नेपालमा फाइभजी सञ्चालनमा चुनौती: तत्काल लगानी गरे बालुवामा पानी हालेसरह



काठमाडौं । नेपाल टेलिकमले आन्तरिकरुपमा फाइभजीको परीक्षण सुरु गरेको छ । विश्वका विभिन्न देशले तीब्ररुपमा फाइभजी सञ्चालनमा ल्याइसकेको अवस्थामा नेपालमा पनि फाइभजीको परीक्षण सुरु गरिएको हो । १९औं वाषिर्कोत्सवको अवसरमा नेपाल टेलिकमले माघ २२ गतेबाट आन्तरिक रुपमा फाइभजी सेवाको परीक्षण सुभारम्भ गरेको हो ।

परीक्षण सुरु गरिए पनि तीब्र गतिले कार्य अगाडि बढ्न भने सकेको छैन । फाइभजीले अधिकांश कार्य गर्न सहज र छिटो हुने भए पनि भौगलिक अवस्था र क्षमताको आधारमा मात्रै नेपालमा फाइभजीको कार्य अगाडि बढाउनुपर्नेमा बहस भइरहेको छ ।

सन् २०१८ देखि सञ्चालनमा आएको फाइभजीको विश्वभर सन् २०२२ सम्ममा १ अर्ब सब्स्क्राबर छन् । सन् २०२८ सम्ममा फाइभजीको सब्स्क्राइभर ५ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।

विश्वमा ८ अर्ब जनसंख्यामध्ये ६ अर्ब ८० करोड मोबाइल सस्क्राइबर छन् । जसमा फाइभजी सञ्चालनमा आएसँगै तीब्र गतिमा सब्स्क्राइबर बढेको विभिन्न अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार टुजी, थ्रीजी र फोरजीको तुलनामा फाइभजीको सब्स्क्राइबर तीब्र गतिले बढेको छ । तर, दक्षिण एसियामा यसको विकास अन्य मुलुकमा जस्तो हुन सकेको छैन ।

भारतले फाइभजी सञ्चालनमा ल्याइसकेको अवस्थामा नेपालमा पनि परीक्षण सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै बबरमल र सुन्धारबाट फाइभजीको परीक्षण कार्य अगाडि बढाएको छ ।

विश्वभर अहिले १५६ वटा देशमा ५१९ अपरेटरहरुले फाइजी क्षेत्रमा कार्य अगाडि बढाएका छन् । त्यसमध्ये ९५ देशमा २४५ अपरेटरहरुले कम्तिमा एउटा थ्रीजीपीपी–अनुरुप फाइभजी सेवा सुरु वा सफ्ट लन्च गरेका छन् । साथै, ५६ देशमा १०४ अपरेटरहरुले फाइभजी लन्च गरी थ्रीजीपीपी–अनुरुप फाइभजी फिक्स्ड वायरलेस पहुँच विस्तार गरेका छन् ।

नेपालमा फाइभजीको परीक्षण कार्य अगाडि बढाए पनि प्रभावकारी ढङ्गबाट बढ्न सकेको छैन । नेपालमा फोरजी नै गुणस्तर र प्रभावकारी ढङ्गबाट सञ्चालन हुन नसकेको अवस्थामा फाइभजीमा प्रवेश गर्न निकै चुनौती रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा फाइभजी सञ्चालनमा निकै चुनौतीपूर्ण रहेको बताए । प्राधिकरणले अहिले निःशुल्करुपमा फाइभजी परीक्षण सुरु गरेको छ ।

फाइभजीको परीक्षण पनि फोरजीको जस्तै हुन नहुने उनले बताए । ‘प्राधिकरणले आम उपभोक्तालाई इन्टरनेट तथा कुराकानी गर्न मात्रै नभएर फाइभजी कुन–कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा परीक्षण गरिरहेका छौं,’ उनले भने । फाइभजीमा राज्यको ठूलो लगानी हुन्छ । उक्त लगानीबाट प्रतिफल के पाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको उनले बताए ।

प्राधिकरणले अपरेटरहरुलाई सुक्ष्म तरिकाले अनुगमन गर्ने बताएका छन् । जसमा फाइभजी जडानका लागि प्रतिस्पर्धामार्फत् उपयुक्त अपरेटरबाट सेवा प्रदान गर्ने जनाएको छ । फाइभजीले विश्वका विभिन्न कुनामा बसेर नेपालमा काम गर्न सक्ने अवस्था सिर्जना हुनेछ । तर, त्यसका लागि नेपालको उद्योगलगायत अन्य क्षेत्र कति तयार छन् त ? यो विषयमा अध्ययन गरिरहेको खनालले बताए ।

सञ्चार विज्ञहरुले पनि नेपालमा फाइभजी सञ्चालनमा ल्याउन निकै चुनौती रहेको बताएका छन् । विज्ञहरु फोरजीको सेवा देशभर दिन नसकेको अवस्थामा फाइभजी सञ्चालनमा ल्याउन हतार गर्न नहुने बताउँछन् ।

सञ्चारविज्ञ वेद काफ्लेले फाइभजीको प्रयोगले विभिन्न क्षेत्रमा सहज र छिटो तरिकाबाट काम गर्न सक्ने वातावरण सिर्जना हुने बताउँछन् । तर, फाइभजी सञ्चालनको लागि लगानी धेरै हुने भएको निकै चुनौती रहेको उनको भनाइ छ ।

फाइभजी सञ्चालनमा गुणस्तरीय आईसीटीको आवश्यक पर्छ । तर, नेपालमा गुणस्तरीय आईसीटीसम्बन्धी अनुसन्धान र विकास हुन सकेको छैन । लगानीको अभाव र स्वदेशमै ज्ञान उत्पादन र साझेदारमा शैक्षिक तथा प्राविधिक अभाव भएकाले चुनौती रहेको उनी बताउँछन् ।

‘विकसित राष्ट्रहरुले पहिले नै विभिन्न नेटवर्किङ प्रविधि र नयाँ प्रविधि सञ्चालन गरिसकेका छन् । तर, नेपालमा विशेषज्ञतासँगै अनुभव र ज्ञानको कमी छ,’ काफ्लेले भने ।

सरकारले फाइभजी सञ्चालनको परीक्षण गरिरहँदा सञ्चार विज्ञहरुले नेपालका तत्कालका लागि फाइभजीको कार्य अगाडि बढाउन नहुने जिकिर गरेका हुन् ।

सञ्चारविज्ञ आनन्दराज खनालले नेपालमा फाइजी सञ्चालनमा ल्याउने कार्य तत्कालका लागि स्थगित गर्नुपर्ने बताए । फाइभजी सञ्चालनका लागि ठूलो लगानीको आवश्यक पर्ने र सरकारले तत्काल लाभ लिन नसक्ने भएकाले आगामी ४, ५ वर्षमा मात्रै सम्भव रहेको उनी बताउँछन् ।

‘फाइभजी सञ्चालनका लागि कति लगानी गर्नुपर्छ ? कसरी लगानी उठाउने ? भन्ने विषयमा कसैले अध्ययन गरेको छैन,’ खनालले भने, ‘तर, अन्य देशमा सञ्चालनमा ल्यायो भन्दैमा नेपालमा कहिले ल्याउने भन्नेमा मात्रै ध्यान दिएका छन् ।’

नेपालले फाइभजीमा ठूलो लगानी गरेर ५ वर्षमा पनि लाभ लिन नसक्ने उनको दाबी छ । त्यसैले, फाइभजी सार्वजनिक गर्न अझै ४, ५ वर्ष कुर्नुपर्ने उनको तर्क छ । फाइभजी सञ्चालनको लागि तत्काल सम्भावना नरहेकाले सरकारले तत्काल लगानी गरे बालुवामा पानी हालेजस्तै हुने खनालको तर्क छ ।

भारतको उदाहरण दिँदै उनले नेपालले लगातअनुसार फाइभजीबाट लाभ लिन नसक्ने बताए ।

भारतले सन् २०२० देखि २०२५ सम्ममा देशभर फाइभजी जडान गर्न ७५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेको छ । नेपालमा पनि फाइभजी जडान गर्न ठूलो रकमको आवश्यक पर्ने भएकाले अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए ।

फाइभजीमा प्रवेश गर्नुअघि फोरजीको अवस्था बुझ्न जरुरी छः सञ्चारमन्त्री

सञ्चार तथा स‍ूचना प्रविधिमन्त्री रेखा शर्माले फाइभजीमा प्रवेश गर्नुअघि फोरजीको अवस्था बुझ्न जरुरी रहेको बताएकी छन् । मन्त्री शर्माले नेपालमा फोरजी नै गुणस्तरीय तरिकाले सञ्चालन गर्न नसकेको अवस्थामा फाइभजी सञ्चालनमा ल्याउनु कतिको उचित हो भन्ने प्रश्न गरिन् ।

फाइभजी सञ्चालनमा नल्याउने भन्ने नभएको भन्दै मन्त्री शर्माले नेपालको भौगलिक अवस्था, जनशक्तिको क्षमतालगायत विभिन्न क्षेत्रको अध्ययन गरी अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

फाइभजी आवश्यक र नयाँ प्रविधि भएको र यसको विकासले कृषि, उद्योगलगायत अन्य विभिन्न क्षेत्रमा सहज हुने भएकाले फाइभजीको प्रयोगले देशलाई कति लाभ हुन्छ ? सोही आधारमा मात्रै लगानी गर्नुपर्ने उनको भनाइ छ ।

‘फाइभजीले अर्थतन्त्रमा कसरी टेवा पुर्‍याउँछ । र कति लाभ लिन सकिन्छ भन्ने विषयमा सुरुमा अध्ययन गर्न जरुरी छ,’ उनले भनिन्, ‘सरकारले लगानी गर्ने तर लाभ लिन सक्दैन भने त्यस्तो क्षेत्रमा लगानी गरेर फाइदा छैन ।’

त्यस्तै, उनले सञ्चालनमा रहेको प्रविधिको गुणस्तरमा ध्यान नदिने तर नयाँ प्रविधिमा जानका लागि हतार गर्दा लाभभन्दा विनाश धेरै हुने जिकिर गरिन् ।


अरिष्मा मोक्तान