डेढ खर्ब लगानीमा १२ वटा जलविद्युत् आयोजना बन्दै, कति उत्पादन हुँदैछ विजुली ?



काठमाडौं । देशका विभिन्न स्थानमा करिब डेढ खर्ब रुपैयाँहको लगानीमा १२ वटा जलविद्युत् आयोजना बन्ने भएको छ । चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) पेश गरेको आधारमा विभिन्न जिल्लामा १ खर्ब ३९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ लगानीमा १२ वटा जलविद्युत् आयोजना बन्ने भएको हो ।

प्रतिवेदनमा अधिकांश आयोजना आगामी ३ देखि ८ वर्षसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । साथै, उक्त आयोजनाबाट उत्पादन भएको विद्युतले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिएको छ ।

नेपालमा विद्युत् उत्पादनमा प्रचुर सम्भावना देखिएसँगै निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा उच्च लगानी गरिरहेका छन् । सरकारले पनि हरेक वर्षको नीति तथा कार्यक्रममा र बजेटमा समेत विजुली उत्पादनमा जोड दिँदै आएको छ ।

सोहीअनुसार निजी क्षेत्रले पनि जलविद्युत क्षेत्रमा ठूलो लगानी गरेको देखिन्छ । त्यस्तै, उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने पछिल्ला ५ वर्षमा मात्रै विजुली क्षेत्रमाक ८ खर्ब बढी लगानी प्रतिबद्धता जनाएका छन् ।

उक्त प्रतिबद्धता जनाएअनुसार आयोजनालाई तीब्रता दिनका लागि विभिन्न कम्पनीहरुले आयोजना निर्माणको कार्यलाई अगाडि बढाएको छ । त्यसैगरी, पछिल्लो ७ महिनामा मात्रै १२ वटा आयोजना निर्माणका लागि इआईए गरेर कार्य अगाडि बढाएको छ ।

कुन आयोजनाको विद्युत उत्पादन क्षमता कति ?

छिलुङ्ग खोला जलविद्युत् आयोजनाः गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा–३ मा ४३.२ मेगावाट क्षमतामा छिलुङ्ग खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । हनुमान हाइड्रोपावर प्रालिले निर्माणका लागि प्रस्तावित उक्त आयोजना निर्माणका लागि ७ अर्ब १२ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

प्रस्तावित प्रतिवेदनमा विस्तृत डिजाइन, सडक निर्माण तथा वित्तीय व्यवस्थाका साथ ६ वर्षमा निर्माण सम्पन्न हुने उल्लेख छ । आयोजनामा २ वटा ट्रान्सफर्मर रहनेछन् ।

कालिका कालीगण्डकी जलविद्युत् आयोजनाः तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो ।

यो आयोजना तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा जवलपुर (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहनेछ । कालिगण्डकी नदीमा बन्ने आयोजनाको जडित क्षमता ३८.१६ मेगावाट रहने आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजना निर्माण हुने नदिमा मासिकरुपमा औसतमा ४०६ घनमिटर प्रति सेकेण्डको बहाब हुने तथा न्युनतम मासिक बहाव ९० घनमिटर प्रति सेकेण्ड र अधिकतम मासिक बहाव १३ सय ९४ घनमिटर प्रतिसेकेण्ड रहने छ ।

आयोजनाअन्तर्गत ३ वटा ट्रान्सफर्मरहरु रहनेछन् ।

आयोजनाको प्रसारण लाइन १३२ केभीको सिंगल सर्किट रहनेछ भने यसको लम्बाई १० किमि रहने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् कालिका कालिगण्डकी सब-स्टेशनबाट न्यू भरतपुर सब-स्टेशन, चितवनमा जोडिने छ ।

नार खोला जलविद्युत् आयोजनाः मनाङ जिल्लाको चामे, नार्पाभूमि, नासों र मनाङ ङिस्याङ गाउँपालिकामा नार खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । नार खोला हाइड्रो इनर्जी प्रालिले निर्माणका लागि पेश गरेको प्रतिवेदनअनुसार उक्त क्षेत्रमा ५८.९० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको हो ।

कम्पनीले उक्त आयोजना निर्माणका लागि १० अर्ब ७५ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । वार्षिक औसत १ट.४९५ घनमिटर प्रतिसेकेण्ड बहावमा निर्माण हुने आयोजना४ वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

माथिल्लो संखुवाखोला जलविद्युत् आयोजनाः संखुवासभाको सिलीचोङ गाउँपालिका वडा–२ र ३ मा ४० मेगावाट क्षमतमामा विजुली उत्पादन गर्ने गरी माथिल्लो संखुवाखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

ह्याप्पी इनर्जी प्रालिले २ वटा ट्रान्सफर्मर हुने गरी आयोजना निर्माण गर्ने भएको छ । सुख्खा र वर्ष गरी २३५.४० गिगावाट आवर विजुली उत्पादन क्षमतामा निर्माण हुन लागिएको आयोजना सम्पन्न हुन ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले ७० प्रतिशत ऋण लिई निर्माण गर्नेछ भने बाँकी ३० प्रतिशत लगानी कम्पनीको हुने उल्लेख छ । कम्पनीले लिएको १० वर्षमा फिर्ता गर्ने जनाएको छ । त्यस्तै, कम्पनीले आगामी ४ वर्षसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

दुधकोशी–६ जलविद्युत् आयोजनाः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा–२ र ३ मा दुधकोशी–६ जलविद्युत् आयोजनाले १७१ मेगावाटको विजुली उत्पादन गर्ने भएको छ । सगरमाथा हाइड्रोपावर प्रालिले प्रस्ताव गरेको आयोजनाबाट सुख्खा र वर्षा याम गरी कुल ९८३.९३४ गिगावाट आव विद्युत उत्पादन गर्नेछ ।

कम्पनीले आयोजना निर्माण गर्न २९ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ ।

यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाः गोरखा जिल्लामा थप अर्को जलविद्युत आयोजना निर्माण हुने भएको छ । यारु हाइड्रोपावर कम्पनीले गोरखाको धार्चे गाउँपालिका वडा–१ मा यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको हो । कम्पनीले निर्माण कार्य अगाडि बढाउन इआईए पेश गरेको छ । प्रस्तावित प्रतिवेदनअनुसार कम्पनीले यारुखोलाबाट ३०.५९ मेगावाटको विजुली उत्पादन गर्नेछ ।

कम्पनीले उक्त आयोजना निर्माण गर्न ६ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले आयोजना ६ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

तातोपानी खोला जलविद्युत् आयोजनाः धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकाको वडा–४ र ५ मा हनुमान हाइड्रोपावरले तोतोपानी खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाबाट १९ मेगावाटको विजुली उत्पादन गर्ने भएको छ ।

वार्षिक औसत १२६ गिगावाट आवर विजुली उत्पादन क्षमताको आयोजना निर्माणका लागि ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लागतको अनुमान गरेको छ । कम्पनीअनुसार प्रति मेगावाट विजुली उत्पादन गर्न १८ करोड २० लाख रुपैयाँ खर्च हुने उल्लेख छ ।

माथिल्लो दूधखोला जलविद्युत् आयोजनाः मनाङ जिल्लाको नाशों गाउँपालिकाको वडा ६ र ७ मा माथिल्लो दूधखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । कार्वनलेस इनर्जी फन्ड प्रालिले उक्त आयोजनाबाट ३०.४ मेगावाटको विजुली उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले आईडीसीसहित ६ अर्ब १० करोड ६१ लाख रुपैयाँ लगानीमा आयोजना निर्माण गर्ने उल्लेख छ । प्रतिमेगावाट उत्पादनका लागि २० करोड रुपैयाँ खर्च हुने उक्त आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने जनाएको छ ।

लोवर अप्सुवा जलविद्युत् आयोजनाः संखुवासभा जिल्लाको सिलिचोङ र मकालु गाउँपालिकामा ५४ मेगावाटको विजुली उत्पादन हुने भएको छ । गोल्यान ग्रुपको लगानी रहेको मिजु इनर्जी लिमिटेडले लोवर अप्सुवा जलविद्युत आयोजनाबाट ५४ मेगावाटको विजुली उत्पादन गर्ने भएको हो ।

कुल १५.७९८ हेक्टर जग्गा क्षेत्रफलमा निर्माणको तयारी भएको आयोजनामा ८ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले ३ वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने जनाएको छ ।

छुजुङ्गखोला जलविद्युत् आयोजनाः सांग्रिला उर्जा प्रालिले छुजुङ्गखोला जलविद्युत आयोजनाले ६३ मेगावाटको विजुली उत्पादन गर्नेछ । संखुवासभाको भोटखोला गाउँपालिका वडा-२ मा ११ अर्ब ३४ करोड लगानीमा ६३ मेगावाटको विजुली उत्पादन गर्ने गरी प्रतिवेदन पेश गरेको छ ।

कम्पनीले औसत वार्षिक ३७१.८७८ गिगावाट आवर विजुली उत्पादन गर्ने जनाएको छ ।

होङ्ग खोला जलविद्युत् आयोजनाः युनियन हाइड्रो पावर लिमिटेडले होङ्गु खोला आयोजनाबाट २८.९ मेगावाटको विजुली उत्पादन गर्ने भएको छ । सोलुखुम्बुको महाकुलुङ-३ मा वार्षिक १६९.४८ गिगावाट आवर विजुली बिक्री गर्ने गरी उत्पादन गर्नेछ ।

कम्पनीले आयोजना निर्माणका लागि ५ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले ३ वर्षमा उक्त आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

अपर मस्र्याङ्दी-१ हाइड्रोपावर आयोजनाः अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले अपर मस्र्याङ्दी-१ हाइड्रोपावर आयोजना निर्माण गरी १०२ मेगावाट विजुली उत्पादन गर्ने भएको छ । कम्पनीले मस्र्याङ्दी गाउँपालिका वडा ३, ४, ५ र ६ क्षेत्रबाट विजुली उत्पादन गर्ने भएको हो ।

कम्पनीले पेश गरेको प्रतिवेदनअनुसार उक्त आयोजनाको लागत ३३ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले ४० महिनामा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


अरिष्मा मोक्तान