कलेज टिफिनः अर्डर गरेर कुरेर बस्नु नपर्ने, पाकेपछि खान गए हुने



काठमाडौं । नेपाल कलेज अफ इन्फरर्मेशन टेक्टोलोजीमा अध्ययरत अर्जुन घिमिरेले दैनिक जसो क्यान्टिन तथा रेष्टुरेन्टमा खाजा खान करिब एक घण्टा समय छुट्याउनुपर्थ्यो । दैनिक खाजा अर्डरदेखि खानका लागि मात्रै करिब एक घण्टा छुट्याउनुपर्दा कक्षामा कहिलेकाहीँ ढिलासमेत हुन्थ्यो । सीमित समयमा खाजा खानुपर्ने बाध्यता हुँदा उनलाई जहिले पनि नरमाइलो लाग्थ्यो ।

खाजा खान जाँदा जहिले पनि अर्डर गरेर खाजा कहिले आउला र खाएर कक्षामा जाउँला भन्ने सधैं हतारो हुन्थ्यो । दैनिकको हतारोले समयमै कक्षा कोठामा जान नपाएको र सजिलो तरिकाले खाजा खान नपाएको उनको तीतो अनुभव छ । यस्तो समस्यालाई कसरी समाधान गर्ने भन्ने उनलाई सधैँ लागिरहन्थ्यो ।

‘म कलेजमा पढ्न आउँदा सधैँ खाजा खाने बेला समस्या हुन्थ्यो । कलेज तथा स्कुलले करिब ४० मिनेटको समय दिन्थ्यो । तर, उक्त समयमा क्यान्टिन वा रेष्टुरेन्टमा गएर खाना आउन भ्याइँदैन थियो,’ उनले भने, ‘सोही समस्याबाट अब कसरी मुक्त हुन सकिन्छ भनेर अध्ययन शुरु गर्न लागें ।’

घिमिरेलाई सधैँ लाग्थ्यो रेष्टुरेन्ट तथा क्यान्टिनमा खाना खाजा कुर्न नपर्ने सिस्टमको विकास गर्न पाए हुन्थ्यो । यसैक्रममा उनले यही समस्या समाधान गर्न खोज तथा अनुसन्धान गर्न थाले र जन्माए ‘कलेज टिफिन’ ।

अनुसन्धान गर्ने क्रममा घिमिरेसँगै जोडिए ६ जना साथी । उनीहरुलाई पनि खाजा खानमा खर्च हुने समयलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने लाग्थ्यो । तर, कलेज टिफिनको आइडिया भने घिमिरेको थियो । घिमिरेले आफूसँग जोडिन आएका ती साथीहरुलाई कलेज टिफिनको अवधारणा सुनाए । र शुरु गरे ‘कलेज टिफिन’ ।

करिब ७ महिनाको अनुसन्धानपछि एक महिनाअघि मात्रै शुरु गरेका हुन् ‘कलेज टिफिन’ । घिमिरेसँगै उनकै साथी विवेक ढकाल, आयुषा श्रेष्ठ, सरोज ढकाल, प्रिन्स सिंह, सुसन चापागाईं र सुसन अधिकारीको संयुक्त लगानीमा शुरु भएको कलेज टिफिन आजबाट सञ्चालनमा आएको छ । कलेज टिफिन सञ्चालनमा आएसँगै अबका दिनमा रेष्टुरेन्ट तथा क्यान्टिनमा बसेर खाजा खान कुर्नुपर्ने समय न्यून भएको छ ।

कलेज टिफिन विशेषगरी विद्यार्थीलाई लक्षित गर्दै निर्माण गरिएको एप हो । उक्त एपबाट आफूलाई उपयुक्त समयका लागि खाजा अर्डर गरी तोकेको समय र ठाउँमा गएर खान खान सकिने छ ।

कलेज टिफिनकै अर्का सदस्य सरोज दाहालले अबका दिनमा रेष्टुरेन्ट तथा क्यान्टिनमा खाजा कुरेर बस्नुपर्ने बाध्यता हटेको बताए । उनकाअनुसार अधिकांश विद्यार्थीहरुले खाजा खाने बेलामा अर्डर दिइ समयमा खाना पाउँदैनन् । तर, अबका दिनमा एपमार्फत् आफ्नो समय तोकेर खाजा खान सक्नेछन् ।

१९ वर्षीय घिमिरेले उक्त समस्या आफूले मात्रै नभएर हजारौं साथीहरुले भोगिरहेकोले कलेज टिफिनले समस्या समाधान गर्ने दाबी गरे ।

‘अधिकांश कलेजमा अध्ययरत विद्यार्थीहरु कि त क्यान्टिनमा खाजा खान्छन् । कि त रेष्टुरेन्ट जान्छन् । नजिककको रेष्टुरेन्टमा खाजा खान जानलाई कम्तिमा ५ मिनेट समय लाग्छ,’ उनले भने, ‘खाजा अर्डर गरेर तयार हुन कम्तिमा २० मिनेट लाग्छ । पाकेपछि खानलाई १० मिनेट लाग्छ । समग्रमा समयको हिसाब गर्दा दैनिक ४० देखि ५० मिनेट त्यही समय गइरहेको छ । त्यसैले, अबदेखि एपको प्रयोगबाट उक्त प्रकारको झन्झट हट्नेछ ।’

अहिले तत्कालका लागि कलेज टिफिन नेपाल कलेज अफ इन्फरर्मेशन टेक्टोलोजीबाट सञ्चालन शुरु गरिएको छ । जसका लागि कलेज वरिपरिका ५ वटा रेष्टुरेन्ट एपमा आबद्ध भएका छन् । उक्त एपको प्रयोगले नेपाल कलेज अफ इन्फरर्मेशन टेक्टोलोजीका विद्यार्थीहरुले तोकेको रेष्टुरेन्टमा उपयुक्त समयमा खाजा तयार हुने गरी अर्डर गर्न सक्नेछन् ।

हाललाई नेपाल कलेज अफ इन्फरर्मेशन टेक्टोलोजीबाट शुरु भएकाले आगामी दिनमा देशभरका कलेजलाई आबद्ध गरी नजिकको रेष्टुरेन्ट तथा क्यान्टिनमा खाजाको अर्डरको विस्तार गर्ने घिमिरेले बताए ।

कलेज टिफिनले कसरी काम गर्छ ?

विशेषगरी कलेजका विद्यार्थीलाई लक्षित गर्दै तयार गरिएको एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिने छ । सर्वप्रथम कलेज टिफिन प्रयोगकर्ताले एप डाउनलोड गरी रजिष्टर गनुपर्नेछ ।

रजिष्टर गरिसकेपछि एपमा आबद्ध भएका कलेजको नजिकमा रहेको रेष्टुरेन्ट तथा क्यान्टिनमा आफ्नो इच्छाअनुसार उपयुक्त समय छानी खाजा अर्डर गर्न सकिने छ ।

खाजा अर्डर गर्दा रेष्टुरेन्टसहित खानाको प्रकारको अप्सन हुन्छ । उक्त अप्सनमा क्लिक गरेपछि उक्त रेष्टरेन्टमा के–के पाइन्छ र कति समयमा पाक्छ भन्ने समयबारे जानकारी प्राप्त हुन्छ ।

एपमार्फत अर्डर गरिसकेपछि कुन समयमा खाने भन्नेबारे पनि स्पष्ट उल्लेख गर्नुपर्नेछ । समय स्पष्ट उल्लेख गरेपछि रेष्टुरेन्ट तथा क्यान्टिनले सोही अवधिमा खाजा तयार गर्नेछ । र खाजा पाकिसकेपछि रेष्टुरेन्ट तथा क्यानिटनमा तोकेको समयमै गएर खाजा खान सकिने छ ।

यदि चयन गरेको रेष्टुरेन्टमा आफूले चाहेको खाजा वा खाना पाइँदैन भने सोहीअनुसारको नोटिफिकेसेन आउनेछ । रेष्टुरेन्टमा खाजाको प्रकार उपलब्ध भएको अवस्थामा रेष्टुरेन्टले बनाउन सक्ने प्रतिक्रिया दिनेछ भने उपलब्ध नहुने अवस्थामा उपलब्ध नभएको जानकारी दिनेछ ।

त्यसैगरी, एपमार्फत् खाजा अर्डर गरिसकेपछि आफूले तोकेको खाजा पाकेको छ वा छैन, कुन अवस्थामा छ भन्नेबारे पनि पूर्व जानकारी हुनेछ । त्यसैले, एपको प्रयोगले खाजा पाकेको समयमा पुगेर सहज र व्यवस्थित तरिकाले खान सकिने छ ।


अरिष्मा मोक्तान