२०२२ यथार्थ र कल्पनाहरुः बैंकर रितेश लामिछानेको विश्लेषण



हामी नयाँ वर्षमा प्रवेश गरिसकेका छौं । नयाँ वर्षको चिसोसँग जुध्दै गएको वर्ष घटेका केही उल्लेखनीय घटनाहरूको स्मरण गर्ने प्रयास गर्दुछ जसका कारण आगामी वर्षहरुमा विश्वभरी आर्थिक, सामाजिक, राजनीतिक प्रभाव पार्नेछ ।

(क) आर्थिक मन्दीको परिभाषा परिवर्तन

केही समय पहिले विकिपिडियामा मन्दीको औपचारिक परिभाषा एकाएक परिवर्तन गरियो । त्यसभन्दा अगाडिसम्म हामी सबैले बुझ्दै आएको मन्दीको परिभाषाअनुसार लगातार दुई बटा क्वाटरमा हुने जीडीपीको नकारात्मक वृद्धिलाई अहिले विकिपेडियाले यस्तो मन्दी केवल बेलायततिर हुन्छ भनेको छ र अमेरिकाको हकमा भने छुट्टै परिभाषा प्रेषित गरेको छ ।

अमेरिकी अर्थतन्त्र पनि लगातार दुई त्रैमासमा नकारात्मक वृद्धि भएको थियो तर अमेरीकी सरकारको दबाबका कारण त्यहाँको केन्द्रीय बैंक र अन्य निकायहरूले आर्थिक मन्दी सम्बन्धी आधारभूत सिद्धान्त नै परिवर्तन गरे ।

यसबाट मौद्रिक नीतिहरूको लगातारको असफलताले विश्वसनीयतको थप संकटमा परेको केन्द्रीय बैंकको स्वायत्ता माथि थप राजनीतिक हस्तक्षेप भएर उक्त निकायको अस्तित्व र उपादेयतामा थप प्रश्न खडा भएको छ ।

साथै अहिलेको वैश्य युगमा जतिसुकै विकसित देशको राजनीति पार्टनरसिप तिर उन्मुख भएकोले सत्तामा बसेको नेतृत्वले आफ्नो सत्ता जोगाउन/ टिकाउन जे पनि गर्न सक्ने स‍म्भावना बढेको छ ।

सबैभन्दा ठूलो प्रश्न भने आजको यो वैश्य युगको आर्थिक, सामाजिक र राजनीतिक जटिलतालाई दशकौं पुराना अर्थशास्त्रका सिद्धान्तहरुले के सही हिसाबले सम्बोधन गर्न सक्लान् ? शायद समय भएको छ, अर्थशास्त्रका पुराना सिद्धान्तहरुको पुनरावलोकन गर्ने ।

हुनत सन् २००७-८ देखि विकसित अर्थतन्त्रका केन्द्रीय बैंकले लिएको खुकुलो मौद्रिक नीतिबाट भएको मुद्रा प्रदायको व्यापक विस्तारले समेत एक दशकभन्दा बढी समय मुद्रास्फितिमा चाप परेको थिएन । यसबाट मुद्राको विस्तारले मुद्रास्फिति बढ्छ भन्ने स्थापित मान्यतामा प्रश्न चिन्हहरु उठी सकेका थिए तर त्यसलाई मुख्य मिडिया र अर्थशास्त्रीहरूले कहिले गम्भीर रुपमा लिएनन्।

इन्फ्लाएसन बढ्‌छ तर कहिले बढ्छ, भन्ने आकलन गर्दा पाउल क्रुगम्यान जस्ता विख्यात अर्थशास्त्रीका आकलन पूर्णरूपमा गलत साबित हुन पुग्यो । तर अन्त्यमा रसिया-युक्रेनको युद्ध पश्चात भएको आपूर्ति श्रृंखलाले मात्र इन्फ्लाएसन बढ्‌यो भन्न वा बढ्‌नेछ भन्ने विद्वाहरूको सेल्फ फुलफिलिङ प्रोफेसीलाई साकार बनाउन मद्दत पुग्यो ।

मौद्रिक नीतिहरु‌को सीमितता र असफल प्रयोग, त्यसले दिने आम जनतालाई ब्याजदर मार्फतको पीडा, केन्द्रीय बैंकहरुको स्वायत्तता र संभावनाहरु दशकौं पुराना अर्थशास्त्रका सिद्धान्तहरुको जग राजनीतिक हस्तक्षेपको माध्यमबाट भत्काउने प्रयत्नहरु तथा त्यस्ता पुराना सिद्धान्हरुको पुनरावलोकन गरिनुपर्ने आवश्यकता बोध जस्ता विषय आगामी वर्षहरुमा झन् टड्कारो रूपमा अगाडि आउने निश्चित प्राय: देखिन्छ ।

(ख) टर्कीले लिएको फरक बाटो

सन् २००२ देखि २०२१ सम्म हरेक वर्ष औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत हासिल गर्न सफल भएको टर्की हाक अहिले अत्यधिक मुद्रास्फितिको सामना गर्दैछ । अक्टोबरमा प्रकाशित सरकारी आँकडा अनुसार मुद्रास्फिति दर ८५.५ प्रतिशत थियो यद्यपि अनौपचारिक अध्ययन अनुसार बार्षिक सीपीआई इन्फ्लिएसन १७६ प्रतिशतसम्म पुगेको भनिएको छ ।

जबजब अर्थतन्त्र छिटो र धेरै बढ्छ, कन्भेन्सनल मौद्रिक नीतिअनुसार केन्द्रीय बैंकले नीतिगत व्याजदरको प्रयोग गरेर मुद्रास्फितिलाई नियन्त्रणमा लिने प्रयत्न गर्छन् । यद्पि त्यसको दर्दनाक पीडा भने आम नागरिकहरुले नै झेल्न पर्छ । तर, टर्कीको केन्द्रीय बैंकले भने नीतिगत ब्याजदर वृद्धि गर्नुको सट्टा झन् घटाएर बजारको ब्याजदरलाई थप कम गर्न खोजेको देखिन्छ । यो नीतिले केही हदसम्म मुद्रास्फिति नियन्त्रण गर्न सफल भएको पनि देखिन्छ ।

राष्ट्रपति एर्दोगानको योजनाअनुसार अत्यधिक मुद्रास्फित दर वृद्धि भइरहेको अवस्थामा पनि निरन्तर आर्थिक वृद्धि हासिल गर्नको लागि केन्द्रीय बैंकको नीतिगत ब्याजदरमा भविष्यमा निरन्तर कम गर्दै लेजाने निश्चित प्राय देखिन्छ ।

पश्चिमा मिडियाहरुको लागि यो कदम एउटा मुर्ख तानाशाहको सनकको उपज तथा कन्भेन्सनल अर्थशास्त्रको ज्ञाताहरुको लागि राष्ट्रपति एर्दोगान उपहासको पात्र भएता पनि भविष्यमा तर्कीले लिँदै गरेको यो नितान्त फरक बाटोले अनअर्थोडक्स अर्थतन्त्रको मोडल र त्यसको नतिजाहको एउटा केसस्टडी बन्नेछ । र, त्यसमा ब्यापक छलफल र बहस हुनेछ ।

यहा स्मरणयोग्य कुरा के हो भने लगभग ४० वर्षअघि त्यतिबेलाको फेडरल रिज्युमको अध्यक्ष पल भोल्कर जेआरले लिएको नीति जसलाई भोल्कर सकपनि भनिन्छ त्यस नीति अन्तर्गत उनले मुद्रास्फिति नियन्त्रण गर्न केन्द्रीय बैंकको नीतिगत दर वृद्धि गरे जसले अन्ततः मुद्रास्फिति नियन्त्रण गरे पनि लाखो करोडौं अमेरीकी जनताहरुले त्यसको चर्को मूल्य चुकाउनु पर्यो ।

यतिबेला ग्रेट डिप्रेसन पछिको रेकर्ड गरिएको सबैभन्दा बढी बेरोजगारी दर अमेरीकामा थियो साथ साथै त्यो नीतिले सम्पूर्ण ल्याटिन अमेरिकामा डेब्ट क्राइसिस निम्त्याएको थियो ।

ग) के चीनको अर्थतन्त्र ट्र्यापमा जाँदैछ ?

चीनको पर क्यापिटल जीडिपी १०,००० अमेरीकी डलरभन्दा बढी भएको दुई वर्ष बढी भएको छ । चीनियाँ अर्थन्त्र अब मध्यम आयबाट अधिक आयतिर लम्कदै गरेको अवस्था हो जुन अवस्था प्राकृतिकरुपले एउटा अस्थिर अवस्था र विशेष प्रकारको फेज हो जुनबेला आर्थिक वृद्धि घट्ने अवस्था आएको खण्डमा निश्चितरूपमा चिनियाँ अर्थतन्त्र मिडिल इनकम ट्र्यापमा खस्ने सम्भावना छ ।

जीडीपी दोब्बर गर्न बेइजिङको सन् २०३५ सम्मको योजनमा सायद सबैभन्दा ठूलो तगारो हाल चीनमा देखिँदै गरेको कोरोना भाइरसको माहामारी प्रमुख हुनेछ । राष्ट्रपति सी चिनफिङले लिएको जिरो कोभिड पोलिसीको चिनियाँ जनताहरुको व्यापक बिरोधपछिको असफलता, जिरो कोभिड पोलिसिकै कारणले पूर्णरूपमा खुल्न नसकेको चिनियाँ बजार युकेन संकट, चीन–अमेरीका द्वन्द्वले निश्चितरुपमा आगामी वर्ष चीनको अर्थतन्त्रमा सुस्तता आउनेछ । यसका साथै विगतमा लिएको एक सन्तान नीतिको कारणले आएको लो वर्थ रेट तथा क्रमशः घट्दै गरेको वर्किङ एज पपुलेसनले गर्दा पनि भविष्यमा चीनको अर्थतन्त्र मिडल इनकम ट्रयापमा पर्ने खतरा बढेर गएको छ । चिनियाँ अर्थतन्त्रमा अहिले देखा परेको सबैभन्दा खतरनाक पक्ष भनेको हाउजिङ बबल हो जुन एक अनुमानअनुसार कुल जीडीपीको लगभग २९ प्रतिशत रहेको छ । हाउजिङ मार्केटको वृद्धिले रोजगारी दरलाई उच्च राख्न सहयोग गरेता पनि भविष्यमा यसको नकारात्मक परिणाम आउने अत्यधिक संभावना देखिएको छ । राष्ट्रपति सीले भविष्यमा लिने कदमहरूले चीनको आर्थिक तथा राजनीतिक भविष्य को त निर्धारण गर्छ साथै त्यसले आगामी वर्षमा समग्र विश्वको आर्थिक र राजनीतिक भविष्यलाई डोर्याउने निश्चित छ ।

(हा) इलन मस्क र ट्विटर

एस्पर्गर सिन्ड्रोमको प्रमुख लक्षणहरू भनेको निम्न सामाजिक अन्तरकृया, एकोहोरोपना, जिद्दीपना, अनौठो व्यवहारको प्रदर्शन, बोलीमा स्पष्टता नहुने सीमित फेसियल एक्सप्रेसन आदि हुन् । इलन मस्कले केही समय अगाडि स्याटर्डे नाइट लाइभ भन्ने लोकप्रिय कमेडी शोमा आएर आफू उल्लिखत डिसअर्डरबाट ग्रस्त रहेको खुलासा गरेका थिए । त्यसपछि आजको दिनसम्म आईपुग्दा इलन मस्क र ट्विटरको घटनाक्रमहरुले वास्तवमै उनी उक्त समस्याले ग्रसित रहेको पुष्टि गर्छ । ट्विटर एउटा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म हो जसमा विश्वका धेरै मानिसले आफ्नो विचार र सिद्धान्तहरु व्यक्त गर्ने गर्दछन् । विचार, सिद्दान्त र सूचनाको फ्लो गराउने एउटा शसक्त माध्यम हुँदा हुँदै पनि ट्विटरका आफ्नै कमी कमजोरीहरु थिए । इलन मस्क जोडिनुभन्दा अघि । खास गरी डोनाल्ड ट्रम्का ट्विटहरु र त्यसक अमेरिकी चुनावताना फैलिएको गलत सूचना ट्रम्प लगायत अन्य राइट विङ राजनीतिक आस्था बोकेका मानिसहरूको ट्विटर खाता बन्द गराउने तथा बुटबाट संचालित खाताहरुलाई रोक्न नसक्नु अनि क्यान्सिल कल्चर र वर्किजमलाई प्रश्रय दिएको आदि प्रमुख कमजोरीहरु थिए । तर, दुर्भाग्यवस, इलन मस्कले ट्विटर किनेपछि आजको दिनसम्म आउँदा हामीजस्ता हजारौँ ट्विटर प्रयोगकर्ताहरुलाई लागेको कुरा चाहीँ ट्विटर अचानक एउटा इन्फर्मेशनको सशक्त पब्लिक टुलबाट एउटा सन्की व्यापारीको निजीकरणमा परिणत हुँदैछ । ४४ अर्ब डलरमा ट्विटरमा खेलेको मस्कको खेलको परिणाम उनको अर्को कम्पनी टेस्लामा देखिन थालेको छ । टेस्लाको सेयरमूल्य ६० प्रतिशतले घटिसकेको छ । ट्विटरको संभावित अवसान अथवा थप सफलताको आकलनसँगै मस्कको व्यापारिक साम्राज्यको भविष्य जोडिएको तथ्यलाई विचार गर्दै गर्दा आगामी दिनहरुमा एउटा प्रश्नको उत्तर पाइनेछ भन्ने आशा गर्न सकिनेछ । त्यो हो, इलन मस्कले ट्विटरका तत्कालीन सीईओ पराग अग्रवाललाई जागीरबाट बर्खास्त गर्दा ट्विट गरेका थिए, The bire is freed to who will free elon musk from his miseries ?

ङ) साम ब्याकम्यान फ्रीड र एफटीएक्स

सन् २००८ मा केही अमेरिकी वित्तीय संस्थाहरु डुबेको समयसँगसँगै अकस्मात एउटा ९ पृष्ठ लागो डकुमेन्ट इमेलमार्फत् सार्वजनिक भयो । जसमा एउटा नितान्त नयाँ प्रकारको वित्तीय व्यवस्थाको वित्तीय कारोबार परिकल्पना गरिएको थियो जसमा कुनैपनि किसिमको तेस्रो पक्षमा भर पर्नु नपर्ने कुराको विश्वास दिलाइएको थियो । त्यही डकुमेन्ट आजको विशाल क्रिप्टो करेन्सी उद्योगको जग थियो ।

क्रिप्टोकरेन्सीका प्रोपोनेन्टहरुले केन्द्रीकृत वित्तीय प्रणालीको विकल्पको रूपमा डिजिटल करेन्सीको विकास गरेर कुनै पनि तेश्रो पक्षको हस्तक्षेप (मध्यस्ता) बिना सम्पूर्ण वित्तीय कारोबार स्वतन्त्रत ढगंले व्यक्ति व्यक्तिबीच गर्न सकिनेछ भनेर विश्वास दिलाएका थिए । २००८ मै सतोशी नाकामोटो नामबाट प्रकाशित श्वेतपत्रबाट बिटक्वइनको जन्म भएको थियो ।

माथि भनिए जस्तै क्रिप्टोकरेन्सीको मूल उद्देश्य यसको लिबर्टेरियन्सहरुले केन्द्रीय बैंकको संचालन गर्दै आएको वित्तीय प्रणालीको कमी कमजोरी औंल्याउदै त्यसको विकल्पको रूपमा एउटा पारदर्शी, विकेन्द्रीकृत तथा समतामुलक वित्तीय व्यवस्था प्राप्त गर्ने भन्ने प्रचार गरेका थिए । विश्वको अर्थतन्त्रको अधिकांश हिस्सा थोरै तर विशाल बैंक वित्तीय संस्थाको कब्जामा रहेको अवस्थामा क्रिप्टोको शुरुवाती चरणको व्यवसायले निकै प्रचार प्रसार र समर्थन पायो ।

यद्पि शुरुमा यसको प्रमुख प्रयोग भने मनी लन्डरिङमै भएको थियो । तर, वर्षौंको प्रयासपछि क्रिप्टोसँग सम्बन्धित वित्तीय अपराधहरुको समयसँगै पहिचान हुँदै जाँदा रेगुलेसन र टेक्नोलोजिको विकास र विस्तारसँगै क्रिप्टोमार्फत् लेन्डिङ र बरोइङ जस्ता कारोबार हुन थाल्यो ।

फलस्वरूप क्रिप्टो एउटा स्थापित उद्योगमा परिणत भयो र साम ब्याङ्कम फ्रिड जस्ता जस्ता युवाहरुले क्रिप्टो प्रविधीबाट फाइदा लिने अवसार प्राप्त भयो ।

दुर्भाग्यवश, क्रिप्टो उद्योगको विस्तारसँगै विस्तारै यसले उही वालस्ट्रिटको चरित्र प्रदर्शन गर्न थाल्यो । क्रिप्टो ट्रेडिङमा केन्द्रीकृत हुँदै गयो । अधिकांश कारोबारक एक दुईवटा ठूला एक्सचेञ्जमार्फत् हुँदै गयो र समग्रमा क्रिप्टो उद्योग पनि बैंकिङ उद्योगजस्तै केन्द्रीकृत हुन पुग्यो ।

आजको दिनमा एसबीएफ र उनले डुबाएको ३ अर्ब डलर बराबरको एफटीएक्स एक्सचेञ्जको अवसानसँगै सम्पूर्ण क्रिप्टो करेन्सी उद्योगहरुको व्यवहारिक उपादेयतामा ठूलो प्रश्नचिन्ह खडा भएको छ । साम ब्यांकम्यान फ्रिडको व्यक्तित्व र उनले गरेको कुकृत्य के वास्तवमा एउटा राजनीतिक प्रयोग थियो ? क्रिप्टो करेन्सी जस्तै इतिहासमा भएका अन्य विभिन्न प्रयोग जसलाई फाइनान्सियल इनोभेसनको नाम दिएर केही निश्चित वर्गका व्यक्तिहरुले लाभ लिने यो वैश्य युग को चरित्र हो ? के क्रिप्टोको प्रयोग केवल मनी लन्डरीङमा मात्र हुनेछ ? यी सब प्रश्नहरुको जवाफ आगामी दिनमा घटनाक्रमहरुले दिँदै जानेछन् ।
फ्रिडको वित्तीय अपराधको जालोको कानूनी अनुसन्धान र उनले भविष्यमा पाउने सजायको बीच हामीले सायद वर्षौं कुर्नपर्ने हुन्छ । तर, एसबीएफ र एफटीवाईको अवशानपछि आगामी वर्षमा क्रिप्टो उद्योगको भविष्य र यसका आधारभूत सिद्दान्तहरुमा आइसकेको विचलनहरू तथा अन्यौलता थप बढ्दै जाने निश्चित छ ।

अन्त्यमा सन् २०२२ चिसोलाई बिदा गर्दै नयाँ वर्षको शुरुवातमा सबैको उत्तरोतर उन्नति र प्रगतिको कामना गर्दै विश्व विख्यात अर्थशास्त्री हर्वर्ट स्टेइनको एउटा उक्तिको स्मरण गर्न चाहन्छु- If Something Cannot go on forever, it will stop”- stein’s law.


क्लिकमान्डु