पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक महिना: एउटै अन्तर्राष्ट्रिय उडान भएन, छैन एयर रुटको टुंगो



काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत गरेर निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक महिना बित्यो । तर, महिना दिन बितिसक्दा पनि विमानस्थलबाट एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए ।

विमानस्थलको उद्घाटनपश्चात् प्रधानमन्त्री प्रचण्डले यसले विकासको नयाँ ढोका खोल्ने बताएका थिए । सँगै उद्घाटन समारोहमा पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि विमानस्थल सञ्चालनका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।

तर, विमानस्थल सञ्चालनमा आएको महिना दिन पुग्दा समेत यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सरकारले विमानस्थल सञ्चालनमा आएपश्चात् अन्तर्राष्ट्रिय उडानहरु गर्ने भने पनि हालसम्म विमानस्थलबाट एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको हो ।

यतिमात्र होइन अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म एयर रुटको समेत टुंगो लागेको छैन भने कुन देशका कुन कुन विमान कम्पनीले यहाँबाट उडान भर्नेछन् भन्ने विषय पनि निश्चित भएको छैन ।

जनवरी १ (पुस १७) बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारसम्म ५४० वटा आन्तरिक उडानमार्फत् २७ हजार ६२० जना यात्रुहरुले उडान भरेको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रमराज गौतम आफूहरुले विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई विमानस्थलबाट भइरहेको क्रियाकलाप, यात्रुहरुको प्रवाह, यसले दिनसक्ने सेवा क्षेत्रलगायतका जानकारीहरु दिइरहेको बताउँछन् ।

‘अन्तर्राष्ट्रिय उडानका लागि हामीले हाम्रो पूर्वाधार तयार गरेर राखेका छौं,’ उनी भन्छन्, ‘विमान कम्पनीहरुले हाम्रो पूर्वाधारलाई मूल्यांकन गरिरहेका छन् । हामीले हाम्रोमा उडान भर्ने यात्रुहरुको तथ्यांक, यहाँको व्यापार र यहाँको कभरेज एरियाको बारेमा विमान कम्पनीहरुलाई जानकारी दिएका छौं ।’

उनकाअनुसार २३ फ्रेब्रुअरीबाट भने प्राविधिक रुपमा अन्तर्राष्ट्रिय उडान रुटका लागि विमानस्थल तयार हुनेछ । गौतम भन्छन्, ‘त्यसपछिको अवस्था हेर्दा पोखराको जुन यात्रुहरुको प्रवाह छ, त्यसको आधारमा निकट भविष्यमै अन्तर्राष्ट्रिय उडान गर्ने स्थितिमा पुग्छौं भन्ने हो ।’

तर, यसमा पनि निश्चित अवस्था भने छैन । सरकारले विमानस्थल सञ्चालनका लागि आवश्यक समन्वय गर्ने बताएको त छ । तर, यसमा हालसम्मको अवस्थामा खास प्रगति भने हुन सकेको छैन ।

त्यससँगै माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका कारण पनि विमानस्थलप्रति नैराश्यता र प्रश्नहरु उब्जिएका छन् । हालसम्म छानबिनपछिको निष्कर्ष नआएको भएपनि उक्त दुर्घटनाले पोखरा विमानस्थलबाट सवार हुने यात्रुहरुमाथि भने केही असर परेको बताउँछन् गौतम । उनी भन्छन्, ‘अस्तिको दुर्घटनाले पनि केही रुपमा असर गरेको छ । त्यो स्वभाविक कुरा हो । मानसिक रुपमा असर गरेको कुरा हो ।’

आन्तरिक यात्रुको प्रवाह उत्साहजनक रुपमा भएको देखिरहँदा अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्ने बारेमा अनिश्चित छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सफलताका लागि भारतले सहज रुपमा एयर रुट पनि दिनुपर्ने हुन्छ । तर, हालको अवस्थामा भने त्यसमा पनि खास प्रगति भएको देखिँदैन ।

पोखरा विमानस्थलका प्रमुख गौतम एयर रुटको अनुमति पाइएमा उडानको दूरी घट्ने र इन्धन खपत कम हुँदा वातावरणीय र व्यवसायिक रुपमा पनि विमान कम्पनीसमेतलाई फाइदा हुने बताउँछन् । तर, यसका लागि भारतीय पक्षबाट एयर रुट उपलब्ध हुनु महत्वपूर्ण हुन्छ । त्यसबारेमा भने अझैं पनि नागरिक उड्डयन प्राधिकरण आफैंसँग स्पष्ट जवाफ छैन ।

‘एयर रुट लिने र अन्तर्राष्ट्रिय उडानको स्लट लिएर उडान भर्ने भनेको फरक फरक कुरा हो । एयर रुटकै कारणले गर्दा पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदैन भन्ने पटक्कै होइन्,’ पोखरा विमानस्थल प्रमुख गौतम भन्छन्, ‘एयर रुट सहज हुँदा पोखरा आउने उडानको दूरी घट्छ र दूरी घट्नु भनेको इन्धन कम खपत हुनु र समय कम लाग्नु हो । यो नहुँदा पनि अन्तर्राष्ट्रिय विमानको उडान हुन्छ ।’

गौतमकाअनुसार यात्रुको प्रवाहको आधारमा अन्तर्राष्ट्रिय विमान उडान गर्ने कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने आशा छ । आफूहरुले पोखरा पर्यटकीय रुपमा कस्तो छ, यात्रुको चाप कस्तो हुन्छ, कति प्रतिशत मानिसहरु हवाईमार्गबाट आउँछनलगायतका कुराहरुको तथ्यांक उडान कम्पनीहरुलाई उपलब्ध गराइरहेको उनी बताउँछन् ।

‘अहिले नजिकबाट कुरा गरिरहेको विमान कम्पनीहरु भनेको फ्लाई दुबईले कुरा गरिरहेको छ, उनी भन्छन्, ‘जजिरा एयरलाइन्स, कतार एयरलाइन्स, हिमालयन एयरलाइन्सले पनि कुरा गरिरहेको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋणमा बनेको पूर्वाधार हो । सरकारले विमानस्थल निर्माणका लागि चीनको एक्जिम (आयात–निर्यात) बैंकसँग २८ अर्ब ५३ करोड रुपैयाँ ऋण सम्झौता गरेको थियो । जसमध्ये २५ प्रतिशत अर्थात ७ अर्ब १३ करोड रुपैयाँ ब्याज नलाग्ने हो भने अरु बाँकी ७५ प्रतिशत ऋण अर्थात २१ अर्ब ४० करोड रुपैयाँमा २ प्रतिशतको हाराहारीमा ब्याज लाग्ने छ । विमानस्थल निर्माणका लागि भएको सम्झौतामा निर्माण हुँदाको समयसँगै ७ वर्षमा ग्रेस पिरियड सकिने भएकाले आगामी वर्षदेखि यसको ऋण तिरिनुपर्छ । जसअनुसार ग्रेस पिरियड यो वर्ष नै सकिँदै छ भने आगामी वर्षबाट सरकारले ऋण तिर्नुपर्नेछ।

तर, विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता नहुनु र आन्तरिक उडानकै भरमा मात्रै ऋण तिर्न सक्ने कुरामा पनि ढुक्क नहुनुले पोखरा विमानस्थलको भविष्य पनि अनिश्चित देखिएको छ ।

यसबारेमा भने गौतम स्वतः विमानस्थलबाट कति आम्दानी भयो भन्दा पनि विमानस्थलका कारण देशको अर्थतन्त्रमा कति योगदान भयो भन्ने आधार मान्नुपर्ने बताउँछन् । उनी घाटामा नभएर रणनैतिक रुपमा व्यापार गरिने बताउँछन् ।

‘घाटामा व्यापार गर्ने होइन्, रणनैतिक रुपमा काम गर्ने हो,’ उनी भन्छन्, ‘अहिले ५० जना यात्रु भएर हामीलाई चल्न सक्छौं भन्ने सोचेर अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले पछिलाई आफू स्थापित हुँदै जाने हो । आशा गरौं, हामीले दिएको तथ्यांक र अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले व्यापारलाई लिएर राखेको आफ्नो आशा मेल खान्छ । किनभने पोखरा विमानस्थलले धेरै क्षेत्रलाई आफूभित्र अटाएको छ । मुख्य गरि पर्यटकीय हिसाबले समुदायमा जोडिएको छ, वैदेशिक रोजगारको कुरा छ । पोखराको आफ्नै पर्यटकीय व्यवसायको कुराहरु छन् ।’


क्लिकमान्डु