशमा भएका आफन्तसँग तत्काल सम्पर्क गर्ने अहिलेजस्तो सहज माध्यम थिएनन् ।

एक लाख ऋण काढेर मलेसिया पुगेका उनी त्यसबेला खङ्ग्रङ्ग भए जति बेला मासिक तलब करिब नेपाली ६ हजार रुपैयाँजति हात पर्‍यो । ‘डाइमन्ड ओभरसिज कम्पनीले मासिक तलब ३० हजार रुपैयाँ हुन्छ भनेको थियो,’ उनले भने, ‘तर कम्पनीले जम्मा ६ हजार दियो ।’

कतै केही भन्न सक्ने अवस्था रहेन । त्यो पैसाले खान-बस्ने पुग्ने थिएन । गएको ऋण पनि तिर्नु थियो । चर्को दबाबमा परेका उनी एक महिनामै साथीहरुसित कम्पनी छाडेर भागे ।

‘त्यसपछि लुकीछिपी अरु नै कम्पनीमा काम गर्न थाल्यौं,’ खुइया गर्दै कृष्णले भने, ‘हामीसँग भिसा, राहदानी केही पनि थिएन, अवैध कामदारमाथि झन् धेरै ठगी हुने रहेछ ।’ पैसा कमाउन त के त्यसरी काम लगाउने कम्पनीले झन् पारिश्रमिक शोषण गरे ।

६ वर्षपछि त्यहाँको प्रहरीले गैरकानुनी रुपमा बसेको थाहा पायो र समातेर जेल हाल्यो । एक महिना जेल बसेपछि स्वदेश फर्किने सर्तमा छोड्ने भयो । तर उनीहरुसँग हवाईजहाजको टिकट काट्ने पैसा थिएन । ‘जेलबाहिर रहेका साथीहरुसँग हवाई टिकट काट्ने पैसा सापट मागेर नेपाल आइयो,’ उनले सम्झिए ।

नेपाल त फर्किए तर जाँदाको ऋण तिर्ने पैसा नहुँदा घर जाने आँट आएन । त्यतिबेला माओवादी पनि शान्ति प्रक्रियामा आइसकेको थियो ।

उनी काठमाडौंमै बसे । केही समय गार्मेन्ट उद्योगमा काम गरे । त्यसपछि मोबाइल र घडी मर्मतको काम गरे । तर, सबै कामबाट बिहान-बेलुकाको हातमुख जोर्न पनि मुक्किल भयो ।

टर्निङ प्वाइन्ट

भनिन्छ, हरेक मानिसको सफलताका पछाडि कसै न कसैको हात हुन्छ । काठमाडौंमा कृष्ण बढो दु:खका दिन बिताइरहेका थिए । धनकुटाबाट पुराना चिनजानका रेवतकुमार राईको फोन आयो ।

धेरै सोच्दै-नसोची धनकुटा पुगे । राईले ठेकीको उत्पादन र व्यवसाय गर्न बोलाएका रहेछन् । उनका खेतमा ठेकी बनाउन राम्रो मानिने दारका रुख प्रशस्त थिए । ठेकीको माग पनि धेरै रहेको जानकारी पाए ।

बिकले उनीसँग ६-७ महिना ठेकी बनाएर बेच्ने काम गरे । त्यसपछि महालक्ष्मी नगरपालिकाका मानबहादुर कार्कीसँग उनको सम्पर्क भयो । कार्कीसँग पनि उनले १ वर्ष ठेकी बनाएर बेच्ने काम गरे ।

त्यसबीचमा ठेकीका लागि काठ पाउने ठाउँ र बिक्री गर्ने ठाउँ मात्र होइन, सीप विकास पनि राम्रोसँग भइसकेको थियो । एउटा रुख ८ हजार रुपैयाँमा किनेर ठेकी बनाएर बेच्दा फाइदा भयो । अलिकति पैसा पनि जोडजाम भइसकेको थियो ।

लगातारको मेहनत र राम्रो हस्तकला देखेर स्थानीयले धनकुटामै घरजग्गा किनेर बस्न सल्लाह दिए । ‘अनि ऋणधन गरेर यतै बसेँ,’ उनले भने, ‘विस्तारै सापटी रकम पनि तिरेँ, अहिले ऋणमुक्त छु, घरमै उद्योग पनि छ ।’

पुर्ख्यौली पेसाकै आड

ठेकी बनाउने कृष्ण बिकको पुर्ख्यौली सीप हो । तर, धेरै हण्डर र ठक्कर खाएपछि मात्र उनी त्यो सीप अंगाल्न आइपुगे । करिब २० वर्ष भौंतारिएपछि गन्तव्य फेला पारे । अहिले युवा उद्यमीको परिचय बनाएका छन् ।

उनले २ वर्षअघि पञ्चकन्या घरेलु ठेकी तोङ्बा उद्योग दर्ता गरे । जिल्लास्थित घरेलु तथा साना उद्योगमा दर्ता भएपछि महालक्ष्मी नगरपालिकाले सहयोग पनि गर्‍यो । ‘सुरुमै नगरपालिकाबाट राम्रो सहयोग र समन्वय भयो,’ उनले भने, ‘त्यसपछि लघुवित्तबाट डेढ लाख रुपैयाँ कर्जा लिएर लगानी थपेँ ।’

उद्योगमा अहिले १० लाख रुपैयाँजति लगानी भएको छ । उद्योगमा ८ जनाले रोजगारी पाएका छन् । ‘सन्तुष्ट छु, सबै खर्च कटाएर मासिक ६० हजारभन्दा बढी बचत भइरहेको छ,’ उनले भने ।

उनको उद्योगमा अहिले ठेकीबाहेक तोङ्बा, वाइन गिलास, सिन्दुर राख्ने बट्टालगायतका थुप्रै हस्तकलाका सामान बन्छन् । ती ठेकी र तोङ्बा ताप्लेजुङ, धरान, दमक, काठमाडौं, बेलबारी र वसन्तपुरका बजारमा बेच्छन् । तेह्रथुमको वसन्तपुरमा उनले पसल खोलेका छन् ।

पाँचथरको फिदिम बजारमा पनि पसल खोल्ने तयारी गरिरहेका छन् । ‘पाँचथरमा ठेकी र तोङ्बा दुवैको माग बढेको छ,’ उनले भने, ‘त्यसपछि भोजपुर र ताप्लेजुङ जाने विचार छ, त्यहाँबाट पनि बोलावट भएको छ ।’

व्यापार बढाउने चाहना

ठेकी र तोङ्बासहित हस्तकलाका सामानको माग बढ्दै गएपछि उनी उत्साहित बनेका छन् । हस्तकलाका सामान विदेशी बजारमा पनि पठाउन सके मनग्गे आम्दानी हुन्छ भन्ने उनलाई लागिरहेको छ ।

‘उत्पादन बढाउन १० लाख रुपैयाँ कर्जा लिने तयारीमा छु,’ उद्यमी कृष्णले भने, ‘त्यसपछि उत्पादन पनि बढ्छ, बजार पहुँच पनि बढ्छ ।’

विदेशमा अहिले धेरै नेपाली भएकाले उनीहरुले नै हस्तकलाका सामानको माग गर्ने उनको ठहर छ । त्यसका लागि सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबबाट प्रचारप्रसार र प्रवर्धन गर्ने उनको तयारी छ । ‘यूके, मलाया, हङकङ जहाँ धेरै नेपाली बस्छन्, त्यहाँ लक्षित गरेर प्रचार गर्छु,’ उनले भने ।

जीवनको ऊर्जाशील समय अन्यत्र भौंतारिएर खेर फालेको अहिले उनलाई एक किसिमको पछुतो पनि छ । ‘काम गर्न सके आफ्नै देशमा परिवारसँग बसेर पनि आम्दानी गर्न सकिने रहेछ,’ उनले भने, ‘विदेश गएर पसिना बगाउनुभन्दा बरु सानो उद्यम नै किन नहोस्, स्वेदशमै गर्न ठिक रहेछ ।’


क्लिकमान्डु