बचत पत्र : जोखिममुक्त लगानी



यो देशमा सबैभन्दा सुरक्षित बैंक कुन होला ? जहाँ पैसा राख्दा वा लगानी गर्दा ग्यारेन्टी होस् ।

जम्मा गरेको पैसा फिर्ता नदिएर सहकारीबाट मानिस पीडित भएको समाचार बारम्बार सुनिन्छ । लघुवित्तका बारेमा नकारात्मक समाचार आइरहँदा कतै सहकारीका जस्तै समाचार लघुवित्तका पनि सुन्नुपर्ने दिन त आउने होइन भन्ने पनि लाग्न सक्छ ।

लघुवित्तका बारेमा आएका नकारात्मक टिकाटिप्पणी र तिनका कमी-कमजोरी उजागर गरिएका समाचारले कडा मेहनत गरेर बनाएको दुई-चार पैसा बचत गर्न मानिसलाई एकपटक सोच्न बाध्य बनाएको छ । केही वर्षअघि यस्तो समस्या फाइनान्स कम्पनी र विकास बैंकमा देखिन्थ्यो ।

सहकारी, लघुवित्त, फाइनान्स कम्पनी, विकास बैंक वा वाणिज्य बैंकका आ-आफ्नै प्रकारका जोखिम हुन्छन् । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पनि शतप्रतिशत सुरक्षित कुनै पनि वित्तीय संस्था हुँदैनन् ।

बैंक तथा वित्तीय संस्थामा राखेको ५ लाख रुपैयाँसम्मको ग्यारेन्टी निक्षेप तथा कर्जा सुरक्षण कोषले गरेको हुन्छ । यसका लागि ती संस्था यो कोषको सदस्य भएको हुनुपर्छ । निक्षेप राखेको बैंक तथा वित्तीय संस्था टाट पल्टे वा डुबेमा ५ लाखसम्म निक्षेप यो संस्थाले फिर्ता दिने ग्यारेन्टी गर्छ । तर, ५ लाखभन्दा माथिको निक्षेपको कुनै पनि ग्यारेन्टी हुँदैन ।

सहकारी डुबेमा त्यहाँ राखेको वा सहकारीको सेयरमा लगानी गरेको कत्ति पनि पैसाको ग्यारेन्टी हुँदैन । एक जना शुभेच्छुकले बुटवलबाट ‘मैले लगानी गरेको सहकारी डुब्यो, त्यसको सेयरमा गरेको लगानी के हुन्छ’ भनेर मलाई प्रश्न गर्नुभएको थियो । यस्तै कम्पनीले जारी गरेका सेयर, ऋणपत्र तथा अन्य धितोपत्रमा गरिएको लगानीको पनि फिर्ता हुने कुनै ग्यारेन्टी हुँदैन ।

लगानीका लागि अधिकतम सुरक्षित (जोखिम मुक्त) स्थान भनेको नेपाल राष्ट्र बैंक हो । जसलाई देशको केन्द्रीय बैंक, बैंकहरुको बैंक, पैसा छाप्ने बैंक तथा सरकारको बैंक पनि भनिन्छ । यसले सरकारको सल्लाहकारको काम पनि गरिरहेको हुन्छ ।

आवश्यकताअनुसार सरकारले देशको वित्तीय तथा आर्थिक अवस्थाका बारेमा नेपाल राष्ट्र बैंकबाट सल्लाह सुझाव लिइरहेको हुन्छ । तर, यो बैंकमा सर्वसाधारणले बचत वा मुद्धति कुनै पनि प्रकारका खाता खोलेर पैसा जम्मा गर्न भने सक्दैनन् ।

यद्यपि यो बैंकले जारी गरेका धितोपत्रमा भने सर्वसाधारणले मज्जाले लगानी गर्न सक्छन् । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचत पत्र, वैदेशिक रोजगार बचत पत्र जस्ता ऋणसँग सम्बन्धित धितोपत्र जारी गरेर सर्वसाधारणबाट पैसा संकलन गर्छ ।

राष्ट्र बैंकले साधारण सेयर वा अग्राधिकार सेयर जस्ता धितोपत्र कहिले पनि जारी गर्दैन । यसले ऋणसँग सम्बन्धित धितोपत्रचाहिँ जारी गर्छ । ऋ सँग सम्बन्धित धितोपत्र भनेको ब्याज तिर्ने गरी सर्वसाधारण तथा वित्तीय संस्थाबाट निश्चित समयका लागि ऋण लिने हो ।

धेरैको जिज्ञासा हुन सक्छ, कुनै नाफामूलक व्यवसाय वा लगानी नै नगर्ने नेपाल राष्ट्र बैंकले किन विभिन्न प्रकारका ऋण धितोपत्र (डेब्ट सेक्युरिटिज) जारी गरेर पैसा उठाउँछ ?

राष्ट्र बैंकले दुई उद्देश्यले सर्वसाधारणबाट ऋण लिन्छ । राष्ट्र बैंक नेपाल सरकारको पनि बैंक भएकाले सरकारलाई आवश्यक रकम जुटाउन ऋण उठाइदिने काम पनि राष्ट्र बैंक गर्छ ।

उदाहरणका लागि सरकारले हरेक वर्ष बजेट बनाउँछ । बजेटमा सरकारले गर्ने आम्दा भन्दा खर्च बढी हुन सक्छ । खर्च गर्न अपुग रकम जुटाउने एउटा तरिका भनेको सर्वसाधारणबाट ऋण लिनु हो । सरकारले लिने यसप्रकारको ऋणलाई आन्तरिक ऋण पनि भनिन्छ । सरकारका लागि यो ऋण उठाइदिने काम नेपाल राष्ट्र बैंकले गर्छ । यही ऋण संकलन गर्न राष्ट्र बैंकले ऋणसँग सम्बन्धित विभिन्न प्रकारका धितोपत्र जारी गर्छ ।

यस्तै नेपाल राष्ट्र बैंकको अर्को काम भनेको बजारमा पैसाको सन्तुलन कायम गर्नु हो । बजार भन्नाले नेपालभर (व्यक्ति, पसल, बैंक तथा वित्तीय संस्था आदिसँग हुने पैसा)लाई जनाउँछ ।

बजारमा पैसा बढी भए वा कम भएको विश्लेषण गरी सोही अनुसारका धितोपत्र जारी गरेर पैसाको सन्तुलन मिलाउने काम गरिन्छ । बजारमा पैसा धेरै भयो भन्ने लागेमा राष्ट्र बैंकले पैसा आफूतिर तान्छ र गोदाममा राख्छ ।

त्यसका लागि ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र जस्ता धितोपत्र जारी गर्छ । यसलाई खुला बजार संचालन (ओपन मार्केट अपरेसन) पनि भनिन्छ । यी धितोपत्रका लागि सर्वसाधारण तथा संस्थाले आवेदन दिन्छन् । त्यसपछि पैसा राष्ट्र बैंकमा जान्छ ।

उदाहरणका लागि राष्ट्र बैंकले गर्ने यो काम कम्पनीले सेयर जारी गरेर सर्वसाधारणसँग भएको पैसा आफूतर्फ तानेजस्तै हो। बजारबाट पैसा राष्ट्र बैंक लैजानुलाई बोलिचालीको भाषामा बजारबाट पैसा तान्नु पनि भनिन्छ ।

पैसा लामो समयका लागि तान्ने कि छोटो समयका लागि भन्ने कुराले अल्पकालीन वा दीर्घकालीन धितोपत्र जारी गर्ने भन्ने कुराले निर्धारण गर्छ । छोटो समयका लागि राष्ट्र बैंकले ट्रेजरी बिल्स जस्ता धितोपत्रको प्रयोग गर्छ भने दीर्घकालका लागि विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र जस्ता ऋणपत्रको प्रयोग गर्छ ।

यस्तै लामो समयका लागि बजारबाट पैसा तान्न अहिले राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र जारी गरेको छ । यसलाई सरकारको तर्फबाट जारी गरेको पनि भनिएको छ । यो बचत पत्रमा वैदेशिक रोजगारीमा जाने र तिनका परिवारले मात्र आवेदन दिन सक्छ्न

यसको बिक्री फागुन १४ बाट खुला भइसकेको छ । यो बचत पत्रको ब्याज १२.५ प्रतिशत तोकिएको छ भने अवधि ५ वर्ष छ । यसको अर्थ राष्ट्र बैंकले ऋणपत्रमा वार्षिक १२.५ प्रतिशत ब्याज दिन्छ र ५ वर्षपछि साँवा फिर्ता गर्छ । ब्याज हरेक ६ महिनामा दिने पनि सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले जारी गरेको यो ऋणपत्रको सबैभन्दा चाखलाग्दो विशेषता भनेको यसको ब्याजदर हो । सामान्यतः सरकारी ऋणपत्रको ब्याजदर कम्पनीले जारी गरेका ऋणपत्र (संस्थागत ऋणपत्र) को ब्याजदरभन्दा बढी हुन्छ । यसो हुनुको प्रमुख कारण जोखिम हो ।

कम्पनी कुनै पनि बेला डुब्न सक्ने वा समयमा साँवा र ब्याज तिर्न सक्ने सम्भावना कम हुने भएकाले त्यहाँ जोखिम बढी हुन्छ र संस्थागत ऋणपत्रको ब्याज बढी हुने अपेक्षा गरिन्छ । तर, यहाँ संस्थागतभन्दा सरकारी ऋणपत्रको ब्याज बढी छ । यो अवस्थालाई कम जोखिममा बढी प्रतिफल पनि भनिन्छ ।

केही समयअघि ग्लोबल आईएमई बैंकले ११.२५ प्रतिशत ब्याज दिनेगरी ५ वर्ष अवधि भएको ऋणपत्र जारी गर्‍यो । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १०.३ प्रतिशत ब्याज दिने गरी ५ वर्ष अवधि भएकै ऋणपत्र जारी गरेको थियो ।

कम्पनीका यी ऋणपत्रको विशेषता चाहिँ बढी जोखिममा कम प्रतिफलको भयो । यसैले पनि वैदेशिक रोजगारीमा जानेहरुका लागि यो बचत पत्र एउटा कम जोखिममा बढी प्रतिफल लिने लगानीको राम्रो अवसर हो ।

यो बचत पत्रको ब्याजसँग बैंक तथा वित्तीय संस्थाले दिँदै आएको मुद्दती निक्षेपको ब्याजको पनि तुलना गर्न सकिन्छ । अहिले वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने बार्षिक ब्याजदर ११ प्रतिशत हाराहारी छ ।

यसअघि अधिकतम ब्याज हुँदा पनि मुद्धति निक्षेपको वार्षिक ब्याज १२.५ प्रतिशतभन्दा कम थियो । त्यसैले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्दाभन्दा पनि कम जोखिममा यो बचत पत्रमा बढी ब्याज प्राप्त भइरहेको छ । संस्थागत ऋणपत्रको जोखिमभन्दा बैंकको मुद्दती निक्षेपको जोखिम कम हुन्छ तर अझै पनि सरकारी ऋणपत्रको जोखिम मुद्दतीको भन्दा कम हुन्छ ।

यो ऋणपत्रको अर्को फाइदा मुद्दती निक्षेप ऋणपत्रमा भन्दा बढी सकारात्मक वास्तविक प्रतिफल प्राप्त हुन्छ । हामीले कमाउने प्रतिफल (ब्याज) मुद्रास्फीति दरभन्दा बढी हुन्छ भने उक्त बढी प्रतिशतलाई सकारात्मक वास्तविक प्रतिफल भनिन्छ ।

उदाहरणका लागि मुद्रास्फीति ८ प्रतिशत छ र ब्याज १० प्रतिशत छ भने मुद्रास्फीति ८ प्रतिशतभन्दा बढी २ (१० माइनस ८ ) प्रतिशत ब्याजलाई सकारात्मक वास्तविक प्रतिफल भनिन्छ । ब्याज ७ प्रतिशत हुने हो भने मुद्रास्फीतिभन्दा हाम्रो प्रतिफल १ प्रतिशत कम हुन जान्छ । यो १ प्रतिशतलाई ऋणात्मक वास्तविक प्रतिफल भनिन्छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति दर ७.२६ प्रतिशत छ । यो मुद्रास्फीति दरभन्दा जारी बचत पत्रको ब्याजदर ५.२४ प्रतिशत बढी छ । यसको अर्थ सकारात्मक वास्तविक प्रतिफल ५.२४ प्रतिशत हुन्छ । हामीले गरेको आम्दानीबाट खर्च कटाएर केही बचाउने हो भने मुद्रास्फीति दरभन्दा आम्दानीको वृद्धिदर बढी हुनुपर्छ वा वास्तविक प्रतिफल सकारात्मक हुनुपर्छ ।

यो ऋणपत्रको एउटा उद्देश्य देशमा वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने पनि हो । अर्को वैदेशिक रोजगारीमा गएकाहरुको आम्दानी उपभोगमा मात्र खर्च नभई लगानी तथा बचतमा पनि जाओस् भन्ने हो ।

यस्तै उद्देश्य राखेर केही समय अघिदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई कम्पनीले जारी गरेको प्राथमिक सेयरको १० प्रतिशत छुट्याउन थालिएको छ । यसमा वैदेशिक रोजगारीमा गएकाहरुले सीडीएस कम्पनीको ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिन सक्छन् । त्यसका लागि अलग्गै रेमिट्यान्स खाता र खातामा ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ रेमिट्यान्स पठाएको हुनैपर्ने भन्ने छ ।

साधारण सेयरमा ‘मेरो सेयर’बाट आवेदन दिएजस्तो सजिलो प्रक्रिया राष्ट्र बैंकले जारी गरेको बचत पत्रमा छैन । योसहित राष्ट्र बैंकले जारी गरेका अन्य धितोपत्रमा आवेदन दिन राष्ट्र बैंकको वेबसाइट एनआरबी डट ओआरजी डट एनपीको मनिटरी म्यानेजमेन्टमा जानुपर्ने हुन्छ ।

उस्तै उदेश्य भएका नेपाल सरकारका दुई वटा योजनालाई प्रभावकारी बनाउन एकद्वार नीति ल्याइनुपर्छ, जसका लागि वैदेशिक रोजगार बचत पत्र पनि ‘मेरो सेयर’बाट आवेदन दिन सकियोस् । यसो गरिए यी बचत पत्रमा बढीभन्दा बढीको सहभागिता भई सरकारको लक्ष्य पूरा हुनसक्छ । यसका लागि सीडीएस कम्पनीले पहल गर्नुपर्ने हो तर यसले अहिलेसम्म गरेको देखिँदैन ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्स गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताब लेखेका छन् ।)


रविन्द्र भट्टराई