यती एयरलाइन्स दुर्घटनापछि पोखराको पर्यटन समस्यामा, होटलको बुकिङ ८० प्रतिशतसम्म रद्द




काठमाडौं । माघ १ गते पोखरा विमानस्थल नजिकै यती एयरलाइन्सको एटिआर विमान दुर्घटनापछि पर्यटकीय नगरी पोखरा जाने पर्यटकको संख्या ह्वात्तै घटेको छ ।

पोखराका पर्यटन व्यवसायीका अनुसार कोरोना महामारीपछि बढेको पोखराको पर्यटकीय गतिविधि हवाई दुर्घटनाले नराम्ररी प्रभावित बनाएको छ ।

कोरोना महामारीका क्रममा आन्तरिक पर्यटकले धानेको पोखरामा विदेशी पर्यटक आउने क्रम शुरु भएको थियो । तर, ८ महिनाको अवधिमा दुईवटा हवाई दुर्घटनामा ९४ जनाको मृत्यु भएपछि पोखराको पर्यटकीय गतिविधि प्रभावित भएको हो ।

गत जेठ १५ गते मुस्ताङमा तारा एयरको दुर्घटनाले खासै प्रभावित नभएको पोखराको पर्यटन पछिल्लो दुर्घटनापछि भने निकै खराब अवस्थामा पुगको व्यवसायीहरु बताउँछन् ।

पोखरा लेकसाइडमा रहेको बरपिपल होटलका प्रबन्ध निर्देशक जितु गुरुङ प्लेन दुर्घटनापछि होटलको बुकिङ ८० प्रतिशतसम्म रद्द भएको बताउँछन् ।

‘नयाँ विमानस्थल उद्घाटनपछि पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो,’ गुरुङले भने,‘तर, विमान दुर्घटनपछि तीन/चार दिन लकडाउन जस्तो अवस्था थियो । कयौं बुकिङ रद्द भए । अहिले १५/२० प्रतिशत क्षमतामा होटल सञ्चालन भरहेको छ ।’

कास्की लेखनाथमा रहेको नेपालकै लक्जरी मध्येको एक रुपाकोट रिसोटको व्यवसाय पनि हवाई दुर्घटनाले नराम्ररी प्रभावित भएको छ ।

रुपाकोट रिसोर्टका प्रबन्ध निर्देशक पुष्प अधिकारी विमान दुर्घटनापछि ६० प्रतिशतसम्म बुकिङ रद्द भएको बताउँछन् ।

‘भारतको मेदान्त अस्पतालका टप डाक्टरहरुले ३० हजार डलरमा तीन दिनको प्याकेज बुकिङ गरेर एडभान्स रकम समेत दिइसकेका थिए,’ अधिकारीले भने,‘उहाँहरुले विमान दुर्घटनापछि पोखरा नआउने भन्नु भयो । हामीले एडभान्स रकम फिर्ता गर्नु गर्यो ।’

अधिकारी विमान दुर्घटनापछि कयौं स्वदेशी र विदेशी यात्रुले बुकिङ रद्द गरिरहेको बताउँछन् ।

‘भारतमा पोखरा विमानस्थल र नेपालको हवाई सुरक्षाको विषयमा निकै नकारात्मक सन्देश प्रवाह भएको जस्तो देखिन्छ,’अधिकारीले भने,‘पोखरा आउन भन्दै काठमाडौं पुगेका केही पर्यटक त्यतैबाट भारत गएका छन् । सरकारले भारतको बजारमा नेपालको हवाई सुरक्षाको विषयमा सकारात्मक सन्देश प्रवाह गर्न सकेन भने पोखरामा पर्यटकीय गतिविधि बढ्न समय लाग्छ ।’

सारङकोट माउन्टेन लजका प्रबन्धक पवन कार्की यती एयरको दुर्घटनापछि पोखराबाट काठमाडौं जान प्लेनमा टिकट बुकिङ गराएका केही पर्यटकहरु गाडीबाटै काठमाडौं फर्किएको बताउँछन् ।

कार्की रिसोर्टमा पछिल्लो समय आन्तरिक पर्यटक खासै नघटेपनि विदेशी पर्यटकको संख्या भने उल्लेख्य रुपमा घटेको बताउँछन् ।

अहिलेसम्म फेब्रुअरीको बुकिङ क्यान्सिल नभए पनि आगामी दिनमा पर्यटक बढ्ने भन्ने कुनै निश्चितता नभएको कार्कीको भनाइ छ ।

अधिकारी पोखरा मुग्लिन सडक खण्डको अवस्था राम्रो नभएकाले पनि पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताउँछन् ।

‘नेपालमा हरेक वर्षजस्तो विमान दुर्घटना भइरहेको छ, एयर बंगला विमान दुर्घटनापछि बंगलादेशका पर्यटक आउने क्रम घटेको छ,’अधिकारीले भने,‘गत जेठमा भएको दुर्घटनामा पनि भारतीय नागरिकको मृत्यु भएको थियो । अहिलेको दुर्घटनामा समेत भारतीय नागरिकको मृत्यु नेपालको हवाई सुरक्षाको विषयमा गम्भीर प्रश्न उठेको छ ।’

विमान दुर्घटनापछि यात्रुको मानसिकता कमजोर भएकाले पर्यटकको संख्या घटेको बरपिपल होटलका सञ्चालक गुरुङ बताउँछन् ।

‘मलाईं पनि काठमाडौं जानु पर्ने थियो, प्लेन चढ्नै डर लागेको छ,’ गुरुङले भने, ‘गाडीबाट जान बाटो राम्रो छैन । यस्तो अवस्थामा घुम्न आउने मान्छे कसरी आउँछन् ।’

पोखरा-बुटवल, बुटवल-चितवन, काठमाडौं-पोखरा सबै सेक्टरमा सडक निर्माण भइरहेकाले स्थलमार्गबाट पोखरा पुग्ने पर्यटकलाई समस्या भइरहेको व्यवसायीहरु बताउँछन् ।

होटल मात्रै होइन, पोखरा र आसपासका शाहसिक खेलसमेत प्रभावित भएका छन् ।

कुस्मा द क्लिपका प्रबन्ध निर्देशक राजु कार्की विमान दुर्घटनापछि ६० प्रतिशत व्यापार घटेको बताउँछन् ।

‘हाम्रोमा आउने धेरै गेष्टहरु विमानबाट आउने गर्छन्,’ कार्कीले भने,‘बाटो खराब भएकाले पनि बन्जी गर्न आउनेको संख्या घटेको हो ।’

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिश भट्टराई विमान दुर्घटनापछि पोखरामा प्याराग्लाइडिङ व्यवसाय ठप्प भएको बताउँछन् ।

‘नयाँ विमानस्थल सञ्चालनमा आएपछि नै प्याराग्लाइडिङ व्यवसाय घटेको थियो,’ भट्टराईले भने, ‘विमान दुर्घटनापछि भने व्यवसाय पूर्णरुपमा ठप्प भएको छ ।’

भारतीय पर्यटकमा डर

काठमाडौं स्थित एक व्यवसायीका अनुसार उनका केही साथीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन काठमाडौं आएका थिए । उनीहरुको पोखरा घुम्न जाने कार्यक्रम पनि थियो । होटल पनि बुकिङ गरिसकेका थिए ।

तर, माघ १ गते भएको हवाई दुर्घटनापछि बुकिङ रद्द गर्दै उनीहरु भारततर्फै फर्किएका छन् ।

पोखरा दुर्घटना लगत्तै भारतीय सञ्चारमाध्यममा चीनले बनाएको विमानस्थल सुरक्षित नभएकाले दुर्घटना भएको हो भन्ने जस्ता समाचार प्रशारित भएपछि भारतीय पर्यटकहरु डराएको ती व्यवसायी बताउँछन् ।

उनका अनुसार काठमाडौं आए पनि कयौं भारतीय पोखरा जान चाहेका छैनन् ।

माघ १ गते बिहान काठमाडौंबाट १०:३२ बजे पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । यती एयरलाइन्सका अनुसार काठमाडौंबाट उडेको विमान १०:५० मा अन्तिमपटक पोखरास्थित टावरसँग सम्पर्क गरेको थियो ।

टावरले विमान अवतरण गर्न अनुमति दिएको विमान केही समयमै सेती नदी खोंचमा दुर्घटना भएको थियो । दुर्घटना भएको विमानमा चालकदलका ४ जना सदस्यसहित ७२ जना यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेन्टिनी, १ जना अष्ट्रेलियन, १ जना आइरिस, १ जना फ्रान्सेली नागरिकले ज्यान गुमाएका छन्।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी विमान दुर्घटनापछि पोखराको विषयमा सकारात्मक जानकारी सम्प्रेषण गर्न सरकार सक्रिय हुनु पर्ने बताउँछन् ।

‘हवाई दुर्घटना पछि पोखरा विमानस्थलमा दैनिक उडान शुरु भइसकेको छ, केही पर्यटकीय गतिविधि शुरु भएको छ । यस्ता विषयमा निरन्तर जानकारी सम्प्रेषण गर्नु पर्छ,’ जोशीले भने,‘पोखराका विषयमा विभिन्न भिडियोहरु आएका छन् । गलत भिडियोलाई तत्काल खण्डन गर्ने संयन्त्र बनाउनु पर्छ । संघ, प्रदेश, स्थानीय सरकारले समन्वय गर्दै सकारात्मक सन्देश प्रवाह गर्न काम गर्नु पर्छ ।’

हवाई सुरक्षा र अन्य विषयमा गरेको सकारात्मक कामको निरन्तर जानकारी दिन सके केही समयपछि पोखरामा पर्यटकीय गतिविधि बढ्न सक्ने जोशीको आकलन छ ।


शरद ओझा