नयाँ प्रधानमन्त्रीलाई सीले देलान् अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी ?



एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च संगठन ‘नेशनल पिपुल्स कन्फ्रेन्स’को बैठक यो साताको अन्त्यमा सुरु हुँदै छ । यो बैठकलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले आफूलाई देशको सत्ताको सर्वशक्तिमान बनाउने संकेतको रुपमा पनि हेरिएको छ ।

चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीमा केही यस्ता परिवर्तनहरु गरेका छन्, जसकारण सबै शक्ति उनमै केन्द्रित भएको छ । अहिले पार्टीमा कुनै दिशाबाट पनि कुनै किसिमको चुनौती देखिएको छैन ।

तर, यो बैठकमा आफूलाई सर्वशक्तिमान बनाउने चरणमा चिनफिङको कदममा एउटा ठूलो फरकपन पनि देखिने भएको छ । लगभग ३ हजार प्रतिनिधि हुने यो बैठकमा नयाँ प्रधानमन्त्री बन्ने व्यक्तिको पनि घोषणा हुनेछ ।

चीनमा प्रधानमन्त्रीको जिम्मा देशको अर्थव्यवस्था सम्हाल्ने हुन्छ । अमेरिकापछि चीन विश्वकै ठूलो अर्थव्यवस्था हो । सैद्धान्तिक रुपमा चीनको सत्ता संगठनमा प्रधानमन्त्री राष्ट्रपति पछिको दोस्रो ठूलो व्यक्ति हुन्छ ।

पहिलो दिनको बैठक अहिले प्रधानमन्त्री रहेका र सेवानिवृत्त हुने ली केचियांगसँग सम्बन्धित भएर हुनेछ । तर, बैठकको अन्तिम समयमा मात्रै नयाँ प्रधानमन्त्रीको रुपमा ली चियांगलाई निश्चित गरिन्छ वा गरिँदैन भन्ने घोषणा हुनेछ ।

ली चियांग पार्टीभित्र अहिले चिनफिङभन्दा पछिका शक्तिशाली व्यक्तिका रुपमा छन् । उनलाई गत अक्टोबरमा भएको पार्टीका सदस्यहरुको बैठकबाट पार्टीको पोलिटब्युरोमा नियुक्त गरिएको थियो ।

ली केचियांग (हालका प्रधानमन्त्री) र ली चियांग एकअर्काभन्दा नितान्त फरक रहेका व्यक्तिहरु हुन् । मुख्य गरि चिनफिङप्रति वफादार हुने विषयमा यी दुवै फरक छन् ।

चिनफिङले एक दशक पहिले भ्रष्टाचारविरुद्धको ठूलो अभियान सुरु गरेका थिए । उक्त अभियानमा पार्टीभित्र रहेका चिनफिङका बिरोधी तथा प्रतिद्वन्द्वी गुटका ठूला नेताहरुको राजनीतिक यात्रालाई अन्त्य गरिएको थियो ।

गत वर्ष अक्टोबरमा भएको पार्टीको बैठकमा सात सदस्यीय पोलिटब्युरो कमिटीमा नयाँ नियुक्तिहरु गरिएको थियो । यी नयाँ नियुक्तिहरुले स्पष्ट रुपमा चीनको सबैभन्दा शक्तिशाली पदमा रहने व्यक्तिहरु चिनफिङकै विश्वास पात्रहरु मात्रै रहेको देखाएको थियो ।

यो साताको अन्त्यमा पुनः पार्टीका सदस्यहरुको बैठक हुँदैछ । यसमा सरकारको विभिन्न विभाग र मन्त्रालयका प्रमुखहरु पनि फेरिनेछ । र अहिले अनुमान गरिएअनुसार यी पदहरुमा चिनफिङकै विश्वास पात्रहरु नियुक्त हुनेछन् । तर, यसको अर्थ यी विश्वासपात्र बाहेक अन्य पार्टीका सदस्यहरु यी मन्त्रालय वा विभागहरु सम्हाल्न सक्ने छैनन् भन्ने होइन् । तर, चिनफिङ उनीहरुको सल्लाह र सुझाव मान्न तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रमुख प्रश्न अहिले सामुन्ने छ ।

कतिपयले चिनफिङको विश्वासपात्र नियुक्त गर्ने कदमले उनी आफ्नै ‘ईको च्याम्बर’मा फस्दै गएको रुपमा अर्थ्याएका छन् । तर, यो कदमले चिनफिङले आफूले जे गर्ने आकांक्षा लिएका छन्, त्यो भने जसरी पनि पूरा नै गरेर छाड्नेछन् भन्ने संकेत पनि गरेको छ ।

ली चियांग

अहिले प्रधानमन्त्री पदका लागि सार्वजनिक भइरहेको नाम ली चियांगको हो । चिनियाँ कम्युनिस्ट पार्टीमा उनको उपस्थितिलाई हेर्ने हो भने पछिल्लो समय उनी निकै सक्रियमध्येका पर्छन् । ली चियांग पार्टीको संघाई क्षेत्रका प्रमुख भइसकेका छन् ।

गत वर्ष चीनको आर्थिक राजधानी मानिने संघाईमा मानिसको जीवनलाई असहज बनाउने लकडाउन गर्ने निर्णय चियांगकै निगरानी र नेतृत्वमा भएको थियो । यो लकडाउनका कारण संघाईका मानिसहरुको जीवनयापन निकै असहज भएको थियो ।

जब चिनफिङले पार्टीको नेतृत्वमा उनलाई दोस्रो स्थान दिए, तब मानिसहरुले यो निर्णयलाई चासोका साथ हेरिरहेका छन् । संघाईका विषयमा जनताहरुको असन्तुष्टि लकडाउनको विषयमा थिएन् । तर, जुन किसिमले लकडाउनको प्रबन्धन गरिएको थियो, त्यो कारणले भने चिनियाँ नागरिकभित्र चियांगलाई लिएर असन्तुष्टि पैदा भएको छ ।

लकडाउनका बीच मानिसको घरसम्म सामान पुर्याउने ‘डेलिभरि पर्सन’सम्मलाई घरमा नै बस्न बाध्य बनाइएको थियो । लकडाउनको समयमा घरभित्रै कैद भएका करोडौं मानिसलाई न सही रुपमा राशन पुगेको थियो न औषधि नै । खाने र पिउने कुराको निकै अभाव भएको थियो । जब सरसामान सहज रुपमा घरमा पुग्न थालेको थियो, तब मानिसहरुले कुहिएको टमाटरको तस्बिर चिनियाँ सामाजिक सञ्जालमा राख्न थालेका थिए । यसबाट पनि मानिसहरु कुन रुपमा घरभित्रै कैद भएर बस्न बाध्य भएका थिए भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, शहरमा लकडाउनको अन्त्य हुनै लाग्दा मानिसहरु दिक्दार भएका थिए । जसकारण उनीहरुले घरमा बन्द भएर बस्नका लागि लगाइएका प्रतिबन्धहरु तोड्न थालेका थिए । मानिसहरु सैनिकसँग लडिरहेका थिए । सरकारले लिएको जिरो कोभिड नीतिको विरुद्धमा सडकमा प्रदर्शन भएको थियो ।

जब चिनियाँ कम्युनिस्ट पार्टीमा चियांगलाई चिनफिङपछिकै शीर्ष स्थान दिइयो, तब चिनियाँ नागरिकहरुले कोरोना महामारीमा वस्तुहरुको प्रबन्धन गर्न असफल भएका व्यक्तिलाई देश चलाउने जिम्मेवारी कसरी दिन मिल्छ भन्ने प्रश्न उठाएका छन् ।

चीनमा रहेका युरोपेली संघअन्तर्गतको चेम्बर्स अफ कर्मसका प्रमुख जोर्ग वुतके भन्छन्, ‘उनी (चियांग) बुद्धिमान र राम्रा सञ्चालक हुन् । तर, उनलाई यो पद चिनफिङप्रति वफादार भएकै कारण दिइएको छ । यदि राष्ट्रपति चिनफिङले ली चियांगलाई हाम फाल्न भनेमा उनी कति उचाईबाट भनेर सोध्ने व्यक्ति हुन् ।’

अर्कातिर, चियांगको अतितले उनलाई बेग्लै किसिमले प्रस्तुत गर्छ । पछिल्ला केही वर्षमा व्यापारीहरुका बीच उनलाई आविष्कारको रुपमा पनि हेरिएको छ, जसले पार्टीको कठोर नीतिका बीच पनि व्यापारीहरुका लागि बाटो खोज्ने प्रयास गरेका छन् ।

जोर्ग वुतकेले १९९० को दशकदेखि चियांग व्यापारमा रहेको र त्यसयता निरन्तर कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वसँग उनले कारोबार गरेको बताउँछन् । तर, व्यापारिक समूह र आम उपभोक्ताहरुले पनि शून्य कोभिड नीतिलाई लिएर भने समान महसुस गरेकोले चियांगको चरित्रमाथि प्रश्न उठेको उनी बताउँछन् ।

‘शून्य कोभिड नीतिको असरका कारण मानिसहरु अहिले पनि खर्च गर्नबाट डराइरहेका छन् । यो निकै ठूलो चिन्ताको विषय हो । उनीहरु जोखिम लिनबाट डराइरहेका छन् र धेरै सोचेर मात्रै फैसला लिइरहेका छन् । संघाईमा यो चिन्ता बढी मात्रामा छ र विदेशी लगानीको लागि यो शहर अहिले उति आकर्षक देखिएको छैन’उनले भने ।

तर, यो सबैका लागि लि चियांगमात्र जिम्मेवार भएको भन्न नमिल्ने उनी बताउँछन् । अन्य व्यापारीहरुले पनि यो सबैको जिम्मेवार लि चियांगमात्र नभएको बताउँछन् । ली चियांगलाई संघाईमा विश्वव्यापी चर्चित विद्यूतीय सवारी कम्पनी टेस्लालाई भित्राएको श्रेय जान्छ ।

अमेरिकाभन्दा बाहिर टेस्लाको पहिलो उद्योग यहिँ स्थापना गरिएको थियो । कम्पनीलाई आफ्नै भेन्चरको रुपमा संघाईमा कारखाना स्थापना गर्न अनुमति दिइएको थियो । यसका लागि चिनियाँ साझेदार कम्पनी हुनुपर्ने शर्त राखिएको थिएन । जबकी अन्य कम्पनीहरुका लागि यस्तो शर्त राखिन्छ ।

केहीले ली चियांग धेरै उतारवादी भएको पनि बताउँछन् र उनी नीतिहरुमा परिवर्तनका लागि पनि तयार भएको बताउँछन् । तर, अहिले लि चियांगलाई चिनफिङले कति अधिकार दिनेछन् भन्ने बारेमा खुलेको छैन । उनले नीतिहरुमा नै परिवर्तन गर्न सक्ने अधिकार प्राप्त गर्छन् वा गर्दैनन् त्यो पनि अहिले भन्न सक्ने अवस्था छैन । तर, यदि यस्तो भएमा पनि चियांगले यी कदमहरु चाल्न नसक्ने बताइएको छ ।

चिनफिङको विश्वासपात्र भएको र सदैव समर्थन प्राप्त गर्नुपर्ने पनि भएकाले उनले नीति नै परिवर्तन गर्ने वा अति उदारवादी हुने कदम चाल्नेमा सम्भावना कम रहेको विश्लेषकहरुले बताएका छन् ।

२०१६ मा ली चियांग पूर्वी चीनको निकै धनी प्रान्त जियांगसुमा पार्टीका सचिव नियुक्त भएका थिए । यो प्रान्त आफ्नो क्षेत्रमा भएका प्राविधिक कम्पनीहरुको लागि चर्चित छ । त्यो बेला चियांगले अलीबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा र अन्य व्यापारिक क्षेत्रका अग्रजहरुसँग बैठक गरेका थिए । चियांगले जियांगसु प्रान्तमा व्यापारको अवस्थालाई थप सुदृढ बनाउनका लागि सल्लाह मागेका थिए ।

तर, त्यो फरक समय थियो । पछिल्ला वर्षहरुमा भने चिनफिङले यस्ता कदमहरुमा दबाब सिर्जना गर्ने निर्देशन नै दिएका छन् । उनले कम्पनीहरु यति धेरै बलियो हुनु पनि खराब भएको बताउँदै दबाब सिर्जना गर्न भनेका थिए । यसकै क्रममा चीनकै शक्तिशाली कम्पनी अलिबाबाका प्रमुखलाई पनि ‘गायब’ बनाइएको कुरा सार्वजनिक भएको थियो ।

ली चियांगले विगतमा यस्ता कदमको प्रोत्साहन गरेका थिएनन् । तर, अहिले भने उनी चिनफिङकै विश्वासपात्र भएका कारणले गर्दा उनी चिनफिङकै कदमको चुपचाप समर्थन गर्नुपर्ने अवस्थामा भएको बताइन्छ ।

चिनफिङ र चियांगबीचको सम्बन्ध निकै पुरानो हो । जियांगसुमा पार्टीको सचिव हुनुभन्दा अघि चियांग झेझियांगमा थिए । त्यो बेला यो क्षेत्रका पार्टी प्रमुख चिनफिङ थिए । चियांग चिनफिङकै ‘चिफ अफ स्टाफ’ थिए । त्यो बेला यी दुवैले पार्टीका अन्य ठूला पदाधिकारीहरुलाई प्रभावित गर्नका लागि अबेरसम्म पनि काम गर्ने गरेका थिए ।

चिनफिङको यस्तो कुनै पनि पुरानो सम्बन्ध रिटायर्ड हुन लागेका चिनियाँ प्रधानमन्त्री ली केचियांगसँग छैन । ली केचियांगलाई एक प्रकारले चिनफिङकै प्रतिस्पर्धिको रुपमा मानिन्छ । भनिन्छ, उनी राष्ट्रपतिका दावेदार थिए । अहिले पनि चिनफिङको सट्टा केचियांग नै राष्ट्रपति भएका भए चीन कस्तो हुने थियो भन्ने कल्पना गरिन्छ ।

केचियांग निकै राम्रा अर्थशास्त्री हुन् । उनले चिनियाँ सांस्कृतिक क्रान्तिको ठीक पछि पेकिंग विश्वविद्यालयबाट स्नातक गरेका थिए । उनी कम्युनिस्ट युथ लीगबाट पार्टीको शीर्ष पदमा पुगेका थिए । कम्युनिस्ट युथ लिग एउटा प्रतिस्पर्धी शक्ति केन्द्रको रुपमा चीनमा रहेको छ ।

तर, चिनफिङसँग प्रतिस्पर्धीमा सर्वोच्च पद गुमाएपछि उनी प्रधानमन्त्री पदमै सीमित भएका थिए ।


क्लिकमान्डु