हवाई दुर्घटना रोक्न नयाँ सर्कुलरको तयारी: पाइलटलाई कडाइ, १ हजार फिट तल उड्न नमिल्ने



काठमाडौं । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा सम्बन्धी नयाँ सर्कुलर जारी गर्ने तयारी गरेको छ । आगामी फेब्रुअरी (समर सेड्युल) बाट प्राधिकरणले नयाँ नियम लागू गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सहमति दिएको नयाँ नियमका विषयमा आज (मंगलबार) प्राधिकरण र वायुसेवा कम्पनीबीच छलफल हुँदैछ ।

‘आन्तरिक रुपमा प्राधिकरणले नयाँ नियममा सहमति गरेको छ,’प्राधिकरणका एक अधिकारीले भने,‘आज वायुसेवा कम्पनीसँगको छलफलमा केही नयाँ विषय आयो भने त्यसलाई सम्बोधन गर्ने गरी सर्कुलर जारी गर्ने तयारीमा हामी छौं ।’

महानिर्देशक अधिकारीले सोमबार पारित गरेको सर्कुलर स्रोतले क्लिकमाण्डूलाई उपलब्ध गराएको छ । जस अनुसार प्राधिकरणले पाइलटलाई दैनिक ८ अवतरण वा ८ घण्टाभन्दा बढी समय उडान/अवतरण गर्न नदिने भएको छ । हाल पाइलटले दैनिक १० अवतरण वा १० घण्टासम्म उडान अवतरण सम्बन्धी काम गर्दै आएका छन् ।

त्यसैगरी प्राधिकरणले आईएफआर (इन्सट्रुमेन्ट फ्लाइट रुल) सुविधा भएका विमानस्थलमा भीएफआर (भिजुवल फ्लाइट रुल) अनुसार उडान गर्न पनि रोक लगाउने तयारी गरेको छ ।

पाइलटले आँखाले आकास हेर्दै गर्ने उडानलाई भीएफआर भनिन्छ । त्यसैगरी विमानभित्र भएको मनिटरमा विभिन्न यन्त्रले उपलब्ध गराउने तथ्यांकका आधारमा गरिने उडानलाई आईएफआर भनिन्छ ।

हवाई सुरक्षाका हिसाबले भीएफआरभन्दा आईएफआर उडान बढी सुरक्षित हुने भएकाले आईएफआर सुविधा भएका विमानस्थलमा भीएफआर उडान/अवतरण नगराउने प्राधिकरणको योजना छ ।

हाल चन्द्रगढी, विराटनगर, काठमाडौं, नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थलमा आईएफआर उडान गर्न मिल्ने सुविधा छ । पोखरा विमानस्थलमा अझै आईएफआर प्रविधि जडान गर्न बाँकी छ ।

प्राधिकरणले आईएफआर उडान बाध्यकारी नबनाउँदा प्राय वायु सेवा कम्पनीले भीएफआर उडान गर्दै आएका थिए ।

आगामी समर सेड्युअलबाट लागू हुने गरी प्राधिकरणले आईएफआर सुविधा भएका विमानस्थलबाट भीएफआर उडान नगर्ने तयारी गरेको छ ।

प्राधिकरणले भीएफआर उडान पनि निश्चित नियन्त्रण सीमाभित्र रहने सि एयरस्पेशमार्फत् गर्नु पर्ने बाध्यकारी व्यवस्था गर्न लागेको हो ।

हाल प्राय कम्पनीले पूर्वनिर्धारण नगरिएको र निश्चित नियन्त्रण नरहेको जी एयरस्पेशमा उडान गर्ने गरेका छन् । जहाँ पाइलटको जिम्मेवारी धेरै हुन्छ । तर, सी एयर स्पेश नियन्त्रणभित्र हुने हुँदा उडान गर्ने रुट निश्चित हुने गर्छ। र, एटीसी ( एयर ट्रफिक कन्टोलरको ) भुमिका धेरै हुन्छ ।

आकासमा आइएफआर उडान गर्ने विमानका लागी हवाई मार्ग निश्चित गर्ने र एक विमानस्थलबाट अर्का विमानस्थलमा विमान पुग्दा सहजिकरण गर्ने लगायतका जिम्मेवारी एटिसीको हुन्छ ।

पाइलटलाई सहज हाेस् भनेर सम्भव भएका ठाउँमा प्राधिकरणले जि एयर स्पेशभन्दा सि एयरस्पेशलाई प्रवर्धन गर्न चाहेको एक अधिकारी बताउँछन् । यस्तै, प्राधिकरणले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनु पर्ने नियम बाध्यकारी बनाउन खोजेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईआको) को मापदण्डअनुसार पनि आकासमा उडिरहेको विमान जमिनको सतहबाट ५०० फिट माथि हुनु पर्छ ।

हाल, स्टल रुटमा उडान गर्दा जमिनको तहबाट कति माथि हुनु पर्ने भन्ने नेपालमा प्रष्ट व्यवस्था थिएन ।

प्राधिकरणले ट्रकं अर्थात् सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तिमा १ हजार फिट माथि हुनु पर्ने व्यवस्था गरिएको छ ।

विगतमा ट्रक रुटमा उडान गर्दा विमान ५०० फिट माथि गए हुन्थ्यो ।

गत माघ १ गते यती एयरलाइन्सको विमान जमिनबाट करिब ६०० फिट माथि उडान गर्दा सन्तुलन गुमाएर स्टल (ढुंगा जस्तै गरी खसेको) भएको आशंकामा प्राधिकरणले जमिनको सतहबाट कति उडान गर्नु पर्ने नियम बनाउन लागेको हो ।

यस्तै, प्राधिकरणले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नु पर्ने व्यवस्था गर्न खोजेको छ ।

प्राधिकरणका एक पूर्व महानिर्देशक नयाँ नयाँ नियम लागू गर्नुभन्दा विगतमा भएका नियमको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउँछन् ।

‘अहिले उडान सुरक्षाको विषयमा प्रश्न उठेपछि प्राधिकरणले काम गरेको देखाउन नयाँ सर्कुलर जारी गर्न खोजेको हुनु पर्छ,’ ती अधिकारी भन्छन्,‘अहिले जारी गर्न खोजिएका नियम विगतमा पनि थिए । नियम प्रभावकारी कार्यान्वयन नहुनु हाम्रो समस्या हो।’


क्लिकमान्डु