धेरै प्राविधिक कम्पनीले कर्मचारी घटाइरहँदा एप्पलले किन बढाइरहेको छ ?



एजेन्सी । पछिल्लो समय गुगल, फेसबुक, ट्विटर, माइक्रोसफ्टजस्ता कम्पनीहरुमा एउटा समानता देखिएको छ । त्यो समानता हो, कर्मचारीको संख्या कटौती । यी सबै कम्पनीहरुले पछिल्लो समय हजारौंको संख्यामा कर्मचारीहरुलाई निकालिरहेका छन् ।

आर्थिक मन्दी, कम्पनीको घाटालगायतका विभिन्न कारणहरुलाई आधार मान्दै प्रविधि क्षेत्रका ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई निकालिरहेका छन् ।

सन् २०२२ मा फेसबुकको मूल कम्पनी मेटा, ट्विटर, अमेजोन, माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीहरुले आफ्ना व्यापारमा कमी आएको र नोक्सान भोग्नुपर्ने भएको बताउँदै कर्मचारी घटाएका थिए ।

कोरोना महामारीको समयमा धेरै मानिसहरु घरभित्रै रहँदा प्रविधिमा धेरै भुल्ने र त्यसका लागि धेरै कर्मचारी आवश्यक भएको बताएका यी कम्पनीहरुले कोरोना महामारीपछि भने कर्मचारीहरुको संख्यालाई कम गर्दै गए ।

२०२२ मा धेरै कम्पनीले यस्तो कदम उठाए । २०२३ को सुरुवातयता फेसबुकको मूल कम्पनी मेटा, गुगल, ट्विटरजस्ता कम्पनीहरुले पुनः यहि कदम चालिरहेका छन् ।

आर्थिक मन्दीलाई प्रमुख कारण देखाउँदै यी कम्पनीहरुले कर्मचारीको संख्या कम गरेका छन् । ट्विटरले त झन् हालसालै पुनः २ सय कर्मचारीलाई निकालेको छ । यो भनेको यसअघि ट्विटरमा भएका २ हजार कर्मचारीहरुको १० प्रतिशत हो ।

विश्वका धनी अर्बपतिमध्ये एक एलन मस्कले ट्विटरको अधिग्रहण गर्नुअघि ट्विटरमा ७ हजार ५ सय कर्मचारी थिए । अहिले केवल १८ सय कर्मचारी छन् ।

यति धेरै प्राविधिक कम्पनीहरुले आफ्ना कर्मचारीहरुको संख्यामा कमी ल्याइरहँदा यो सूचीमा एउटा कम्पनीको नाम भने देखिएको छैन । उक्त कम्पनी हो एप्पल ।

अन्य प्राविधिक कम्पनीहरुले आफ्नो सञ्चालनलाई धान्न र नोक्सान कम गर्न कर्मचारी घटाउँदा एप्पलले भने कैयौं ठाउँमा थप रोजगारी सिर्जना गरिरहेको छ ।

२०२३ का लागि एप्पलले सीमित संख्यामा नयाँ कर्मचारीहरुलाई लिए पनि भएका कर्मचारीहरुलाई भने हटाएको छैन । गत वर्ष एप्पलले ठूलो संख्यामा कर्मचारी थप गरेको थियो । जबकी उक्त समय अन्य धरै प्रतिस्पर्धी प्राविधिक कम्पनीहरुले कर्मचारी कटौती गरिरेहका थिए ।

एप्पलले पछिल्लो १९ महिनामा भारतमा मात्रै १ लाखभन्दा धेरैलाई रोजगारी दिएको छ । अगस्ट २०२१ बाट भारतमा लागू भएको प्रोडक्सन लिन्क्ड इन्सेन्टिवअन्तर्गत रहेर सुरु भएको आईफोनको उत्पादन क्षेत्रमा रोजगारी सिर्जना भएको हो ।

भारतमा पछिल्लो समय एप्पल नै सबैभन्दा धेरै ‘ब्लू कोलर’ रोजगारी सिर्जना गर्ने कर्मचारी बनेको छ ।

उत्पादनको क्षेत्रमा एप्पलका कर्मचारीहरुको संख्या लाखौंमा छ । भारतमा सिर्जना भएको रोजगारी पनि त्यहि मध्ये हो । कम्पनीअन्तर्गत सञ्चालनको क्षेत्रमा पनि ६८ हजारभन्दा धेरै कम्पनीहरुले काम गरिरहेका छन् ।

२०२२ मा धेरै कम्पनीहरुले नोक्सानी भोगिरहँदा एप्पल ३ ट्रिलियन बजार पुँजी बनाउने पहिलो कम्पनी बनेको थियो । सोही वर्ष कम्पनीको सेयरमा २७ प्रतिशतको गिरावट देखिएको भए पनि यसले कम्पनीको कुल आम्दानीमा खासै फरक पारेको थिएन ।

विश्वभर आर्थिक मन्दीका कारण आईफोन, म्याकबुकलगायतका उत्पादनको बिक्रीमा कमी आएको देखिए पनि एप्पलले भने यी सबैका बाबजुद आफूलाई फाइदामा नै राख्न सफल भएको छ ।

कम्पनीले हालसम्म अन्य प्राविधिक कम्पनीहरुले जस्तो आफ्ना कर्मचारीहरुलाई निकालेको छैन । पहिले जस्तै आक्रामक रुपमा कर्मचारीलाई नियुक्ति दिन कम गरे पनि एप्पले भएका कर्मचारी र आवश्यताअनुसार नयाँ कर्मचारीहरुलाई पनि लिइरहेको छ ।
यसमा भने केही कारणहरु छन् ।

फोर्ब्स म्यागजिनको एक रिपोर्टकाअनुसार कम्पनीका सीईओ टिम कुकले वार्षिक लिने ८ करोड ४० लाख अमेरिकी डलरको पारिश्रमिक उनी आफैंले कम गरेका छन् ।

आफ्नो पारिश्रमिकमा गत वर्ष (२०२२)को तुलनामा उनले ४० प्रतिशत कम गरेर केबल ४ करोड ९० लाख अमेरिकी डलर लिने बताएका छन् ।

यसले कम्पनीलाई हुन सक्ने वा भएको सम्भावित नोक्सानलाई कम गरेको फोर्ब्सले उल्लेख गरेको छ ।जसकाकारण कम्पनीले आफ्ना कर्मचारीहरुलाई निकाल्नुपर्ने अवस्था नआएको रिपोर्टमा जनाइएको छ ।

अर्को कारण भने एप्पलले कर्मचारीलाई नियुक्ति गर्ने प्रक्रिया रहेको छ ।

फेसबुक (मेटा) वा गुगलले २०२० मा कोरोना महामारीका बीच हजारौंलाई नियुक्ति दिएका थिए । अनलाइन विज्ञापनको बजार महंगो हुँदा यी कम्पनीहरुले आफ्नो फाइदालाई पनि बढाए र त्यसलाई थप विस्तार गर्ने हेतुले हजारौंको संख्यामा कर्मचारीहरुलाई नियुक्ति दिए ।

तर, एप्पलले भने २०१६ यता एकदमै सुस्त र व्यवस्थित गतिमा कर्मचारीहरुको नियुक्ति लिइरहेको छ । सधैं नै यहि प्रक्रियालाई अनुशरण गर्ने भएकाले कम्पनीमा अहिले पनि आवश्यकता र सञ्चालनका लागि नभई नहुने कर्मचारीहरु मात्रै रहेका छन् ।


क्लिकमान्डु