सेयर बजारमा यसरी गर्नुहोस् योजनाबद्ध लगानी



सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)लाई व्यवस्थित वा योजनाबद्ध लगानी पनि भनिन्छ । म्युचुअल फन्डले एसआईपी अवधारणा भित्र्याएसँगै विशेष गरी सेयर बजारका लगानीकर्ताबीच यसको चर्चा निकै चलेको देखिन्छ । धेरै इच्छुक लगानीकर्ताले मेरो म्यासेन्जर बक्समा पनि यसबारे जिज्ञासा राख्नुभएको छ ।

यो नियमित लगानीको सामान्य तरिका हो, जुन नेपालका बैंक, लघुवित्त र सहकारीमा गरिने बचतमा लामो समयदेखि प्रयोग भइरहेको छ । सेयर बजारमा गरिने लगानीका सन्दर्भमा अन्तर्राष्ट्रिय बजारमा एसआईपी नयाँ होइन ।

सर्वप्रथम सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान के हो ? भन्ने बारेमा बुझ्न आवश्यक छ । त्यसपछि यसका फाइदा र आवश्यकताबारे बुझ्न सकिन्छ ।

मानिसका वित्तीय जीवनमा आम्दानी, बचत, लगानी र लक्ष्य चारवटा महत्वपूर्ण कुरा हुन्छन् । हामीले गरेको आम्दानीबाट बचत गरेर त्यसलाई निश्चित वित्तीय उद्देश्य पूरा गर्न लगानी गरिन्छ । बचत स्वेच्छिक र वाध्यात्मक दुई प्रकारका हुन्छन् । आम्दानीबाट खर्च गरेपछिको बाँकी रकमलाई बचत भनिन्छ । यसप्रकारले गरिने बचतमा यति बचाउनुपर्छ भन्ने कुनै बाध्यता हुँदैन । बच्न पनि सक्छ र नबच्न पनि सक्छ । तर, बचत गर्ने तरिका बाध्यात्मक पनि हुन्छन् ।

उदाहरणका लागि सुन्दरले २० बर्से सावधिक बिमा किनेका छन्, जसका लागि उनी हरेक वर्ष १० हजार रुपैयाँ प्रिमियम बुझाउनुपर्छ । यो उनका लागि बाध्यात्मक बचत हो । यसमा तिर्नैपर्ने वा जम्मा गर्नैपर्ने बाध्यता हुन्छ । अन्यथा बिमा रद्द हुन्छ वा तिरिसकेको पैसा नोक्सान हुन जान्छ ।

यसमा सुन्दरको एउटा निश्चित लक्ष्य छ । जस्तो कि हरेक वर्ष प्रिमियमबापत १० हजार रुपैयाँ २० वर्षसम्म बुझाउने र त्यस अवधिमा जीवित नै भए बिमांक र बोनस एकमुष्ट फिर्ता आएको पैसाले छोराछोरी पढाउने । यस्तै उनीहरुको बिहे खर्च गर्छु वा निवृत्त हुँदा चाहिने पैसाका लागि प्रयोग गर्छु भन्ने व्यक्तिपिच्छेका फरक लक्ष्य हुनसक्छन् ।

सुन्दरले गरेको यो बचत बिमासहितको योजनाबद्ध बचत वा लगानी हो । यहाँ सुन्दरले आम्दानीबाट खर्च गर्नुभन्दा पहिला बिमाको प्रिमियम भुक्तानी गर्छन् । यसप्रकारको बचतमा आम्दानीबाट खर्च गर्नुभन्दा पहिला बचत गरिन्छ र यो बाध्यात्मक बचत हो ।

आम्दानीबाट बचत पहिला गर्ने कि खर्च पहिला भन्ने बहस पनि चल्छ । बचत पहिला भन्ने सिद्धान्तलाई पहिला आफूलाई भुक्तानी गर (पे योर्सेल्फ फर्स्ट) पनि भनिन्छ । जस्तो कि हरेक पटक तलब आएपछि कर्मचारी सञ्चयकोषमा १० प्रतिशत रकम जम्मा गर्नु भनेको पहिला आफूलाई भुक्तानी गर्नु हो । यसप्रकारको रकम सेवानिवृत्त हुने बेलासम्म जम्मा गर्दै गइन्छ । यसको आफ्नै निश्चित उद्देश्य छ । सञ्चय कोषमा निवृत्त जीवनमा आवश्यक पैसाको जोहो गर्नका लागि बचत र लगानी गरिन्छ ।

एउटा निश्चित समय अन्तराल जस्तै: प्रत्येक दिन, हप्ता वा पन्ध्र दिन वा महिना, त्रैमासिक, अर्धवार्षिक वा वर्षमा एउटा निश्चित रकम कुनै खास उद्देश्य पूरा गर्नका लागि जम्मा गर्दै जानु वा लगानी गर्दै जानुलाई योजनाबद्ध लगानी (एसआईपी) वा बचत भनिन्छ ।

एक जना चिनजानका साथी पुस्तक व्यवसाय गर्छन् । बचतसम्बन्धी गफ हुँदै गर्दा उनले भने, ‘मैले तीन वटा सहकारीमा खाता खोलेको छु । एउटामा हरेक दिन पाँच सय रुपैयाँ जम्मा गर्छु र उक्त पैसा हरेक महिनाको अन्त्यमा उधारो भुक्तानी गर्न प्रयोग गर्छु । अर्को सहकारीमा जम्मा गरेको पैसा घरखर्चका लागि प्रयोग हुन्छ र अर्को बच्चाको पढाइका लागि ।’ यो आफैंमा एक प्रकारको योजनाबद्ध नियमित बचत हो ।

यसप्रकारले नियमित बचतका लागि आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाहरुले योजना ल्याएका हुन्छन् । यसलाई रिकरिङ बचत पनि भनिन्छ । जहाँ हरेक हप्ता वा महिना वा तलब आएपछि निश्चित रकम जम्मा गर्ने गरिन्छ, जसको लगानी अवधि केही लामो पनि हुने गर्छ ।

उदाहरणका लागि मुक्तिनाथ विकास बैंकको वेबसाइटमा यसप्रकारको मुद्धति निक्षेप योजना देख्न पाइन्छ । उक्त योजनामा हरेक त्रैमासमा ५ सयदेखि २० हजार रुपैयाँसम्म बढीमा पाँच वर्ष जम्मा गर्न सकिने र ११.७५ प्रतिशत ब्याज पाउने विशेषता छ । यो पनि एक प्रकारको योजनाबद्ध नियमित निक्षेप हो । यो मुद्धति खातामा निश्चित लक्ष्य पूरा गर्न नियमित रकम जम्मा गरिन्छ भने त्यो पनि योजनाबद्ध लगानी नै हो ।

यस्तै योजनाबद्ध लगानी सेयर बजारमा पनि गर्न सकिन्छ । जस्तै: कुनै कम्पनीको सेयर वा म्युचुअल फन्ड वा ऋणपत्र योजनाबद्ध तरिकाले नियमित रुपमा किन्दै जानु । सेयर बजारमा यसरी नियमित रुपमा योजनाबद्ध तरिकाले गरिने लगानीको कुरा हाम्रो बजारमा नयाँ जस्तो लाग्न सक्छ, जुन अन्तर्राष्ट्रिय बजारमा धेरै पुरानो हो ।

उदाहरणका लागि क्यानडामा वेल्थसिम्पल भन्ने सेयर ब्रोकर छ, जसले क्यानेडियनलाई कमिसन फ्रि सेयर कारोबारको सुविधा दिन्छ । यसमा सेयर कारोबार खाता खोल्दा वा सेयर कारोबार गर्दा कुनै पनि प्रकारको कमिसन वा वार्षिक शुल्क बुझाउनु पर्दैन । अमेरिकामा यस्तै कमिसन फ्रि सेयर कारोबारको सुविधा रोविनहुड भन्ने ब्रोकरले दिन्छ । कमिसन फ्रि सेयर कारोबारको प्रचलन अहिले संसारभर विस्तार भइरहेको छ ।

यस्ता सेयर ब्रोकरको कारोबार प्ल्याटफर्ममा के तपाईं नियमित वा तालिका बनाएर लगानी गर्न चाहनुहुन्छ ? भन्ने एउटा प्रश्न सधैं सोधिने गर्छ । हरेक हप्ता वा महिना वा त्रैमासिक कसरी लगानी गर्न चाहनुहुन्छ ? कति रकम लगानी गर्न चाहनुहुन्छ ? तपाईंले लगानी गर्ने पैसा कुन बैंक खाताबाट आउँछ ? भनेर प्रश्न सोधिएको हुन्छ ।

उदाहरणका लागि हेमन्त वेल्थसिम्पल ब्रोकरकहाँ कारोबार खाता खोलेर हरेक हप्ताको बिहीबार फेसबुक कम्पनीको सेयरमा ५० डलर लगानी गर्न चाहन्छन् । जसका लागि उनले बैंकको नाम र खाता नम्बर कारोबार खातामा अद्यावधिक गरिसकेका छन् । यसरी योजनाबद्ध तरिकाले किन्ने तालिका बनाएर त्यसलाई स्वीकार गरिसकेपछि रद्द नगरुन्जेल सिस्टमले बैंक खाताबाट स्वतः उनको पैसा तान्छ र ५० डलरबराबरको सेयर हरेक हप्ता किन्दै जानेछ ।

यस्तोे तालिका उनले किन्न वा लगानी गर्न चाहेको हरेक कम्पनी वा म्युचुअल फन्डमा बनाउन सक्छन् । यसरी लगानी गर्नुको हेमन्तसँग निश्चित उद्देश्य छ । एकमुष्ट ठूलो रकम लगानी गर्न नसक्ने हेमन्तहरु जस्ताका लागि लगानी गर्ने यो राम्रो तरिका हो । यसरी नियमित लगानी गर्नुलाई सेयरको औसत लागत रणनीति पनि भनिन्छ ।

औसत लागत रणनीति लगानीको तरिका मात्र नभएर नियमित बचत गर्ने सामान्य तर उत्कृष्ट रणनीति पनि हो । यसले अनुशासित भएर लगानी गर्ने बानी बसाउन, दीर्घकालमा लगानीको लागत कम गर्न र सेयरको मूल्यमा आउने उतारचढावका कारण सिर्जना हुने नोक्सानीलाई कम गर्न पनि त्यत्तिकै मद्दत गर्न सक्छ ।

नियमित रुपमा तालिका बनाएर सेयर किन्दा जुन बेला सेयरको मूल्य माथि हुन्छ, त्यसबेला हाम्रो पैसाले कम कित्ता सेयर किन्छ । तर, जब सेयरको मूल्य घटेर तल आउँछ, त्यसबेला सोही रकमले बढी कित्ता सेयर किन्छ र गलत समयमा सेयर किन्दाको जोखिमलाई कम गरिरहेको हुन्छ । यो रणनीतिले आवेश र उत्तेजनाका कारण गलत समयमा एकमुष्ट लगानी गर्दा हुने जोखिमलाई पनि कम गर्न सहयोग पुर्‍याउँछ । यो रणनीतिलाई जति लामो समय उपयोग गर्न सक्यो त्यति नै फाइदा हुनसक्छ ।

अब कुरा आयो म्युचुअल फन्ड (सर्वसाधारणबाट पैसा संकलन गरेर सेयर बजारमा लगानी गर्ने कम्पनी)हरुले भन्ने गरेको एसआईपीको । विशेषगरी खुलामुखी सामूहिक लगानी कोषले एसआईपीको प्रयोग गर्न थालेका छन् ।

म्युचुअल फन्ड बन्दमुखी र खुलामुखी दुई प्रकारका हुन्छन् । सर्वसाधारणलाई सेयर जारी गरेजसरी एकपटक जारी गर्ने र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरेर ब्रोकरको माध्यमबाट किनबेच गर्ने म्युचुअल फन्डलाई बन्दमुखी (क्लोज इन्डेड) म्युचुल फन्ड भनिन्छ । यी फन्डको निश्चित अवधि जस्तै: ५ वर्ष, ७ वर्ष, १० वर्ष हुनेगर्छ । यस्तो म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जको कारोबार प्ल्याटफर्ममार्फत नै किन्नु र बेच्नुपर्ने हुन्छ । कम्पनीमा गएर किनबेच गर्न सकिँदैन ।

अर्कोतर्फ खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरिँदैन । यी किन्नु वा बेच्नुपरे फन्ड व्यवस्थापक वा तिनले तोकेका एजेन्टकहाँ जानुपर्ने हुन्छ । चाहेका बेला किन्न र भएको इकाइ जुनसुकै बेला सोही कम्पनीलाई बेच्न सकिने भएकाले खुलामुखी म्युचुअल फन्ड बन्दमुखीभन्दा बढी तरल हुन्छ । बन्दमुखी किनबेच गर्दा कारोबार रकमअनुसार ब्रोकर कमिसन तिर्नुपर्छ भने खुलामुखीमा कमिसन लाग्दैन । तर, बिक्री गर्दा १ दशमलव ५ प्रतिशतसम्म म्युचुअल फन्डले कमिसन लिनसक्ने कानुनी व्यवस्था छ ।

यिनै खुलामुखी म्युचुअल फन्ड सञ्चालकले एसआईपी नाम दिएर नियमित लगानीका लागि लगानीकर्तालाई विकल्प दिएका छन् । यो कुनै बाध्यात्मक बचत वा लगानी तरिका होइन । यो स्वेच्छिक र लगानीमा लगानीकर्ताले आफूलाई अनुशासित बनाउने तरिका भने हो ।

उदाहरणका लागि विदुरले हरेक महिना २ हजार रुपैयाँ खुलामुखी म्युचुअल फन्डमा लगानी गर्नेगरी कुनै म्युचुअल फन्डमा फाराम भरे र आवश्यक सूचना दिए । उनले हरेक महिना लगानी गर्ने २ हजार रुपैयाँ कनेक्ट आईपीएस जस्ता भुक्तानी माध्यममार्फत आफैं भुक्तानी गर्न सक्छन् वा बैंक खाताबाट म्युचुअल फन्डले आफैं तान्न पनि सक्छ ।

यो रकमले म्युचुअल फन्डले प्रतिइकाइ खुद मूल्य (म्युचुअल फन्डले गरेको लगानीको कुल बजार मूल्य माइनस तिर्नुपर्ने दायित्व र व्यवस्थापन खर्च भागा अहिले भएको कुल इकाइ) का आधारमा इकाइ किनिदिने गर्छ । उक्त दिन मूल्य बढेको रहेछ भने २ हजार रुपैयाँले कम इकाइ किन्छ । घटेको रहेछ भने बढी इकाइ किन्छ । उद्देश्य पूरा नहुन्जेल यो लगानी नियमित गर्न सक्छन् वा कुनै पनि बेला बिनाशुल्क रोक्न पनि सक्छन् । पैसा चाहिएमा आवश्यकताअनुसारको इकाइ बिक्री गर्न पनि सक्छन् ।

मानौं यो म्युचुअल फन्डमा उनले निवृत्त जीवनका लागि लगानी गरेका हुन् । उनको उद्देश्य ६५ वर्षमा सेवा निवृत्त हुने र त्यसपछि हरेक वर्ष त्यसको कुल मूल्यको ५ प्रतिशतका दरले बिक्री गरेर खर्च गर्ने योजनामा उनी छन् ।

सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान आफूलाई अनुशासित राखेर निश्चित उद्देश्य पूरा गर्न नियमित लगानी गर्ने एउटा स्वेच्छिक तरिका हो । यसमा लगानी गर्दा पनि विभिन्न म्युचुअल फन्डको लगानी, तिनले दिने प्रतिफल, व्यवस्थापन खर्च, खुद सम्पत्ति र मूल्यका बारेमा तुलनात्मक अध्ययन गरेर आफ्नो जोखिम लिने क्षमताअनुसार उद्देश्य पूरा गर्ने प्रकारका फन्डमा लगानी गर्नु उपयुक्त हुन्छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर, क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्स गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताब लेखेका छन् ।)


रविन्द्र भट्टराई