अवधि नपुग्दै बीचमै पोलिसी रोक्ने बीमित बढे, ६ महिनामा साढे ४३ हजार बढी बीमालेख सरेण्डर



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरका ८१ हजार ८६० वटा बीमालेख समर्पण (त्याग) भएका थिए । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी त्याग भएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पोलिसी त्याग गर्नेको संख्या २९.२६ प्रतिशतले बढेको थियो । यस्तै, समर्पण मूल्य २३.२७ प्रतिशतले धेरै हुन आउथ्यो ।

जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरुले निश्चित अवधिको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढ्दो क्रममा रहेको देखिएको छ । निश्चित अवधिका लागि खरिद गरिएको पोलिसीलाई परिपक्व अवधिसम्म निरन्तरता नदिने बीमितको संख्या बढ्दै गएको हो ।

चालु आर्थिक वर्षको ६ महिना अर्थात दोस्रो त्रैमासको अवधिमा मात्रै ४३ हजार ७१५ जना बीमितले आफ्नो पोलिसी त्याग गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आवको पुस मसान्तसम्मको तथ्यांकहरुअनुसार ६ अर्ब ४४ करोड ४९ लाख ९२ हजजार रुपैयाँ बराबरका पोलिसी त्याग भएका हुन् ।

जुन कम्पनीहले गरेको नयाँ व्यवसायको ४५.४६ प्रतिशत हुन आउँछ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुले १४ अर्ब १७ करोड ७९ लाख २३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यसरी हेर्दा कम्पनीहरुले गर्ने नयाँ व्यवसायसँगै पोलिसी सरेण्डरको संख्या पनि बढ्दै गएको देखिन्छ ।

चालु आवको साउन महिनामा कम्पनीहरुमा १ अर्ब ५१ करोड २७ लाख रुपैयाँका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए । भदौ र असोज महिनामा पोलिसी त्याग्नेको संख्या घटेको थियो । भदौमा आईपुग्दा उक्त संख्या ४.३९ प्रतिशतले घटेर ८ हजार ५२ वटामा झरेको थियो ।

भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँका पोलिसी त्याग भएको प्राधिकरणको तथ्यांक छ । भदौको तुलनामा असोजमा बीमालेख त्याग्नेको संख्या २४.७० प्रतिशतले घटेको थियो । असोज महिनामा ७७ करोड ३२ लाख रुपैयाँका ६ हजार ६३ वटा बीमालेख त्याग भएका थिए ।

यस्तै, भदौ र असोज महिनामा निरन्तर घटेको पोलिसी सरेण्डरको संख्या कात्तिकमा आईपुग्दा ११.२७ प्रतिशतले बढेर ६ हजार ७४६ पुगेको थियो । कात्तिक महिनामा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँका पोलिसी त्याग भएका थिए ।

कात्तिकको तुलनामा मंसिरमा पोलिसी सरेण्डरको संख्या १३.४० प्रतिशतले बढेको थियो । मंसिर महिनामा १ अर्ब १ करोड ६२ लाख रुपैयाँका ७ हजार ६५० वटा पोलिसी त्याग भएका थिए । तर, पुस महिनामा भने पोलिसी सरेण्डर र पोलिसी रकम दुवै घटेको छ ।

मंसिर महिनाको तुलनामा पुसमा पोलिसी सरेण्डरको संख्या ११.३५ प्रतिशत र सरेण्डर रकम १३.९६ प्रतिशतले घटेको हो । पुस महिनामा ६७ करोड ८२ लाख रुपैयाँका ६ हजार ७८२ वटा बीमालेख त्याग भएका छन् ।

गत आवको पुस महिनाको तुलनामा पोलिसी त्याग्नेको संख्या ०.३६ प्रतिशत हो । यस्तै, सरेण्डर रकम भने ३१.९७ प्रतिशतले बढेको हो । गत आवको पुस महिनामा कम्पनीहरुमा ६६ लाख २५ हजार रुपैयाँका ६ हजार ७५८ वटा पोलिसी त्याग भएका थिए ।

नेपाल लाइफका १६ हजार पोलिसी त्याग, कुन कम्पनीको कति ?

प्राधिकरणकाअनुसार ६ महिनाको अवधिमा नेपाल लाइफका बीमितले धेरै पोलिसी त्याग गरेका छन् । यस अवधिमा कम्पनीबाट २ अर्ब ३९ करोड ९३ लाख रुपैयाँका १६ हजार ९० वटा बीमालेख त्याग भएका छन् ।

जुन कुल पोलिसी संख्याको ३६.८१ प्रतिशत र रकमको ३७.१४ प्रतिशत हुन आउँछ । लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी नेपाल) बाट एक अर्ब ३९ करोड ९३ लाख रुपैयाँ बराबरका ५ हजार १०५ वटा बीमा पोलिसी त्याग भएका छन् ।

जुन कुल समर्पण संख्याको ११.६८ प्रतिशत र समर्पण मूल्यको २१.७१ प्रतिशत हो । यस्तै, राष्ट्रिय बीमा संस्थानमा ४१ करोड १४ लाख रुपैयाँ बराबरका ४ हजार ७४७ वटा बीमालेख सरेण्डर भएका छन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफबाट २ करोड २१ लाख रुपैयाँ बराबरका १५८ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.३६ प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.३४ प्रतिशत मात्रै हो ।

बीमितहरुले एशियन लाइफबाट ४ हजार ३७० वटा, नेशनल लाइफबाट ४ हजार २१८ वटा, मेट लाइफबाट १ हजार ९४४ वटा, प्राइम लाइफबाट १ हजार ६७५ वटा र सूर्या लाइफबाट १ हजार २५२ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, आइएमई लाइफका ३१७ वटा पोलिसी त्याग भएका छन् । यूनियन लाइफबाट २०८, ज्योति लाइफका ३८३ वटा, सन नेपाल लाइफका १ २४६ वटा, रिलायन्स लाइफका २४६ वटा, रिलायबल नेपाल लाइफका ६२४ वटा पोलिसी त्याग भएको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, सिटिजन लाइफका ३६९ वटा, सानिमा लाइफका १६६ वटा र प्रभु लाइफका २२० वटा बीमालेख त्याग भएका छन् । यस्तै, पुस ७ गतेदेखि एकीकृत करोबार गरेको सूर्यज्योति लाइफबाट ४० लाख रुपैयाँ बराबरका २३ वटा बीमालेख त्याग भएका छन् ।

बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक पर्नु हो । व्यक्तिले आफ्नो आयको पूरै रकम बीमामा राख्न सक्दैन । बीमालाई कति रकम छुट्याउन सकिन्छ, सो अनुसारको बीमालेख खरिद गर्नुपर्दछ । तर, कहिले काँही आर्थिक संकट पर्दा बीमितले आफूले खरिद गरेको पोलिसीलाई सरेण्डर गर्ने बीमकहरु बताउँछन् । आफ्नो आयलाई आधार मानेर बीमालेख खरिद गर्दा बीमितले आफ्नो पोलिसीलाई निरन्तरता दिन सक्ने उनीहरुको भनाइ छ ।

जीवन बीमक संघका पूर्व अध्यक्ष निर्मल काजी श्रेष्ठ बीमा किन्दा आफुलाई सुहाँउदो अर्थात आर्थिक अवश्थाले थेग्ने खालको किन्नु पर्ने बताउँछन् । बीमितलाई जुन बीमा योजना सुहाँउदो हुन्छ त्यो पोलिसी किन्नु पर्ने उनी बताउँछन् ।

‘बीमा गर्नुपूर्व बीमितले आफुलाई सुहाँउदो पोलिसी किन्नु पर्छ,’ मेट लाइफका सीइओ समेत रहेका श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘बीमितलाई जुन पोलिसी सुहाँउछ त्यही खरिद गर्नु राम्रो हुन्छ, जसले गर्दा उक्त पोलिसी लङटर्मसम्म चलिरहन्छ।’

कम्पनीहरूले पनि आवश्कताअनुसारको बीमा योजना बिक्री गर्ने गर्दा त्यस्ता पोलिसी बिचमै बन्द नहुने उनको भनाइ छ । ‘जसलाई जुन प्रडक्ट खाँचो छ त्यो प्रडक्ट सेल हुनुपर्छ,’ श्रेष्ठले थपे,‘ग्राहकहरुले पनि यो मेरो निड हो भनेर खरिद गर्नुपर्छ।’

सरेण्डर गर्ने बीमितको संख्या बढ्दै गएपछि प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् ।

उक्त व्यवस्था हुनु अघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न सक्थे । सरेण्डर गर्नेको संख्या बढ्दै गएपछि समितिले नयाँ व्यवस्था लागू गरेको थियो ।

अवधि बढाएपछि पोलिसी त्याग्ने क्रम रोकिने समितिको विश्वास थियो । तर, जीवन बीमा कम्पनीहरुमा बीमालेख सरेण्डर रोक्ने समितिको प्रयास भने असफल बन्दै गएको छ । कडाई गरेपनि कम्पनीहरुमा पोलिसी त्याग्ने क्रममा सुधार भने आउन सकेको छैन ।

बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरिएको छ । बीमितलाई बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने व्यवस्था छ  ।


बिजया बास्कोटा