अर्थतन्त्र सुधारउन्मूख भएको हो ? यस्ता छन् मूख्य सूचक



काठमाडौं । आयातमा गरिएको कडाई र प्रतिवन्धका करण देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेद सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएको जनाएको छ ।

विदेशी मुद्रा संचिति बढ्यो

एक महिनाको अवधिमा विदेशी विनिमय संचिति १९ करोड डलरले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म ९ अर्ब ६३ करोड डलर रहेको विदेशी विनिमय संचिति मंसिर मसान्तमा बढेर ९ अर्ब ८२ करोड डलर पुगेको छ ।

मंसिर मसान्तसम्म विदेशी विनिमय संचिति असारको तुलनामा भने ६.३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको हो । यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकामा मंसिर मसान्तमा ३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा मंसिर मसान्तमा ७.८ प्रतिशतले बढेर ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकामा मंसिर मसान्तमा ३.८ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

२०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । मंसिर मसान्तसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७२.६ प्रतिशत र २३.० प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

रेमिट्यान्स २३ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ५ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तसम्म विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

मंसिर मसान्तसम्म खुद ट्रान्सफर २१।६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५।३ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा

मंसिर मसान्तसम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ ।

मंसिर मसान्तसमम शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति मंसिर मसान्तसम्म ३४ करोड ६८ लाखले बचतमा रहेको छ

केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्म चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता मंसिर मसान्तसम्म २९ करोड ७२ लाखले घाटामा रहेको छ ।

मंसिर मसान्तसम्म पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रहेको थियो ।

५ महिनामा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ८ अर्ब बढी

चालू आर्थिक वर्षको पाँच महिनामा सरकारले १ खर्ब ८ अर्ब घाटा ब्यहोरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मंसिर महिनासम्म सरकारले १ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी घाटा ब्यहोरेको हो ।

पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड आम्दानी गरेको छ भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ ।

आम्दानीभन्दा खर्च बढी भएपछि अर्थमन्त्रालय स्रोत व्यवस्थापनमा जुटेको देखिन्छ ।

सरकारको आयातमा कडाइ गर्ने नीति र बैंकको उच्च व्याजदरका कारण आर्थिक गतिविधि सुस्त हुँदा सरकारको लक्ष्य भन्दा निकै कम मात्रै राजस्व उठेको छ ।

यसरी राजस्व कम उठ्दा पनि सरकारले चालु खर्च भने बढाएको छ । पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ चालु खर्च (कर्मचारीको तलब र दैनिक सरकार सञ्चालनका लागि हुने खर्च) गरेको छ । यो गत वर्षको पाँच महिनाको भन्दा ११.६ प्रतिशतले बढी हो ।

तर, विकास निर्माणका काममा भने यो अवधिमा सरकारले जम्मा ३३ अर्ब ९९ करोड रुपैयाँमात्र खर्च गरेको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ४६ अर्ब ९६ करोड खर्च गरेको छ ।

पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब ३६ अर्ब ८९ करोड रुपैयाँले राजस्व संकलन गरेको छ । यो गत वर्षको भन्दा २०।७ प्रतिशतले कम हो । कर राजस्वमार्फत ३ खर्ब १ अर्ब ४६ करोड आम्दानी गरेको छ भने गैह्रकर राजस्वमार्फत् २५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

महँगी बढ्यो, तराईमा सबैभन्दा धेरै

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा महंगी बढेको छ ।

चालु आवको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.२९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.२९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७।३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मूल्य वृद्धि रहेको छ । २०७८ मंसिर महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।


क्लिकमान्डु