विराटनगरमा किन सस्तियो भारतीय रुपैयाँ ?



विराटनगर । आर्थिक मन्दीको समयमा पूर्वी नेपालमा भारतीय रुपैयाँको सहजता देखिएको छ । पछिल्लो केही समययता भारतीय रुपैयाँको सहजताले कारोबारीहरु अचम्ममा परेका छन् । नेपाली रुपैयाँभन्दा महँगो भारतीय रुपैयाँ प्रशस्त मात्रामा भित्रिएपछि विराटनगरमा सस्तोमा कारोबार हुन थालेको रुपैयाँ सटहीमा संलग्नहरुको भनाइ छ ।

केही समयदेखि यहाँका बजारहरुमा भारतीय रुपैयाँ प्रशस्त मात्रामा पाइन थालेको छ । विगत वर्षहरुमा विराटनगरमा भारु सटही गर्न राष्ट्र बैंकले तोकेको मूल्यमा थप नेपाली रकम लाग्ने गरेको थियो । त्यस्तै भारतीय रुपैयाँ आवश्यक पर्ने नेपालीले राष्ट्र बैंकमार्फत भारतीय रुपैयाँ सीमित मात्र लिन पाउँथे ।

कोरोना महामारी शुरु भएर लककडाउ भएसँगै राष्ट्र बैंक प्रदेश १ ले सर्वसाधारणकका लागि भारतीय रुपैयाँको सटही बन्द गरेको थियो । त्यो सटही बन्द अहिलेसम्म खुलाइएको छैन । तर अहिले भारतीय रुपैयाँ यहाँकको बजारमा सहज हुन थालेको छ। जसका कारण रकम सटही आवश्यक पर्नेहरुले तत्काल भारतीय रुपैयाँ साट्न खोज्दैनन् । बैंकहरुले भारतीय रुपैयाँ लिन मान्दैनन् भने व्यापारीहरु पनि नोट सटही गर्न आनाकानी गरिरहेका छन् ।

यसबाट भारतीय सीमानामा कारोबार गर्नेहरु अप्ठ्यारोमा पर्ने गरेको बताउँछन् । भारु साट्न गाह्रो हुँदा व्यापार सञ्चालनमा अप्ठ्यारो परेको विराटनगर भन्सार नाका रानीका खुद्रा व्यवसायी कल्लु साह बताउँछन् । जोगबनीबाट आउने सबै यात्रुले भारुमात्र दिंदा साट्न गाह्रो भएको रानी क्षेत्रका यातायात व्यवसायी मोहमद अमिर बताउँछन् ।

प्रदेशको राजधानी विराटनगर र आसपासका बजारमा भारतीय रुपैयाँ प्रशस्त मात्रामा उपलब्ध हुन थालेपछि सटही आवश्यक पर्नेहरु अचम्म परेका छन् । भारतीय रुपैयाँको अधिक उपलब्धताले गर्दा नेपाली रुपैयाँसँगको सटही दर स्तो भएको कारोबारीहरुको भनाइ छ ।

सस्तिएको भारु

नेपाली रुपैयाँ भारतीय रुपैयाँभन्दा सस्तो छ । नेपाली १ सय ६० रूपैयाँमा भारू एक सय सटही हुने नेपालमा राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर हो । यस्तै भारू र नेरूको सटही दरमा अरू विदेशी मुद्राको जस्तो फरक हुने सम्भावना छैन । सरकारी सटही दर अहिले पनि त्यही नै छ ।

तर बजारमा नेपाली १ सय ५० रुपैयाँमै एक सय भारू पाउन थालिएको छ । बजारमा भारूको अभाव हुँदा सटही दर बजारमा १ सय ७० रूपैयाँ पुग्छ तर अहिले भने मूल्यमा कमी आएको छ ।

सुनको व्यापार भारुको आधार

विराटनगरका पुराना व्यवसायी रामकिशोर साहका अनुसार भारू भित्रिने प्रमुख आधारहरूमध्ये सुन तस्करी पनि एउटा भएको बताउँछन् । नेपाल र भारतमा सुनको भाउमा अहिले खासै अन्तर छैन । तर अवैधरूपमा सम्पत्ति आर्जन गर्नेहरू सुन खरिद गरेर राख्ने गर्दछन् ।

अहिले नेपालका बैंकहरूले भारतीय बैंकहरूले भन्दा बढी व्याज दिने गरेका छन् । बैकहरुले मुद्दती खातामा जम्मा गरेको रकममा बढी व्याज दिने गरेका हुन् । दोहोरो नागरिकता भएका भारतीयहरूले नेपालका बैंकमा खाता खोल्ने गरेका छन् ।

भारतीय नागरिकले भने भारतीय दूतावासको स्वीकृति लिएर मात्रै नेपालमा खाता खोल्न पाइने हुँदा भारतीय नागरिकको यता त्यति धेरै खाता नरहेको एक निजी बैंकका प्रदेश १ शाखा प्रमुख बताउँछन् ।

भारु भित्रिनुमा आँखा अस्पताल कारक

भारतीय रूपैयाँ नेपाल भित्रिने अर्को प्रमुख बाटो भनेको आँखा अस्पतालहरु पनि हुन् । विराटनगरको रानी क्षेत्रमा सरकारी र निजी गरि दुईवटा आँखा अस्पताल छन् । हाजी आँखा अस्पतालका सञ्चालक तेजलाल कर्ण विराटनगरमा दैनिक सरदर एक हजारको संख्यामा भारतीयहरू आँखाको उपचार गर्न आउने दाबी गर्छन् ।

विराटनगर बजारमा पनि धेरैवटा आँखा अस्पताल छन् । ती अस्पताल कि त मारवाडी समुदायका व्यक्ति खोलेका छन् कि भारतीय नागरिकले खोलेका छन् । ती अस्पतालका सञ्चालहरुको सम्पर्क भारतसँग छ । विराटनगरको सीमा नाकामा रहेका ती अस्पतालका अधिकांश बिरामी पनि भारतीय नागरिक नै भएको अस्पतालका सञ्चालकहरु बताउँछन् ।

विराटनगर आँखा अस्पताल, विराट आँखा अस्पताल, रामलाल गोल्छा आँखा अस्पताल, तापडिया आँखा अस्पताल, हाजी आँखा अस्पताल सञ्चालनमा छन् । त्यस्तै भाष्कर आई कियर सेन्टर, सञ्जीवनी आई कियर सेन्टर, सिद्धार्थ आई कियर सेन्टरलगायत विराटनगरमा एक दर्जन जति आँखाको उपचार गर्ने संस्थाहरू छन् । ती संस्थाहरूको माध्यमबाट दैनिक लाखौं भारतीय रूपैयाँ भित्रिने गरेका छन् । आँखा उपचारमा आउने भारतीयहरुले भारुमै कारोबार गर्छन् ।

त्यस्तै नेपालमा बिहे गर्न आउने भारतीयको संख्या पनि उल्लेख्य छ । जुगल किशोर राठीकाअनुसार एउटै बिहेमा मात्रै कम्तिमा ५० लाख भारू भित्रिने गर्छ । विराटनगर र मोरङको विराट चोकमा रहेका उच्चस्तरीय होटल र पार्टी प्यालेसका अधिकांश ग्राहक भारतीय हुन् । विराटनगर र आसपासमा भारत पश्चिम बंगालको सिलिगुडीदेखि बिहारका विभिन्न शहरहरूबाट बिहे गर्न नेपाल आउने गरिएको छ । त्यसबाट पनि भारू नेपाल आउने गरेको छ ।

सीमा क्षेत्रमा मदिराको व्यापार
नेपालकको दक्षिणी सीमासँग जोडिएको बिहार सरकारले मदिरा निषेध गरेकाले त्यहाँका नागरिक मदिरा सेवनकै लागि पनि नेपाल आउने गरेका छन् । सीमा क्षेत्रका नेपाली रेष्टुरेन्टहरू भारतीय उपभोक्ताकै भरमा चलेका छन् । नेपालबाट मदिरा अवैधरूपमा बिहार जाने गर्दछ । त्यो पनि भारू आउने प्रमुख बाटो हो । नेपाल घुम्न आउनेहरूले खर्च गर्ने पैसा पनि भारूको स्रोत हो ।

त्यस्तै विराटनगरमा रत्ना र बिग होटल गरेर दुईवटा क्यासिनो सञ्चालनमा छन् । ती क्यासिनोमा खेल्न आउने भारतीयहरूबाट पनि भारू भित्रिने गरेको छ । त्यसका अलावा नेपालबाट भारततर्फ हुने गाँजा तस्करी र अवैध हुण्डीमार्फत पनि भारतीय रुपैयाँ भित्रिएको हुन सक्ने व्यवसायीहरुको अनुमान छ ।


क्लिकमान्डु