निर्जीवन बीमा व्यवसायः कुन कम्पनीको हिस्सा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले यस अवधिमा सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ, विविध, कृषि तथा बाली र लघु बीमाका ११ लाख ४७ हजार २६४ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेका हुन् ।

जुन गत आवको सोही अवधिको तुलनामा ३.५८ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

कुनको बजार हिस्सा कति ?

सञ्चालनमा रहेका चार वटा निर्जीवन बीमा कम्पनीहरुले व्यवसायको ३४.१८ प्रतिशत हिस्सा ओगटेका छन् । भने बाँकी रहेका १४ वटा कम्पनीहरुले निर्जीवन बीमा व्यवसायको ६५.८२ प्रतिशत हिस्सा ओगटेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा र नेको इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायको ३४.१८ प्रतिशत हिस्सा ओगटेका हुन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायको ९.६४ प्रतिशत हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ । राष्ट्रिय बीमा कम्पनीले ८.४४ प्रतिशत, सगरमाथा इन्स्योरेन्सले ८.१० प्रतिशत र नेको इन्स्योरेन्सले ८ प्रतिशत हिस्सा ओगेटेका छन् ।

७ कम्पनीको हिस्सा बढ्यो

गत आवको सोही अवधिको तुलनामा १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये ८ वटाले बजार हिस्सा बढाएका छन् । बजार हिस्सा बढाउने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले बजार हिस्सा बढाएका हुन् ।

राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीको ८.४४ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले ४.९९ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सले ४.७२ प्रतिशत, अजोड इन्स्योरेन्सले ४.६४ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सले ५.२० प्रतिशत, नेशनल इन्स्योरेन्सले २.५९ प्रतिशत र नेपाल इन्स्योरेन्सले ४.१६ प्रतिशत हिस्सा ओगेटका छन् ।

गत आवको सोही अवधिमा राष्ट्रिय बीमा कम्पनीले व्यवसायको ३.५८ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले ४.०१ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सले ४.२४ प्रतिशत, अजोड इन्स्योरेन्सले ४.३१ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सले ४.९७ प्रतिशत, नेशनल इन्स्योरेन्सले २.५२ प्रतिशत र नेपाल इन्स्योरेन्सले ४.१२ प्रतिशत ओगटेका थिए ।

८ कम्पनीको व्यवसाय घट्यो

गत आवको सोही अवधिको तुलनामा १८ मध्ये ८ कम्पनीको व्यवसाय घटेको छ । गत आवको तुलनामा यूनाइटेड इन्स्योरेन्सको व्यवसाय सबैभन्दा धेरै प्रतिशतले अर्थात ३१.२५ प्रतिशतले घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, सगरमाथा इन्स्योरेन्सको व्यवसाय १०.९५ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.२३ प्रतिशत, शिखर इन्स्योरेन्सको ८.१८ प्रतिशत, एलएलजी इन्स्योरेन्सको ६.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५२ प्रतिशत, नेको इन्स्योरेन्सको २.३८ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको १.६५ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार १८ निर्जीवन बीमा कम्पनीमध्ये ६ वटाले अर्बभन्दा धेरैको व्यवसाय गरेका छन् । भने बाँकी रहेका कम्पनीको व्यवसाय करोड मै सीमित छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स परेको छ । शिखरले मंसिरसम्ममा कुल एक अर्ब ५४ करोड ५ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीले एक लाख एक हजार ९९१ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेको हो ।

शिखर पछि धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा राष्ट्रि बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स परेका छन् ।

राष्ट्रिय बीमा कम्पनीले यस अवधिसम्ममा एकअर्ब ३४ करोड ७८ लाख रुपैयाँको, सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा एक अर्ब २९ करोड ४४ लाख रुपैयाँको र नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड ८५ लाख रुपैयाँको व्यसाय गरेका छन् ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्मको अवधिमा एक अर्ब १३ करोड ५२ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १० करोड २५ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् ।


क्लिकमान्डु