‘नेप्से-५० इन्डेक्स’ कार्यविधि टुंगो लगाउँदै नेप्से, यस्तो छ कम्पनी छनौटको मापदण्ड



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ठूला तथा धेरै कारोबार गर्ने कम्पनीको छुट्टै वर्गीकरण गरी ‘नेप्से-५० इन्डेक्स’ सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि नेप्सेले ‘नेप्सेअन्तर्गत सञ्चालन हुने सूचकांकहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७९’ को मस्यौदा तयार पारेको छ ।

मस्यौदामाथि सञ्चालक समितिमा छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कृष्णबहादुर कार्कीले जानकारी दिए । अझै पनि कार्यविधिमा छलफल जारी रहेको र त्यसले पूर्णता पाएपछि नेप्सेले त्यही अनुसारको प्रणाली बनाउने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय अभ्यासको पनि अध्ययन भइरहेकाले यति नै समयमा नयाँ इन्डेक्स सञ्चालनमा आउँछ भनेर भन्न नसकिने कार्कीले बताए । ‘विश्वका अन्य देशमा यसको प्रयोग भएको छ । हाम्रोमा छैन,’ उनले भने, ‘कार्यविधिको ड्राफ्ट बनाएर छलफल गरिरहेका छौँ । यो सेयर बजारमा निकै आवश्यक छ । बजारमा अन्य औजार थप्न पनि यो जरुरी छ ।’

कार्यविधिमा इन्डेक्स गणना गर्ने विधि, इन्डेक्समा विभिन्न संस्थागत घटनालाई समायोजन गर्ने विधि, अन्य बेन्चमार्क सूचकांकको गणना विधि, कम्पनीको वर्गीकरण विधि र  इन्डेक्स गणना विधि नेप्से ब्यालेन्स्ड इन्डेक्स रहनेछन् ।

के हो नेप्से-५० ?

नेप्से-५० फ्रि फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो । यो सूचकांकमा नेप्सले दोस्रो बजारमा कारोबारमा रहेका कम्पनीमध्येबाट निश्चित मापदण्ड बनाएर छनौट गरेका प्रमुख ५० कम्पनीलाई स्थान दिन्छ ।

सबै साधारण सेयर मध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य सेयरलाई सो कम्पनीको सेयर कारोबार मूल्यले गुणन गरी आउने बजार पुँजीकरणमा आधारित रहेर यो सूचकांक गणना हुने गर्छ ।

कम्पनी छनौटको मापदण्ड

नेप्से ५० परिसूचकमा समावेश हुने कम्पनी निम्नानुसारको मापदण्डमा रहेर छनौट गरिनेछ :

कम्पनीको सूचीकृत सेयर संख्यामध्ये २५ प्रतिशत वा सोभन्दा बढी सेयर कारोबार तथा राफसाफ गर्न वा एक कारोबारपश्चात राफसाफ विनियमावलीमा तोकिएको अवधिभित्र कारोबारको राफसाफ गर्न सकिने कम्पनी छनोटको प्रारम्भिक सूचीमा पर्नेछन् ।

कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता र कारोबार दिनहरुका आधारमा मापदण्ड तय गरी कम्पनीहरुलाई पुनः वर्गीकरण गर्नुपर्ने हुन्छ ।

महिनाभर दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भएको हुनपर्ने, ६ महिनासम्म दैनिक औसत ५ हजार कित्ता वा सो भन्दा बढी कित्ताको कारोबार भएको हुनपर्नेछ ।

६ महिनाको अवधिमा दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनपर्ने, ६ महिनाको अवधिमा न्यूनतम उपलब्ध कारोबार दिनमध्ये ७५ प्रतिशतभन्दा बढी दिनमा कारोबार भएको हुनपर्नेछ ।

छनौट भएर आएका कम्पनीको सूची तयार गरी सो सूचीबाट सबै नेप्से सूचकांक गणना गर्न प्रयोग हुने सबै उपसूचकबाट सबैभन्दा बढी रकम, कारोबार कित्ता, कारोबार संख्या तथा कारोबार भएका एक-एक वटा न्यूनतम कम्पनी लिनुपर्नेछ । यो सूचकांकमा सबै क्षेत्रका कम्पनीको उपस्थिति हुनुपर्नेछ ।

सबै क्षेत्रबाट कम्पनी छनौट गरेपछि बाँकी स्थानका लागि पुनः बाँकी कम्पनीलाई माथिको सबै मापदण्डका आधारमा ठूलोबाट सानोको क्रममा मिलाएर राख्नुपर्नेछ । यसरी मिलाउँदा बाँकी रहेको स्थानमा सो क्रमबाट कम्पनीहरु लिँदै ५० वटा कम्पनी छनौट गर्नुपर्नेछ ।

कम्पनी छनौटका लागि नेप्सेमा सूचीकृत भएको अवधि न्यूनतम १० वर्ष नाघेको, चुक्ता पुँजी ३ अर्बमाथि वा बजार पुँजीकरण १५ अर्बमाथि भएको हुनुपर्ने मापदण्ड छ ।

सेयरधनीको संख्या न्यूनतम १० हजारमाथि रहेको हुनुपर्नेछ भने फ्लोट सेयर न्यूनतम ३० प्रतिशत कायम भएको हुनुपर्नेछ । प्रतिसेयर आम्दानी (ट्रेलिङ १२ महिनाको) वार्षिक १० माथि रहेको हुनुपर्नेछ ।

मूल्य-आम्दानी अनुपात (पीई) भ्यालु न्यूनतम १० देखि अधिकतम २० भित्र रहेको हुनुपर्नेछ भने प्रतिसेयर आम्दानी वृद्धि प्रतिवर्ष ५ प्रतिशतभन्दा माथि रहेको हुनुपर्नेछ ।

वृद्धिको गणना गर्दा हालको आव वा अडिट गरेको पछिल्लो आर्थिक वर्षबाट ३ वर्षभित्रको अवधि लिई वृद्धि प्रतिशत गणना गर्नुपर्नेछ ।

लाभांश वितरणको इतिहास पछिल्लो ५ वर्षयता निरन्तर रुपमा वार्षिक १० प्रतिशत वा सोभन्दा बढी लाभांश वितरण गरेको इतिहास भएको हुनुपर्नेछ ।

किताबी मूल्य र बजार मूल्यको रेसियो अधिकतम ५ गुणाभन्दा बढी नभएको हुनपर्ने छ भने पछिल्लो १८० दिनको कारोबारमा ९० प्रतिशतभन्दा बढी दिन कारोबार भएको हुनपर्नेछ ।

कसरी गरिन्छ गणना ?

५० वटा कम्पनीको कारोबार तथा राफसाफ योग्य सेयर संख्यालाई त्यस दिनको बजार मूल्यका आधारमा बजार पुँजीकरण निकालेर त्यसअनुसारको पुँजीकरणका आधारमा परिसूचक गणना गर्ने तथा बेला-बेलामा कम्पनीमा आउने विभिन्न संस्थागत घटना जस्तै: बोनस सेयर, हकप्रद सेयर तथा मर्जर एवं प्राप्तिलाई समायोजन गर्दै गणना गर्दै नेप्से ५० परिसूचक सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

सञ्चालन क्षेत्रका आधारमा इन्डेक्स रहनेछन् । जसमा बैंकिङ, विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा, होटल तथा टुरिजम, उत्पादन तथा प्रशोधन, व्यापार, म्युचुअल फन्ड, लगानी, अन्य र हाइड्रोपावर समूह रहनेछन् । सबै इन्डेक्सको गणना विधि तथा संस्थागत घटनाको समायोजन विधि नेप्से सूचकांकको गणना विधि तथा संस्थागत घटनाहरुको समायोजन विधिअनुरुप सञ्चालन गर्नुपर्नेछ । बजार पुँजीकरणको आकारका आधारमा इन्डेक्स तयार पारिनेछ ।

सूचकांक गणना गर्दा सबै सूचीकृत कम्पनीलाई तिनीहरुको चुक्ता पुँजी न्यूनतम १० करोड तथा बजार पुँजीकरण ३० करोड वा सोभन्दा तल रहेका कम्पनी छुट्याएर सो मापदण्डभन्दा माथि रहेका कम्पनीको बजार पुँजीकरणसहितको सूची बनाउनुपर्नेछ ।

बजार पुँजीकरणसहितको सूची तयार गरेपछि उक्त सूचीलाई धेरै बजार पुँजीकरण रकमका आधारमा ठूलोबाट सानोतर्फ क्रमिक रुपमा सूची बनाउनुपर्नेछ ।

उक्त सूचीबाट कम्पनीहरुलाई बजार पुँजीकरणका आधारमा वर्गीकरण गरी सूचकांक तयार गर्नुपर्नेछ । जसमा नेप्से लार्ज क्यापमा बजार पुँजीकरण २५ अर्ब वा सोभन्दा बढी रहेका कम्पनीको सूचकांक, नेप्से मिड क्यापमा बजार पुँजीकरण १० अर्ब वा सोभन्दा बढी भई अधिकतम २५ अर्बभन्दा कम बजार पुँजीकरण भएका कम्पनीहरुको सूचकांक, नेप्से स्मल क्यापमा बजार पुँजीकरण २ अर्ब वा सो भन्दा बढी भई अधिकतम १० अर्बभन्दा कम बजार पुँजीकरण भएका कम्पनीहरुको सूचकांक र नेप्से माइक्रो क्यापमा चुक्ता पुँजी १० करोडभन्दा धेरै भएको वा बजार पुँजीकरण २ अर्बभन्दा कम रहेको कम्पनीहरुको सूचकांक रहेको हुनेछ ।

मापदण्डबाट छनौट भएर आएका कम्पनीहरुको सूची तयार गरी सो सूचीबाट सबै बजार पुँजीकरणअन्तर्गत तोकिएको बजार पुँजीकरणको वर्गमा पर्ने सबै कम्पनी सो अनुसारले वर्गीकरण गरी हरेक वर्गको बजार पुँजीकरण गणना गर्नुपर्नेछ ।

हरेक वर्गमा आएका कम्पनीको कारोबार तथा राफसाफ योग्य सेयर संख्यालाई सो दिनको बजार मूल्याक आधारमा बजार पुँजीकरण निकालेर सो अनुसारको पुँजीकरणका आधारमा परिसूचक गणना गर्ने तथा बेलाबेलामा कम्पनीहरुमा आउने विभिन्न संस्थागत घटना जस्तै: बोनस सेयर, हकप्रद सेयर तथा मर्जर एवं प्राप्तिलाई समायोजन र गणना गर्दै सूचकांकहरुको सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु