अल्मलिएको बीमा प्राधिकरणलाई बीमा अभिकर्ता इजाजत पत्रका बारेमा सुझाव



निर्देशनहरु प्रिन्ट गरेर थुपारेको भए सगरमाथा बन्थ्यो होला । बालुवा हुने भए कयौ संरचना बन्न सक्थे । निर्देशनको लक्ष, त्यसको कार्यान्वयन र अन्तिम परिणाम के आउला भन्ने सम्मको कार्ययोजना नबनाइकन दिइएका निर्देशन बालुवामा पानि हुन्छन् । न त निर्देशन दिनेले परिणाम पाउँछ, न निर्देशन पालना गर्नेले बाटो वा भेउ पाउँछ ।

समयको बर्वाद बाहेक केही पनि हुन्न । नेपाल बीमा प्राधिकरणमा बीमा अभिकर्ताका बारेमा यस्तै बालुवामा पानि हुने प्रकारका बीमा अभिकर्ता सम्बन्धी निर्देशनको चाङ्घ देख्न र सुन्न पाइन्छ ।

बीमा प्राधिकरणका अध्यक्षले कुनै कार्यक्रममा भनेका थिए ‘बुझेको र बीमा गराउन सक्नेलाई मात्र बीमा अभिकर्ताको इजाजत पत्र दिइने छ ।’ तर, कानुनले तोकि सकेपछि शैक्षिक योग्यता पुगेको र बीमा प्राधिकरणले तोकेको परीक्षा पास गर्ने जो कोही बीमा अभिकर्ताको इजाजत प्राप्त गर्न योग्य हुन्छ ।

परीक्षा प्रणालीमा कसैको अनुहार र अनुभव हेरेर उसको बुझाईको मूल्यांकन गर्न सकिँदैन । बुझेको व्यक्तिको मूल्यांकन गर्ने एउटै मात्र आधार भनेको शैक्षिक सामाग्री र लिइने परीक्षा प्रणाली हुन् ।

बीमा प्राधिकरणले अभिकर्ताको शिक्षा र उसको योग्यताका लागि बजारको आबश्यकता अनुसारका सामाग्रिको निर्माण अहिलेसम्म गर्न सकेको छैन ।

बीमाका अभ्यास, विद्य्यमान कानुन, बजारको चरित्र, र अनुभवहरु समेटेर काल्पनिक पात्र भएका वास्तविक घटना सहितका उदाहरणसहितको पाठ्य सामाग्रि निर्माण गर्न आवश्यक छ ।

जसले अभिकर्ता र सम्भावित अभिकर्तालाई बीमा बजार बारेमा सिक्न र बुझ्न सिकाउँछ । तर, दुर्भाग्य अहिले सम्म त्यस्तो पाठ्य सामाग्रीको तयार नगरेर प्राधिकरण निर्देशनको बर्षा गराइ रहेको छ । अहिलेसम्म बीमा कम्पनीले दिएको तालिमका आधारमा बीमा प्राधिकरणले अभिकर्ताको इजाजत पत्र दिँदै आएको छ । कम्पनीले दिने एक दिने वा सात दिने तालिमले मात्र बीमा अभिकर्तालाई चाहिने आवश्यक ज्ञानको आवश्यकतालाई पुरा गर्न सक्दैन ।

बीमा प्राधिकरणले पछिल्लो समय अभिकर्ताको इजाजत पत्र सम्बन्धी व्यवस्थामा केही परिवर्तन गर्न खोजेको छ । यसमा उसका केही कदमहरु सहि छन् । तर, पनि ऊ अलमलिएको देखिन्छ । बीमा अभिकर्ताको इजाजत पत्रलाई व्यवस्थित गर्न केही प्रक्रिया अपनाउन सकिन्छ ।

बीमा अभिकर्ताको परीक्षा

बीमा अभिकर्ताले दिने परीक्षाका बारेमा नै बीमा प्राधिकरण अन्योलमा देखिन्छ । प्राधिकरणले अनलाईन परीक्षा संचालन गर्ने कुरा गरेको छ । तर, अहिले सम्म ऊ सँग अनलाइन परीक्षाको प्रविधि तयार छैन ।

अनलाइन परीक्षाले दुर दराजमा बसेर पनि बीमा अभिकर्ताको काम गर्न चाहना राख्नेहरुलाइ समेट्न सक्छ । तर, यसमा प्राविधिक सीमा (कठिनाई) हरु पनि छन् ।

यसैले प्राधिकरणले तत्काल अनलाईन नभई व्यक्ति स्वंय उपस्थित भएर प्राधिकरणले तयार पारेका व्यवहारिक प्रश्नहरुको आधारमा जाँच दिने व्यवस्था गर्नुपर्छ । यो बढी व्यवहारिक र पारदर्शि हुन्छ । बीमा अभिकर्ताको इजाजत पत्र सम्बन्धी परीक्षाको अधिकार बीमा कम्पनीलाई दिइनु हुदैन । यसले स्वार्थ बाझिने काम गर्छ र अहिलेसम्म अभिकर्ताको लाइसेन्सका लागि जुन काम भइरहेको छ, त्यो व्यवहारिक र विश्वासनिय छैन ।

प्राधिकरणले उसको आफ्नै कार्यालयमा स्वंय व्यक्ति उपस्थित भएर अभिकर्ताको जाँच दिन सक्ने तालिका प्रकासन गर्नुपर्र्छ । उक्त तालिका अनुसार अग्रिम दर्ता गराएर योग्यता पुगेको इच्छुक जो कोहि व्यक्ति प्राधिकरणको कार्यालयमा गइ परीक्षा दिन सक्छ । परीक्षाको समय बुक गर्न र पैसा तिर्नका लागि भने अनलाइन दर्ताको व्यवस्था गर्न सकिन्छ ।

स्वयं उपस्थित भएर दिइने परीक्षाले गोपनियता र पारदर्शिता कायम हुन सक्छ । परीक्षापछि पास र फेलको नतिजा प्राधिकरणले सम्बन्धित व्यक्तिलाई दिने छ । त्यसपछि पास भएको व्यक्ति कुनै पनि बीमा कम्पनीमा गएर सम्झौता गरी अभिकर्ताको काम गर्न सक्छ ।

सबै प्रदेशमा अभिकर्ताको जाँचलाई सहज बनाउन प्राधिकरणले प्रादेशिक कार्यालयबाट पनि व्यक्ति स्वयं उपस्थित भएर परीक्षा लिन सक्छ जसका लागि एउटै पाठ्य सामाग्री र एउटै प्रश्नपत्रको व्यवस्था गरी एकरुपता कायम गर्नु पर्ने हुन्छ । तर, प्राधिकरणले हरेक दिन वा हप्ता बीमा कम्पनी वा तिनका शाखालाई नयाँ अभिकर्ताको तालिमको तालिका माग्ने र नदिए कार्वाहि गर्छु भन्ने धम्की दिने जस्ता विवेकहिन पत्र दिन छाड्नुपर्छ ।

बीमा अभिकर्ता बढाउने, व्यवसाय विस्तार गर्ने काम बीमा कम्पनीको हो । अभिकर्ताको गुणस्तरीयता र बीमा बजारको विश्वासनियता कायम गर्न प्राधिकरणले ध्यान दिने हो ।

बीमा अभिकर्ताको गुणस्तरियता बृद्धि गर्न दुई चरणको जाँच पनि लिन सकिन्छ । जस्तो निश्चित कलेजमा बीमा प्राधिकरणले तोकेको बीमा सम्बन्धी कोर्ष गरी त्यहाँको परीक्षा पास गर्नेले मात्र बीमा प्राधिकरणले लिने जाँचमा सहभागि हुन पाउने । यो गर्न सकिए प्राधिकरणका अध्यक्षले भने झै बुझेका व्यक्तिले बीमा अभिकर्ताको लाइसेन्स पाउने छन् ।

परीक्षा शुल्क
बीमा प्राधिकरणले बीमा अभिकर्ताको जाँच स्वयं व्यक्ति उपस्थित गराएर मात्रै लिनका लागि परीक्षा शुल्क तोक्न सक्छ । जसले परीक्षा संचालनको लागतलाई बेहोर्न सहयोग पुगोस् । यो शुल्क बीमाको इजाजत पत्र शुल्क र नविकरण शुल्कभन्दा अलग्गै हुने छ ।

पाठ्य सामाग्री
बीमा अभिकर्ताको इजाजत पत्रलाई व्यवस्थित गर्न पाठ्य सामाग्रीमा एकरुपता र स्तरिकरण कायम गर्न आवश्यक छ । उदाहरणका लागि हरेक बीमा कम्पनीले बीमा अभिकर्ताका लागि दिने तालिममा फरक अर्थ लाग्ने प्रकृतिका सामाग्रिको प्रयोग हुनु हुँदैन । उनले तालिम दिने सामाग्री र ग्राहकलाई देखाउने उदाहरणहरु बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त हुनुपर्छ ।

प्राधिकरणले कानुन र निर्देशनको चाँङ मात्र निर्माण गर्नु हुन्न । उसले सैद्दान्तिक र व्यवहारीक उदाहरणसहितका पाठ्य सामाग्रि पनि निमार्ण गर्नुपर्छ । विदेशी पाठ्य सामाग्रीले सिद्दान्तको कुरा बडी गरे पनि स्थानीयस्तरको बजार, व्यवहार र कानुनको कुरा गर्दैन ।

अभिकर्ताको इजाजतपत्र लिन इच्छुक व्यक्तिले प्राधिकरणले तयार पारेका पाठ्य सामाग्री किनेर पढ्ने व्यवस्था गरिनु पर्छ । यो पाठ्यक्रमको अध्यावधिक गर्ने सहितको सम्पुर्ण अधिकार तत्काल बीमा प्राधिकरणमा राखिनु पर्छ ।

परीक्षार्थी
बीमा अभिकर्ताको परीक्षा दिनका लागि दुई प्रकारका परीक्षार्थी हुन सक्छन् । पहिलो बीमा कम्पनीले तालिम दिएका र पास गरि सकेपछि सोहि बीमा कम्पनीमा काम गर्ने सम्झौता गरेका र दोस्रो कुनैपनि कम्पनीसँग त्यस प्रकारको सम्झौता नगरेका र पास भएपछि चाहेको कम्पनीमा आवद्ध भएर काम गर्ने मनस्थिति बनाएका छन् ।

यसरी लिइने परीक्षाले हरेक व्यक्तिलाई स्वतन्त्र रुपले काम गर्ने वातावरण पनि दिनेछ । अभिकर्ताको परीक्षा पास भएको एउटा निश्चित समयभित्र कुनै न कुनै कम्पनीमा आवद्ध भएर काम सुरु गरेको हुनु पर्ने समय सीमा पनि प्राधिकरणले तोक्नु पर्छ । जस्तो पास भएको दुइ बर्षभित्र काम सुरु गरेको हुनु पर्ने अन्यथा लाइसेन्सका लागि पुन जाँच दिनै पर्ने व्यवस्था गरिनु पर्छ ।

इजाजत पत्र कस्ले पाउने
बीमा अभिकर्ताको इजाजत पत्र जो कोहिले पाउनु हुँदैन । यो पैसा, सम्पत्ति शुद्धीकरण तथा मानिसका जीवनसँग प्रत्यक्ष जोडिएको विषय पनि हो । जस्तो व्यक्तिगत ज्ञानका लागि बीमा अभिकर्ताको पाठ्य सामाग्री जोकोहीले पढ्न र जाँच दिन सक्छ । तर, लाइसेन्स पाउने कुरामा बीमा प्राधिकरण सचेत हुनुपर्छ ।

बीमा प्राधिकरणले लाइसेन्स वितरणका बारेमा केही मापदण्ड तोकेको छ । तर, ती पर्याप्त छैनन् । जसमा केही थप्न आवश्यक हुन्छ जस्तो प्रहरी, सेना, ससस्त्र प्रहरी, मन्दिरका पुजारीजस्ता व्यक्तिलाई लाइसेन्स दिइनु हुँदैन जस्ले आफ्नो शक्तिको दुरुपयोग गरि व्यक्तिमाथि व्यवसाय गर्ने सम्भावना रहन्छ । जस्तो क्यानडामा प्रहरी सेवामा कार्यरत व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स दिइँदैन ।

यस्तै लासेन्सको आवेदनसँगै प्राधिकरणले आवेदकसँग अनिवार्य प्रहरी प्रतिवेदन माग गर्नुपर्ने हुन्छ । हत्या हिंशा, मानव बेचबिखन, चोरी डकैती, अपहरण, सार्वजनिक सम्पत्तिको दुरुपयोग आदि गरेका व्यक्तिले जीवन बिमाको लाइसेन्स पाउनु हुँदैन । यस्तै कालोसुचिमा परेको र टाट पल्टेको व्यक्तिले पनि लाइसेन्स पाउनु हुँदैन । यसका लागि लाइसेन्सको आवेदनसँगै कालो सूचिमा परेको वा नपरेको बिबरण माग गरिनु पर्छ । यो प्रकृया लाइसेन्स लिनेका लागि केही खर्चिलो हुन सक्छ । तर, यसले यो बजारमा बास्तवमै काम गर्न इच्छुक र विश्वासिला व्यक्तिको प्रबेस गराउँछ ।

लाइसेन्स प्रक्रिया
अभिकर्ताको लाइसेन्स लिन चाहनेले बीमा प्राधिकरणले लिएको जाँचमा पास भइसकेपछि कुनै एक बीमा कम्पनीको सिफारिसमा मात्र उक्त व्यक्तिलाई बीमा अभिकर्ताको लासेन्स र बीमाका लागि काम गर्ने कोड प्रदान गर्नुपर्छ । जस्तो बेनुपले प्राधिकरणले लिएको जीवन बीमाको जाँच पास गरे र त्यसको नतिजा उनको इमेलमा प्राप्त भयो । अब उनी देउराली जीवन बीमा कम्पनीसँग आवद्ध भएर बीमा अभिकर्ताको काम गर्न चाहन्छन् । उनले परीक्षा पास गरेको विवरणसहित देउराली जीवन बीमा कम्पनीसँग लाइसेन्सका लागि स्पन्सर गर्न अनुरोध गर्छन् ।

देउराली जीवन बीमा कम्पनीले बेनुपको आवश्यक कागजातसहित सम्पूर्ण विवरण बीमा प्राधिकरणमा पठाउनेछ । उनी अन्य कुनै कम्पनीमा आवद्ध भए नभएको, प्रहरी प्रतिवेदन र कालो सूचि जस्ता कुराको यकिन गरी प्रकृया पुर्याएर उनलाई प्राधिकरणले बीमा अभिकर्ताको काम गर्नका लागि स्वीकृती दिनेछ ।

प्राधिकरणबाट स्वीकृती दिइसकेपछि उनले कम्पनीबाट सफ्टवयर प्राप्त गरी काम गर्न पाउने छन् । यसपछि बेनुप जस्ता अन्य अभिकर्ताको क्षमता बिकासका लागि कम्पनीले थप तालिम दिन सक्ने छ ।

निरन्तर शिक्षा
बीमा वा वित्तीय क्षेत्रमा हरेक दिन जसो नया बस्तु तथा सेवाको बिकास र विस्तार भइरहेको हुन्छ । यस्तै कानुनी परिवर्तन पनि तीव्ररुपमा भएको पाइन्छ । यसैले बीमा बजार, कानुन र बस्तु तथा सेवाका बारेमा निरन्तर जानकार रहनु बीमा अभिकर्ताको दायित्वभित्र पर्छ । यसले मात्र बाजारमा विज्ञता हासिल गरेका बीमा अभिकर्ताको आवश्यकताको पुर्ति गर्न सक्छ ।

यसैले बीमाको इजाजत पत्र नविकरण गर्नुअघि उसले लिनुपर्ने निरन्तर शिक्षाको अनिवार्य व्यवस्था गरिनुपर्छ । जस्तो उसले बीमा प्राधिकरणले संचालन गरेका तालिम वा अन्य विदेशी वा स्वदेशी संस्थाले बिमाका बारेमा दिएका तालिम, बीमा सम्बन्धी कुनै कोर्ष वा बीमा प्राधिकरणले तयार पारेका अनलाइन कोर्स गरेको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिनु पर्छ । निरन्तर शिक्षाको व्यवस्था बीमा प्राधिकरणका कर्मचारी स्वयंममा पनि लागु गरिनुपर्छ ।

यस्तै बीमा प्राधिकरणका संचालक तथा अध्यक्षले नियुक्त भएपछि गर्नै पर्ने कोर्ष र दिनै पर्ने जाँचको व्यवस्था हुन आवश्यक छ । जस्तो बीमा सम्बन्धि विद्यमान कानुनी व्यवस्था, सम्पत्ति शुद्धीकरण, बीमा आचारसंहिता आदि ।

(भट्टराई त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर, क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट, सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स र क्यानडा बाटै जीवन बीमाका बारेमा जीवन बीमाको अभिकर्ता लाइसेन्सिङ कोर्ष समेत गरेका छन् । उनले भर्खरै जीवन बीमा किताव पनि प्रकाशित गरेका छन् ।)


रविन्द्र भट्टराई