किन्न नपाइने नाफाको सेयर



सूचिकृत कम्पनीहरुले बाँड्ने लाभांशका अंकहरु दुब्लाउदै जाँदा १०० प्रतिशत लाभांशको समाचारले धेरैलाई तान्नु स्वभाविक हो । यी समाचार हेरेर धेरैले मेरो मेसेन्जरमा उक्त कम्पनीको नेप्से कोड (सूचिकृत कम्पनीको छोटो नाम) र मूल्यका बारेमा जिज्ञासा राखे । तर दुर्भाग्य न यसको नेप्से कोड छ न मूल्य नै । १०० प्रतिशत लाभांश बाड्ने कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)कोे सेयर किन्न पाउने अवस्था तत्काललाई भने छैन । नेप्से नेपाल सरकार, नेपाल राष्ट्र बैक, कर्मचारी संचयकोष लगायत अन्य केही संस्थाको स्वामित्वमा छ । तिनै संस्थाहरुले नेप्सेले आव २०७८/७९ को नाफाबाट बाँड्न लागेको १०० प्रतिशत लाभांश हात पार्दैछन् । १०० प्रतिशत लाभांश क–कस्को पोल्टामा जाँदैछ भन्ने थाहापाउन नेप्सेको सेयर भएका सेयरधनीको सूचि उसको बेवसाइट (नेपाल स्टक डट कम डट एनपी)मा हेर्न सकिन्छ ।

नेपाल स्टक एक्सचेन्ज पब्लिक लिमिटेड कम्पनी हो । तर, यसले सर्वसाधारणलाई सेयर जारी गरेको छैन । सरकारले आफ्नो स्वामित्वको हिस्सा घटाउन चाहेमा उसले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न सक्छ । सरकारको स्वामित्वमा भएका कम्पनी वा संस्थाहरुको सेयर निजी कम्पनी, सँस्था तथा सर्वसाधारणलाई बिक्री गर्नुलाई निजिकरण भनिन्छ । निजीकरण पुर्ण वा आंशिक कुनै पनि हुन सक्छ । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको केही सेयर बिक्री गरे सँगै नेप्से आंशिकरुपमा निजीकरण भएको छ । राष्ट्र बैंकको स्वामित्वमा रहेको सेयर निजी क्षेत्रका लक्ष्मी र प्रभु बैंकले किनेका छन् । यी दुई बैकले नप्सेको पाँच/पाँच प्रतिशत सेयरको स्वामित्व ग्रहण गर्छन् । नेप्सेको सेयर सर्वसाधारणको स्वामित्वमा रहेका कम्पनीमा पुगे पनि सर्वसाधारणको पहुँचमा भने पुग्न सकेको छैन ।

सर्वसाधारणमा सेयर बिक्री गरेर निजिकरणमा लगिएमा नेप्सेको सेयर मूल्य बढाबढ प्रकृयामा बिक्री गरिन्छ । सरकारको स्वामित्वमा रहेको कम्पनीको सेयर वा सम्पत्ति बिक्री गर्नुपरेमा मूल्य बढाबढ प्रक्रिया अनुसार बिक्री गर्नु पर्ने व्यवस्था निजीकरण ऐनले गरेको छ । तर, सरकारले नेप्सेका कर्मचारीलाई उसको सेयर दिन चाहेमा भने अंकित मूल्य १०० रुपैयाँभन्दा कम वा सित्तैमा पनि दिन सक्ने छ । यसको अर्थ नेप्सेका कर्मचारीले १०० रुपैयाँभन्दा कम वा सित्तैमा नै नेप्सेको सेयरमा लगानी गर्न पाउन सक्छन् । सरकारी संस्थाको निजीकरण गर्दा निजीकरण गर्ने संस्थामा कार्यरत कर्मचारी र कामदारलाई सो सँस्थाको केही सेयर निःशुल्क वा छुट मूल्य (डिस्काउन्ट)मा उपलब्ध गराउन सक्ने पनि निजिकरण ऐनमा उल्लेख छ । यही व्यवस्था अनुसार सरकारले नेपाल टेलिकमको १०० रुपैयाँ अंकित मूल्यका सेयर १० रुपैयाँ छुट गरी कर्मचारीलाई ९० रुपैयाँमा बिक्री गरेको थियो।

नेपाल सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्दा पनि मूल्य बढबढमा नै बिक्री गरेको थियो । यस्तै केही बर्षअघि राष्ट्र बैंकको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जकोे सेयर पनि मूल्य बढाबढ प्रक्रिया अनुसार नै बिक्री गरिएको थियो ।

स्टक एक्सचेन्जले सेयर जारी गर्नु हुँदैन भन्ने छैन । र, नेप्सेको सेयर सर्वसाधारणमा जारी गरेर वा सरकारले उसको सेयर सर्वसाधारणलाइ बिक्री गरेर बृहत् आधुनिकीकरण गर्नुपर्ने आवाज पनि निरन्तर आइ रहेका छन् । अझ नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि भएका कानुनी परिवर्तन सँगै प्रतिस्पर्धी बनाउन नेप्सेको निजीकरणको मुद्दा अझ सशक्त हुँदै गएको छ । धितोपत्र बोर्डका बर्तमान अध्यक्ष नयाँ स्टक एक्सचेन्जलाई स्वागत गर्न उत्साहित देखिन्छन् । तर, पैसा र राजनीतिले गिजोलिएको यो समाजमा उनको एक्लो प्रयासले मात्र सम्भव भने देखिँदैन ।

स्टक एक्सचेन्जले सर्वसाधारणलाई सेयर जारी गरेर बजारको थप बिकासमा लगानी गर्न सक्छन् । जस्तो भारतको बम्वे स्टक एक्सचेन्ज (बिएसइ)ले उसको सेयर सर्वसाधारणमा बिक्री गरेको छ । यसको सेयर त्यही स्टक एक्सचेन्जमा कारोबार पनि हुन्छ । यस्तै क्यानडाको टोरन्टो स्टक एक्सचेन्ज टिएमएक्स ग्रुप अन्तर्गत संचालित छ । टोरन्टो स्टक एक्सचेन्जले आफै सेयर जारी गरेको छैन । तर, टोरन्टो स्टक एक्सचेन्ज संचालन गर्ने टिएमएक्स ग्रुपले भने सेयर जारी गरेको छ । जसको सेयर टोरन्टो स्टक एक्सचेन्जमा कारोबार हुन्छ । स्टक एक्सचेन्जले सेयर जारी गरेका यस्ता धेरै उदाहरणहरु देख्न पाइन्छ ।

तर, नेपाल सरकार उसको स्वामित्वमा रहेको सेयर सर्वसाधारणमा बिक्री गरेर नेप्सेमा कारोबार गराउने बारेमा अघि सरेको देखिँदैन । यसको कारण सरकार नाफा गुमाउन चाहँदैन । सरकारको लगानी भएका धेरै कम कम्पनी (संस्थान) मात्र नाफामा गएका छन् । जुन कुरा अर्थमन्त्रालयको वेवपेजमा सार्वजनिक संस्थानका वित्तीय विवरण उल्लेख गरिएको पहेलो कितावबाट हेर्न सकिन्छ । नाफामा गएको कम्पनी मध्ये नेप्से एउटा हो । आर्थिक वर्ष (आव) २०७६/७७ मा ३३ करोड ६९ लाख खुद नाफा कमाएको नेप्सेले आव २०७७/७८ मा १ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल स्टक एक्सचेन्ज सूचिकृत कम्पनी तथा ब्रोकरहरुको नियमनकर्ता पनि हो । नेप्सेले सूचिकरण भएका कम्पनी, सेयर ब्रोकर, डिलरको नियमन पनि गर्छ । सूचिकरण हुनुअघि कम्पनीले नेप्सेका धेरै वटा शर्तहरु स्वीकारेर सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । त्यसभित्र समयमा साधारण सभा गर्नुपर्ने, वित्तीय विवरणहरु बुझाउनु पर्ने, अन्य सूचना दिनु पर्ने आदि कुराहरु पर्छन् । तर, दुर्भाग्य नेप्से आफ्नै सूचना भने सर्वसाधारणलाई दिँदैन । आव २०७८/७९ मा नेप्सेले कति नाफा गर्यो र १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्यो जो कोहीले भन्न सकिहाल्ने अवस्था छैन । यस्तै आव २०७९/८० को पहिलो त्रैमासमा उसको कार्यसम्पादन कस्तो थियो ? त्यो पनि भन्न सक्ने अवस्था छैन । मैले उसको वेवसाइटमा धेरै पटक चाहरेँ तर कतै पनि उसका त्रैमासिक र वार्षिक वित्तीय प्रतिवेदन पाउन सकिँन । नयाँ वेवसाइट आएसँगै कुनै क्रान्तिकारी परिवर्तनको अपेक्षासहित उसका त्रैमासिक र बार्षिक प्रतिवेदन, साधारण सभाका सूचना, संचालक समितिका निर्णयहरु हेर्ने कोसिस गरेँ । तर, सम्भव भएन । यस्तै अरु कसैले पनि पाउन सके जस्तो मलाइ लाग्दैन । यसैले यसको नयाँ वेवसाइटको विशेषता पनि रक्सि उही तर बोतल मात्र नयाँ रह्यो ।

नेप्सेमा सूचिकृत कम्पनीको कुल बजार पुँजीकरण (उसको वेवसाइटका आधारमा) ३१ खर्ब रुपैयाँ बराबर छ । बजार पुँजीकरणको यो तथ्यांकमा शुद्धता छैन । यद्यपि यसलाई स्वीकार्नु बाहेक अर्को कुनै बिकल्प पनि छैन । सर्वसाधारण र सरकारको समेत लगानी भएका सयौं कम्पनीको यतिका सम्पत्ति निमार्णका लागि बजार संचालन गर्ने कम्पनीको वित्तीय अवस्थाका बारेमा सर्वसाधारणको चासो हुनु स्वभाविभक हो । तर, उसको वेवसाइटमा जाँदा न उसको बार्षिक वित्तीय प्रतिवेदन पढ्न पाइन्छ न त्रैमासिक नै । न त उसको वित्तीय अवस्थाको इतिहास नै राखिएको छ । नेप्से, सेयर ब्रोकर र धितोपत्र बोर्ड सवै कमिशन व्यापारी हुन् । जसले लगानीकर्तालाई पैसा बनाइदिने भन्दा पनि लगानीकर्ताबाट पैसा बनाउने काम गर्छन् । पाडो पाए पनि पाडी पाए पनि गोठालालाई बिगौती भने झैं सेयरमा लगानी गर्नेलाई नाफा भए पनि घाटा भए पनि यीनलाई सँधै कमिशन, त्यसैमा मख्ख ।

कम्पनी ऐन २०६३ को व्यवस्थाअनुसार कम्पनीले पुस मसान्तभित्र साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ । तर, विगत लामो समय नेप्सेले कानुनले तोकेको समय (पुस मसान्त) भित्र कहिलै साधारणसभा गरेन । उसको यो गलत संस्थागत सुशासनविरुद्ध पत्रिकाका पानामा समाचारको बर्षा हुन थालेपछि भने एक दुइ बर्ष यता पुस मसान्तमा साधारणसभा गर्न शुरु गरेको छ । अरुलाई नियमन गर्ने नेप्से आफैं भने अनियमित जस्तै छ ।

बैंक तथा वित्तीय संथा र बीमा कम्पनीलाई झैं सर्वसाधारणमा सेयर जारी गर्नै पर्ने बाध्यता नेप्सेलाई छैन । तर, धितोपत्र बजार संचालन नियमावली २०६४ ले नया स्टक एक्सचेन्जले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नै पर्र्ने बाध्यात्मक व्यवस्था गरेको छ । यद्यपि हाल संचालनमा रहेको स्टक एक्सचेन्ज (नेप्से) लाई यो नियम बाध्यकारी बनाइएको छैन । यो नियामक निकायले बनाएको यो नियम आफैंमा विवेधकारी छ । यसकारण पनि यसको सेयर सर्वसाधारणमा आउने नआउने र तपाईं हामी पनि नेप्सेको मालिक बन्न पाउने नपाउने भन्ने नेपाल सरकारमा भर पर्नेछ । सर्वसाधारणमा सेयर बिक्री गरेर सूचिकरण नभएका कारण पनि नाफामा रहेकोको नेप्सेको सेयर तत्काल किनेर सय प्रतिशत लाभांश हातपार्न पाउने अवस्था छैन ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स र विमा सम्बन्धि कोर्ष समेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट, जीवन बीमा जस्ता किताबहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई