यी १० काम गरे बैंकप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन सकिन्छ



समग्र वित्तीय सेवाको विविधीकरण र सुदृढीकरणमार्फत देशको गहिरिँदो विद्यमान आर्थिक संकटलाई निराकरण गर्न सबै संयम भएर जुट्न जरुरी छ ।

आज विकसित, उदीयमान, विकासशील र कम विकसित अर्थतन्त्र भएका सबै मुलुकले आर्थिक संकट भोगिराखेका छन् । कोभिड-१९ को असर लगत्तै रुस र युक्रेनबीचको युद्धका कारण आर्थिक गतिविधिहरूमा गम्भीर क्षती पुगेको छ । यसको पछिल्लो उदाहरणका रूपमा श्रीलंकालाई लिन सकिन्छ । पाकिस्तान पनि त्यहीँ लएमा गएको देखिन्छ, भलै त्यहाँ अरू राजनीतिक कारण पनि होलान् ।

यसले समग्र विश्वको अन्तर्राष्ट्रिय मूल्य र आपूर्ति शृङ्खलालाई खलबल्याएको छ । समग्र माग र आपूर्तिमा आएको बदलाबले कमजोर अर्थतन्त्र भएका मुलुक ठूलो मारमा परेमा छन् ।

हालै आईएमएफले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक ग्रोथ प्रजेक्सन प्रतिबेदनका अनुसार पनि विकसित, उदीयमान, विकासशील र कम विकसित अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ । जसअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा समग्र विश्व अर्थतन्त्रको वृद्धिदर झिनो अन्तरले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

यसैगरी विश्वको मुद्रास्फीति सन् २०२२ मा ८.८ प्रतिशत रहेकोमा सन् २०२३ मा ६.६ प्रतिशतमा झर्ने कोषले प्रक्षेपण गरेको छ । मुद्रास्फीति नियन्त्रण विश्वका अधिकांश केन्द्रीय बैंकहरूले सन् २०२२ को सुरूदेखि नै अवलम्बन गरेको मौद्रिक नीतिको कसिलो कार्यदिशालाई अझै जारी राखेका छन् ।

अमेरिकी फेडरल रिजर्भले फेडरल फण्ड रेट सन् २०२२ मर्छ देखि ६ पटक वृद्धि गरि सन् २०२३ फेब्रुअरीमा ४.२५-४.७५ प्रतिशत पुर्‍याएको छ । साथै बैंक अफ ईंग्ल्याण्डले सन् २०२२ मार्चमा ०.५ प्रतिशतमा रहेको बैंक दरलाई क्रमश वृद्धि गरि सन् २०२३ फेब्रुअरीमा ४ प्रतिशत पुर्‍याएको छ ।

भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई ४ प्रतिशतबाट ६.५० प्रतिशत पुर्‍याएको छ भने बैंक दरलाई ४.२५ प्रतिशतबाट वृद्धि गरि ६.७५ प्रतिशत पुर्‍याएको छ । यस अवधिमा डलरको तुलनामा भारतीय मुद्रा ७.५ प्रतिशतले अवमूल्यन भएको छ । (स्रोत: आईएमएफ र एनआरबी)

हाम्रो अर्थतन्त्रको संरचना, बनावट, नीति ऐन र कानुनहरू आत्मनिर्भर बनाउने खालका भए पनि हाम्रो व्यवहारिक अर्थतन्त्र व्यापक रुपमा परनिर्भर छ । हाम्रो विद्यमान उपभोग प्रवृत्ति, आयातमा आधारित उत्पादन संरचना र अनुत्पादक/आयातमा हुने कर्जा प्रवाहले बाह्य क्षेत्रलाई सदैव दबाबमा राखेको छ ।

भन्सारमुखी, आयातमुखी र उपभोगमुखी अर्थतन्त्र सदैव संकटको घेरामै रहि आएको छ । यसबाट त्राण पाउन हामीलाई अहिले पनि हम्मेहम्मे परिरहेको छ । अर्थतन्त्र संकुचनमा परेपछि राजस्व घट्नु स्वभाविक मानिन्छ ।

चालू आवको पछिल्लो ६ महिनाको लक्षित राजस्वमा २४.८ प्रतिशतले गिरावट आएको छ । जसले गर्दा चालू आवको बजेटको आकार नै घटाउनु पर्ने देखिन्छ । राजस्व संकलनको यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलोपटक हुन पुगेको छ ।

यो सानो तिनो मेहेनतले सुधार गर्न सकिने हैसियतमा छैन । विषेश गरि आटिलो अर्थमन्त्री र राज्यका संरचना निर्मम नभैकन यसबाट पार लाग्ने छाट्काट देखिँदैन । अनावश्यक फजुल खर्च कटौती गर्दै नीति, संरचना, सञ्चालन र प्रक्रियाहरूलाई सरल, प्रशासनिक मितव्ययिता र विकासमा पारदर्शिता कायम नगरी हाम्रो अर्थतन्त्रले समृद्धिको बाटो देखाउँदैन ।

राज्य र राज्यका निकायप्रतिको गिर्दो विश्वास, भरोसा र भविष्यको अनिश्चितताले आज थुप्रै प्रतिभावान, क्षमतावान, नवीन उर्जा विचार बोकेका र शिक्षित जमात देश छाड्न अभिशप्त छ ।

आज प्रत्येक दिन औसत १७ सय युवा श्रम रोजगारीका लागि बाहिरिरहेका छन् भने विदेश अध्यनका गर्न जानेको संङ्ख्या प्रतिदिन औसतमा ३ सय हाराहारीमा रहेको तथ्यांक सरकारी आँकडाहरूले देखाइरहेका छन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृत लिनेको सङ्ख्या लगभग ६४.६ प्रतिशतले वृद्धि भएको छ भने पुनः श्रम स्वीकृत लिनेको सङ्ख्या ९.५ प्रतिशतभन्दा बढी छ ।

सबै आँकडा राख्न यो लेखमा सम्भव छैन । करक विषयवस्तु, मेरो ज्ञानको सीमा र तथ्यांक/सूचना पहुँचका आधारमा समग्र अर्थतन्त्रका बारेमा आँकडासहित अर्को आलेखमा प्रस्तुत गर्ने छु । यो लेख्नुको मूल अर्थ ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई वित्तीय क्षेत्रले कसरी सहयोगी भूमिका खेल्दछ ? बैंक तथा वित्तीय संस्थाप्रतिको नकारात्मक बुझाइलाई कसरी व्यबहारिक रूपमा सबैलाई सत्यतथ्य सम्प्रेषण गर्ने ? यी प्रश्नहरूको दिगो समाधानसहित वित्तीय क्षेत्रलाई नै कसरी दिगो, विश्वासनीय, सफल, ग्राहकमैत्री, समाजमैत्री, व्यबसायमैत्री र वातावरणीयमैत्री बनाउँदै कर्मचारीको भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहनेछ ।

आज कहिँ कतै केहीँ भइहाल्यो भने पनि त्यसका पछि समग्र समाज कुद्ने प्रवृत्ति रहेको छ। केही दिन अघि काठमाडौंको मुख्य शहर बानेश्वर संसद् भवन अघि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहा गरे, (भलै उनका बरेमा उनले बाँचेको जीवनका बारेमा मैले कुनै बर्णन गर्नै परेन । सबैलाई अवगतनै छ ।) लगत्तै भोलि पल्ट उपचारको क्रममा उनको मृत्यु भयो, सोही दिन मधेसका एकजना बुवाले छोराको बिहेका लागि सापट लिएको रकम फिर्ता गर्न नसकेर आत्महत्याको बाटो रोजे भने त्यसको भोलिपल्ट मोरङका एकजना व्यापारीले पनि आत्महत्या गरे ।

त्यसपछि देशका कतिपय स्थानमा केहीले आत्मदाहको प्रयास गरेका छन् ।

नेपालमा प्रतिदिन औसत १७ जनाले कुनै न कुनै रूपमा मृत्युवरणको बाटो रोजिरहेका छन् । आत्महत्या, आत्मदाहा वा अरू जुनसुकै रूपमा गरिने यस्ता कार्यलाई निरूपण गर्न ठूलो चुनौती हाम्रो सामु छ ।

यस्ता कार्यलाई निराकरण गर्न परिवार, मनोचिकित्सक परामर्श र राज्यको सार्थक उपस्थिति लगायत सबै पक्षको साझा प्रयत्नले सहजीकरण गर्नु पर्दछ । उनीहरुलाई जिउन प्रेरणा, ढाडस र भरोसा दिनु पर्दछ ।

अहिलेको वर्तमान परिस्थितिमा बैंकहरूकाप्रति आम मान्छेहरूको नकारात्मक दृष्टिकोण निर्माण भैरहेको परिस्थिति छ । जसले गर्दा एकातिर बैंकहरूप्रतिको जनविश्वास दिनप्रतिदिन गुम्दै जाने होकि भन्ने चिन्ता बढ्दै गएको देखिन्छ भने अर्कोतिर गुम्दैँ गएको विश्वासलाई कसरी पुनः थप बलियो, दिगो र भरोसायुक्त बनाउने भन्ने चुनौती हाम्रा सामु छ ।

यस परिप्रेक्ष्यमा (बीएफआईएस) बैंक तथा वित्तीय संस्थामा आवद्ध पेशाकर्मी, सम्बद्ध सबै पक्षको तर्फबाट के कस्ता कार्यहरू गर्न सकिन्छ ? हाम्रो सामूहिक प्रयत्न, नीतिगत व्यबस्था र संस्थागत रूपले सञ्चालन गरेका कार्यहरू मार्फत यस क्षेत्रको दिगो वित्तीय स्थायित्व, वित्तीय विश्वासनियता,वित्तीय साक्षरता र वित्तीय पहुँचता अभिवृद्वी गर्न नतिजामुलक कार्य गर्नु अनिवार्य छ ।

देशको संकटोन्मुख अर्थतन्त्रलाई लएमा फर्काउन बीएफआईएसको भूमिका के रहन्छ ? ग्राहकवर्ग, निक्षेपकर्ता, कर्जा उपभोगकर्ता, पेशाकर्मी, सेयरधनी लगायत सम्बद्ध सबै पक्षको पारस्परिक हित र लाभलाई सुरक्षित गरि भरपर्दो, दिगो र विश्वासनिय सम्बन्ध टिकाइराख्न हामी के कसरी अगाडि बढ्न सक्छौँ ? कसरी बैंकप्रतिको नकारात्मक धारणालाई सकारात्मक दिगो सम्बन्ध, आर्थिक विकास र विश्वासनीयतालाई कसरी दिगो रख्ने ?

यसका लागि केही काम गर्न जरुरी छ:

१. बस्तुपरक र यथार्थपरक सूचना, जानकरीहरू विभिन्न माध्यम र सामाग्रीमार्फत आम मानिसहरूलाई सम्प्रेषण गर्ने गराउने,

२. वित्तीय साक्षरता अभिवृद्वी गर्दै निक्षेप, कर्जा, व्याजदर, सेवा,सुबिधा, ऐन, नियम र प्रावधानका बारेमा निरन्तर सत्यतथ्य सामाग्रीहरू सम्प्रेषण र प्रसारण गर्ने गराउने,

३. बीएफआईएसको प्रत्यक्ष सम्बन्ध देशको अर्थतन्त्रसँग जोडिएको हुनाले अर्थतन्त्रमा आउने उतारचढाव, मूल्यवृद्धि, माग र आपूर्ति बीचको असन्तुलन, भन्सार उपभोगमुखी अर्थतन्त्रका कारण विदेशी विनिमय सञ्चितिमा पर्ने प्रभाव र असरका बारेमा सुसूचित गर्ने/गराउने,

३. नियामक निकायद्वारा जारी गरिएका सम्बन्धित ऐन, नियम,परिपत्र र प्रावधान पूर्ण पारदर्शिताका साथ कार्यान्वयन गर्दै सो सम्बन्धमा आम मान्छेलाई अवगत गर्ने गराउने,

४. सबै कर्मचारीहरूलाई तोकिएको निर्दिष्ट जिम्मेवारी पूरा गर्न र आफ्नो कामसँग जवाफदेहीता अवलम्बन गर्दै समग्र बैंकिङ कामकारबाहीहरू/सेवाहरूलाई छिटो छरितो, सहज, पारदर्शी र विश्वासनीय बनाउने कर्ममा दत्तचित्त भएर लाग्न निरन्तर अभिप्रेरित गर्ने गराउने,

५. बैंकप्रतिको गलत बुझाइलाई निराकरण गरि यथार्थ र वास्तविकताको सञ्चार गर्दै प्रविधिको सर्वोत्तम उपयोगमार्फत वित्तीय बजारलाई ग्राहक मैत्री बनाउने,

६. बजार महँगीले गर्दा सबै वर्गको ‘कस्ट अफ लिभिङ’ धेरै बढिरहेको छ । जसको मारमा स्वयं बैंकका तल्लो तहमा कार्यरत कर्मचारीहरू परेका छन्,

७. कर्मचारीहरूको भर्नादेखि लिएर छनोट पदस्थापन, पदोन्नति, संरक्षण, वृत्तिविकास, कार्यसम्पादन मूल्यांकन
प्रक्रियासम्ममा पारदर्शी बन्ने, समयसापेक्ष स्वस्थ, नयाँ, नतिजामुखी, रचनात्मक र अभिनव जनशक्तिलाई अवसर दिनुका साथै आन्तरिक प्रतिस्पर्धालाई निरन्तरता दिने, जसले गर्दा कर्मचारीहरू पलाएनको बाटो रोज्दैनन् । रोजगारीमा असुरक्षा महसुस गर्दैनन् र आफ्नो काम प्रति दत्तचित्त भएर लाग्न सदैव प्रयत्नशील रहन्छन् ।

बीएफआईएसले यी समस्याहरूको सम्बोधन गर्नु अनिवार्य छ । कार्यालय समय पछिको अतिरिक्त पारिश्रमिकको सुनिश्चितता गर्नुपर्ने, अनावश्यक तनावलाई व्यबस्थापान गर्नुपर्ने, कर्मचारीहरूको मानसिक र शारीरिक अवस्थालाई तन्दुरुस्त राख्न वर्षको एकपटक अनिवार्य स्वास्थ्य जाँच गराउने नीति अवलम्बन गर्ने गराउने,

८. कार्य जीवनको गुणस्तरीयता, वातावरण अनुकुल, कर्मचारी अवधारणा, स्व नियमन, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन ले संगठनमा द्वन्द्व घटाउने, नैतिकतामा बल पुग्ने र स्वास्थ कार्य वातावरण सिर्जना हुन्छ । परिमाण्स्वरूप समग्र बैंक तथा वित्तीय संस्थालाई दिगो, दरिलो, विश्वाससिलो, वित्तीय स्थायित्व, वित्तीय क्षमतालाई थप पुरस्कृत गर्न मद्दत गर्दछ। जसले सामाजिक र व्यावसायिक दायरालाई विस्तार गरि नतिजमुलक परिणाम हासिल गर्न सहयोग गर्दछ ।

९. सबै कर्मचारीहरूको वृत्तिविकासको सुनिश्चितता गर्ने, उनीहरूलाई पर्याप्त तालिम, ज्ञान वर्धक सेमिनार, गोष्ठी बढीभन्दा बढी सहभागी गराउने, जिम्मेवारी र कार्यक्षेत्रसँग आवद्ध ज्ञानको दायरालाइ मझबुत गर्न प्रेरित गर्ने र समयसमयमा विभिन्न परीक्षणमुलक जाँच पद्धति अपनाउने, जसले गर्दा व्यक्तिगत कुशलतामा वृद्धि भै समग्र वित्तीय प्रणाली र अर्थतन्त्रलाई दिगो, स्थायित्व र बलियो बनाउन सहयोग पुग्छ,

१०. सबै पक्षले संयमता, परिपक्वता र सबैको विश्वासलाई अक्षुण्ण राख्दै आम जनमानसमा देखिएको नकारात्मक धारणा र चिन्तनलाई परास्त गर्न हामी जो जहाँ जुन तह र तप्कामा छौँ सबै एक भै जुट्न आवश्यक छ । सबैको सामूहिक प्रयत्नबाट मात्रै हामी आर्थिक वृद्धि, आर्थिक विकास र समृद्धिको यात्रामा सरिक हुनसक्छौं ।

नेपालको विकासको दीर्घकालीन सोच २१०० तय गरिएको छ । जसअन्तर्गत समृद्धिका चार (सर्वसुलभ, आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता, मानव पुँजिको निर्माण तथा सम्भावनाहरूको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन र उत्पादकत्व, उच्च र समतामूलक राष्ट्रिय आय) र सुखका छ वटा (परिष्कृत र मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सबल लोकतन्त्र, सुशासन, राष्ट्रिय एकता, सुरक्षा र सम्मान ) दीर्घकालीन राष्ट्रिय लक्ष्य निर्धारण भएका छन् ।

यी मध्य चारवटा (मानव पुँजिको निर्माण तथा संभावनाहरूको पूर्ण उपयोग, सर्वसुलभ, आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता, परिष्कृत र मर्यादित जीवन, स्वास्थ्य र सन्तुलित पर्यावरण ) क्षेत्रमा लक्ष्य प्राप्त भएको छ (७५% सूचकले लक्ष्य प्राप्त गरेको), पाँचवटा क्षेत्र (उच्च र दिगो उत्पादन र उत्पादकत्व, उच्च र समतामूलक राष्ट्रिय आय, सबल लोकतन्त्र, सुरक्षित,सभ्य र न्यायपुर्ण समाज, राष्ट्रिय एकता,सुरक्षा र सम्मान ) लक्ष्यउन्मुख (५०% सूचकले लक्ष्य प्राप्त गरेको) र एउटा ( सुशासन) क्षेत्रमा लक्ष्य प्राप्त गर्न कठिन ( ५०% भन्दा कम सूचकले लक्ष्य प्राप्त गरेको) मानिएको छ । यसको भावना र मर्मलाई बुझ्दै सबै संघ संस्थाले अनुशरण गर्न अपरिहार्य छ ।

निष्कर्ष: बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष सम्बन्ध सबै आर्थिक क्रियाकलापहरूमा जोडिने भएकाले देशको वित्तीय क्षेत्रलाई स्थायित्व, विश्वासिलो र बलियो बनाउनु आजको आवश्यकता हो । जसरी आज प्रविधिमा लगानी बढिरहेको छ त्यो भन्दा बेसी श्रम शक्तिमा लगाउनु जरुरी छ। विभिन्न संघ, संस्था र संगठनमा आवद्ध सबैको पेशालाई मर्यादित, दिगो, सुरक्षित गर्दै आर्थिक रूपमा बलियो बनाउनु अनिवार्य छ ।

राज्य, राज्यका निकाय र संघ संस्था प्रतिको अविश्वास, असुरक्षित पेशा व्यबसाय र कमजोर आर्थिक अवस्थाले आज थुप्रै दक्ष जनशक्तिहरू पलाएनको बाटो लिन बाध्य छन् । प्रायः जसो यो अवस्थाबाट सबै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने पेशाकर्मी निकै मारमा छन् । खर्चिएको समय र श्रम अनुसारको भुक्तानीको सुनिश्चितता नहुनु, कामना अनावश्यक अधिक तनाव र कार्यगत गुणस्तरीयताको कमिले झन् धेरै गलाएको छ।

हिजो आज सेवा क्षेत्र,वित्तिय क्षेत्र,प्रशासनिक क्षेत्र,उद्योग व्यबसाय क्षेत्र,निर्माण क्षेत्र र अनौपचारिक क्षेत्र लगायत सबैतिर यो समस्या विद्यमान छ। यसको समाधान गर्नु सम्बद्ध सबै पक्षको साझा र पहिलो दायित्व हो। यसको दिगो समाधान नगरिकन हाम्रो समृद्धिको यात्रा व्यबहारमा मात्रै सीमित रहने छ ।

जबसम्म हामी कुनै पनि संगठनमा आवद्ध सबैलाई छहारी दिन सक्दैनौं, जबसम्म स्वास्थ राख्न सक्दैनौँ, अभिभावकीय भूमिका निर्वाह गर्न सक्दैनौं, जबसम्म ती परिश्रमी हातहरूलाई काममा टिकाइराख्न निरन्तर आड, भरोसा, माया र संरक्षण गर्दैनौं तबसम्म संगठनको आन्तरिक समृद्धिको यात्रा पनि अपुरो हुनेछ ।

जुनसुकै उदेश्यले लिएर बाहिरिने अर्धदक्ष र दक्ष तरूण युवालाई रोक्न नसक्नु, क्यापिटल फ्लाइट र ब्रेन ड्रेनलाई पलाएन हुनबाट रोक्न नसक्नु हाम्रो ठूलो असफलता हो अर्थात् राज्यको असफलता हो ।

कर्मचारीहरूलाई कसरी कामप्रति आकर्षण गर्न सकिन्छ ? कसरी उनीहरूलाई जीवनभर एउटै संस्थामा काममा टिकाइराख्ने ? कसरी उनीहरुलाई एउटा संस्थामा आवद्ध भैरहदा पनि अर्को संस्थामा सुरक्षित जागिर खोज्न लालायित भैरहेका हुन्छन् ? आजका दिनमा पनि किन दक्ष, क्षमतावान र इमानदार कर्मचारीहरू अदलबदल र पलाएन भैरहेका छन् ? यी र यस्ता तमाम प्रश्नहरूको समाधान दिन किन सम्बन्धित संयन्त्रहरू सकिरहेका छैनन् ? यसबाट पर्ने असर र प्रभावका बारेमा किन सोचिदैँन् ।

आज कसैले कर्मचारीहरूको कार्य जीवन गुणस्तरका बारेमा लाइक स्केलका आधारमा अध्ययन अनुसन्धान गर्न हिचकिचाउँछ्न् वा कसैलाई तिमी तिम्रो कामप्रति बफादार छौँ ? वा संस्थालाई समग्र रूपमा सबल र सुदृढ बनाउन के के गर्नु पर्ला भनेर कर्मचारीहरूको आवाजलाई सुनेको छ ? त्यसैले जबसम्म सम्बद्ध सबै पक्षलाई भरोसामा लिइदैँन वा उनीहरूका आकाङ्क्षाहरूलाई सम्बोधन गर्न सकिँदैन तबसम्म अस्थिरताको चक्र चलिरहन्छ । जसले गर्दा अनेकन किसिमका समस्याहरू निरन्तर आइरहनेनै छन् । भनिन्छ- Employees are assets. Take a time to Appreciate them. Value Them.

अन्यथा प्रेम आचार्यले भने जस्तै युरोप, अमेरिका अस्ट्रेलिया, जापान, क्यानाडा लगायतले ठूलो संङ्ख्यामा आप्रवासी लिने हो भने यो देशमा माटो मात्रै बाँकी रहनेछ । नेता मात्रै बाँकी रहनेछन् अर्थात मुठिभरका मान्छे मात्र रहनेछन् । त्यसैले साच्चै राष्ट्रिय आकाङ्क्षा अनुरूपको समृद्ध देश निर्माण गर्ने हो भने सबैले आ-आफ्नो तह र तप्कामा रहेर तोकिएको जिम्मेवारीलाई कुशलता, इमान्दारी र दृढ इच्छाशक्तिका साथ कार्यसम्पादन गरि राष्ट्रिय समृद्धिको यात्रालाई सफल पारौँ ।


क्लिकमान्डु