नेपाल लाइफ र शिखरबाहेक सबै बीमा कम्पनीलाई पुँजी बढाउन दबाब, कति थप्नुपर्छ, कसरी जुटाउँदैछन् ?



काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि निर्णय गरेको थियो ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

प्राधिकरणले कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न दिएको समय अवधि अब तीन महिना मात्रै बाँकी छ  । प्राधिकरणकाअनुसार २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गरिसक्नुपर्ने छ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुलाई ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने बाटो प्राधिकरणले खोलिदिएको थियो ।

जसअनुसार जीवन तथा निर्जीवन बीमा गरी १९ वटा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । जसमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स)ले भने एकीकृत कारोबारसमेत शुरु गरिसकेका छन् । यस्तै, सूर्या र ज्योति लाइफले समेत पुस ७ गतेदेखि एकीकृत कारोबार थालेका छन् । यी बाहेकका अन्य कम्पनीले पनि मर्जरमा जाने सैद्धान्तिक सहमति पाईसकेका छन् ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इस्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्जरमा जान लागेका हुन् ।

मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जर भाँडिएको छ । आपसमा मर्जरमा जाने सम्झौतापत्रमा असार ३२ गते हस्ताक्षर गरेका कम्पनीको मर्जर प्रक्रिया मंगलबार तोडिएको हो । कम्पनीहरुबीच स्वाप रेसियो तथा नयाँ बन्ने कम्पनीको नाम लगायतका अन्य विषयहरुमा सहमति नजुट्दा मर्जर तोेडिएको हो । प्रभु इन्स्योरेन्ससँग मर्जर तोडिए लगत्तै अजोडले यूनाइटेडसँग मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।

जीवनतर्फ नेपाल लाइफको पुँजी पुग्यो, अन्यले कसरी जुटाउँदैछन्, कति थप्नुपर्छ ?

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी प्राधिकरणले तोके बमोजिम पुगेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रहेको छ । जुन पुँजी नियामकले तोकेको न्यूनतम पुँजीभन्दा धेरै हो ।

नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफले ५ अर्ब रुपैयाँ कायम गर्न ३५ करोड ९५ लाख रुपैयाँमात्रै थप गर्नुपर्ने हुन्छ । कम्पनीले बोनस वा हकप्रद सेयर निष्काशन गरि पुँजी बढाउन सक्ने देखिन्छ।

एलआइसी नेपालले भने हकप्रद निष्काशन गरेर ५ अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएर अघिबढेको छ । एलआइसीले बीमा प्राधिकणबाट हकप्रद सेयर जारी गर्नलाई सैद्धान्तिक स्वीकृतिसमेत पाइसकेको छ । कम्पनीले ८८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित माघ ३ गते विशेष साधारणसभा समेत बोलाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

एशियन लाइफ इन्स्योरेन्सको हालको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । न्यूनतम चुक्ता पुँजी कायम गर्न कम्पनीले अब २ अर्ब ४६ करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

नयाँ बीमा ऐन, २०७९ लागू भएसंगै राष्ट्रिय बीमा संस्थान ऐन,२०२५ खारेज भएको छ । बीमा ऐन अनुसार बीमा प्राधिकरण भएको एक वर्षभित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्नुपर्ने व्यवस्था छ ।

हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रूपैयाँ रहेको छ । प्राधिकरणको निर्देशनअनुसार ५ अर्ब रुपैयाँ पुँजी कायम गर्न संस्थानले ४ अर्ब ८१ करोड ८९ लाख रूपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । संस्थान कम्पनीको रुपमा परिणत भएपछि सर्वसाधारणको लागि सेयर निष्काशन गरी पुँजी वृद्धि गर्ने योजनामा छ ।

साविकको (सूर्या लाइफ र ज्योति लाइफ) सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार थालेका छन् । मर्ज भएपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

प्रािधकरणले तोके बमोजिमको न्यूनतम चुक्ता पुँजी कायम गर्न कम्पनीले अब ४६ करोड रुपैयाँ पथप गर्नुपर्ने हुन्छ । सूर्यज्योतिले पनि नेशनलले जस्तै बोनस वा हकप्रद जारी गरी सहजरुपमा पुँजी पुर्याउन सक्नेछ ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ मर्जर प्रक्रियामा छन् । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी नियामकले तोके बमोजिम पुग्ने छ । यी कम्पनीहरुको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ नाघ्ने छ ।

यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रक्रियामा छन् ।

हाल सानिमा लाइफको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ छ । एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा असार २९ गते हस्ताक्षर गरेका थिए । कम्पनीहरु समान हैसियतमा गाभिन लागेका हुन् । मर्जर पश्चात यो कम्पनीको पुँजी ४ अर्ब १० करोड पुग्ने छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले एक बराबर एकको अनुपातमा गाभिने निर्णय गरेका थिए । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

यस्तै, सिटिजन, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले सर्वसाधारणका लागि सेयर जारी गरी पुँजी बढाउने योजनामा छन् । हाल सन नेपालको चुक्ता पुँजी दुई अर्ब २४ करोड, सिटजनको एक अर्ब ७७ करोड रुपैयाँ, आइएमई र रिलायबलको दुई अर्ब ८० करोड रुपैयाँ छ ।

शिखरको पुग्यो, ६ निर्जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सको चुक्ता पुँजी नियामकले तोके बमोजिम पुगिसेको छ । हाल शिखरको पुँजी दुई अर्ब ६५ करोड रुपैयाँ छ । जुन नियामकले तोकेको न्यूनतम पुँजीभन्दा धेरै हो ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये १० वटाले एक आपसमा मर्जरमा गई पुँजी वृद्धि गर्ने निर्णय गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तीमध्ये हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स र जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गरिसकेका छन् । जसअनुसार ६ निर्जीवन बीमा कम्पनीहरु मर्जरको प्रक्रियामा छन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीहरुले बराबरी हैसियतमा गाभ्ने/गाभिने निर्णय गरेका थिए ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ र प्रिमियरको १ अर्ब ४० करोड रुपैयाँ छ । नयाँ बन्ने कम्पनीको दुई अर्ब ८० करोड नाघ्ने छ । कम्पनीहरुले माघ महिनामा एकीकृत कारोबार थाल्ने भएका छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यस्तै, हिमालयन एभरेष्ट(साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स) को चुक्ता पुँजी दुई अर्ब २३ करोड रुपैयाँ र सानिमा जिआईसीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुगेको छ । अब हिमालयन एभरेष्टले २६ करोड रुपैयाँ र सानिमा जिआईसीले ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

अजोडले प्रभुसँग मर्जर तोडिएपछि यूनाइटेडसँग मर्जरमा जाने निर्णय गरेको छ । हाल अजोडको पुँजी एक अबै रुपैयाँ र यूनाइटेडको एक अर्ब ७ करोड रुपैयाँ छ ।

आइएमई जनरलको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँ छ । नियामकले तोकेको पुँजी पुर्याउन एनएलजीले एक अर्ब ४ करोड रुपैयाँ र आइएमई जनरलले ६८ करोड रुपैयाँ रकम थप गर्नुपर्ने देखिन्छ । यस्तै, नेको इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ छ । साढे दुई अर्ब पुँजी पुर्याउन ४८ करोड रुपैयाँ थप गर्नुपर्छ । अजोडसँग मर्जर भाडिएको प्रभुको पुँजी एक अर्ब २८ करोड रुपैयाँ छ । नियामकले तोकेको पुँजी पुर्याउन प्रभुले अब एक अर्ब २१ करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ छ । साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले दुई अर्ब २३ करोड रुपैयाँ रकम थप गर्नुपर्ने हुन्छ ।

मेट लाइफ, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स विदेशी बीमा कम्पनीका शाखा कम्पनी हुन् । ‘विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेका बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका,२०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी (असाइन क्यापिटल) कायम गर्नुपर्नेछ । यस्तै, निर्धारित पुँजी कायम नभएसम्म विदेशी बीमकले कुनै प्रकारको लाभांश घोषणा गर्न र वितरण गर्न नपाउने व्यवस्था छ ।


बिजया बास्कोटा