१८ लघुवित्त कम्पनी मर्जरको पाइपलाइनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा लघुवित्तको संख्या ७० थियो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार लघुवित्त वित्तीय संस्थाको संख्या ६४ छ । उक्त संख्या असार मसान्तसम्ममा ६५ थियो । यो संख्या अझै घट्ने देखिन्छ । किनकी, पछिल्लो समय लघुवित्त कम्पनीहरुमा मर्जरको दौडधुप नै चलेको छ ।

पछिल्लो समय १८ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका छन् ।

राष्ट्र बैंकले राष्ट्रियस्तरका लघुवित्तका लागि १० करोड रुपैयाँ र प्रादेशिकस्तरका लागि २ करोड रुपैयाँ पुँजी कायम गरेको छ । राष्ट्रियस्तरको थोक कर्जाको मात्र कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी भने ६० करोड रुपैयाँ कायम गरिएको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको संख्या धेरै भएको भन्दै मर्जरमा जान प्रोत्साहन गर्दै आएको छ ।

इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रियमा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई थप सहुलियत दिने निर्णय गरेको थियो । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ लाई संशोधन तथा परिमार्जन गर्दै एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रियामा संलग्न लघुवित्तलाई थप सहुलियतको व्यवस्था थप गरेको थियो ।

एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने र वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गरिने घोषणा गरेको थियो ।

सोही छुट पाउने हुनाले लघुवित्त कम्पनीहरुमा पनि मर्जरको दौडधुप चलेको हो ।

स्वरोजगार र समता, नेरुडे र मिर्मिरे, सामुदायिक र पीबीडब्लु, नयाँ सारथी र विजय लघुवित्त, धौलागिरी र खप्तड र नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त, डिप्रोक्स र आदर्श लघुवित्त, साना किसान र आरएमडिसी लघुवित्त, सिवाइसी र आँधिखोला लघुवित्तले मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी दुई कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा पुस १८ गते सोमबार हस्ताक्षर गरेका हुन् । हाल स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ र समता घरेलुको ३४ करोड २ लाख रुपैयाँ छ । एक बराबर एकको अनुपातमा गाभिँदा नयाँ बन्ने कम्पनीको पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

नेरुडे र मिर्मिरे लघुवित्तले पुस ११ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी लघुवित्त १:१ स्वाप रेसियो अनुपातमा गाभिन लागेका हुन् । तर, डीडीए रिपोर्टपछि भने स्वाप रेसियो अनुपात तलमाथि पनि हुन सक्ने नेरुडे लघुवित्तका कम्पनी सचिव तथा सूचना अधिकारी ऋषि प्रसाद न्यौपानेले जानकारी दिए । मर्जरपछि यी कम्पनीहरुले नेरुडे मिर्मिरे लघुवित्तको नामबाट कारोबार हुने छ । हाल नेरुडेको चुक्ता पुँजी ६० करोड रुपैयाँ र मिर्मिरेको ६५ करोड ३३ लाख रुपैयाँ छ । मर्जर पश्चात बन्ने नयाँ कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तले पुस १ मर्जरमा जाने समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् । हाल सामुदायिक लघुवित्तको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ छ ।

नयाँ सारथी र विजय लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने समझादारीको प्रारम्भिक सम्झौतापत्रमा मंसिर २६ गते हस्ताक्षर गरेका थिए । यी संस्थाहरु १:१ को अनुपातमा गाभिने भएका हुन् । नयाँ सारथीको चुक्ता पुँजी ३० करोड ३३ लाख रुपैयाँ र विजय लघुवित्तको ३२ करोड रुपैयाँ छ । मर्जरपछि नयाँ बन्ने कम्पनीको नाम विजय लघुवित्त हुनेछ ।

धौलागिरी र खप्तड लघुवित्तले मर्जरमा जाने सम्झौतापत्रमा मंसिर १८ गते गरेका थिए । हाल धौलागिरी लघुवित्तको चुक्ता पुँजी साढे १० करोड रुपैयाँ र खप्तड लघुवित्तको ४ करोड रुपैयाँ छ । मर्जरपश्चात बन्ने नयाँ कम्पनीको नाम धौलागिरी लघुवित्त हुनेछ ।

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तले मर्जरमा जाने सम्झौतापत्रमा असोज २६ गते गरेका हुन् । हाल नेशनलको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ र समिट लघुवित्तको चुक्ता पुँजी ४९ करोड रुपैयाँ छ ।

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले असोज १४ गते मर्जरमा जाने समझादारीपत्रमा हस्ताक्षर गरेका थिए । हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी एक अर्बमाथि र आदर्श लघुवित्तको २ करोड रुपैयाँ छ ।

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरमा जनो सम्झौतापत्रमा भदौ २ गते हस्ताक्षर गरेका थिए । हाल साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तको चुक्ता पुँजी एक अर्ब रुपैयाँमाथि छ ।

यी कम्पनीहरुले १००:८७ को स्वाप रेसियोमा मर्ज हुने भन्दै हस्ताक्षर गरेका थिए । यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्टपछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००:९० सम्म कायम हुन सक्ने कम्पनीहरुले बताएका छन् । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुनेछ ।

सिवाई लघुवित्त र आँधिखोला लघुवित्तले मर्जरमा जाने समझदारीपत्रमा असार २२ गते हस्ताक्षर गरेका थिए । सिवाईसी लघुवित्तको चुक्ता पुँजी करिब १३ करोड रुपैयाँ र आँधिखोला लघुवित्तको १० करोड रुपैयाँ छ ।


क्लिकमान्डु