सीजी ग्रुपको सम्राट सिमेन्टले एकै वर्ष गर्यो ५ अर्बको व्यापार, कच्चा पदार्थको मूल्य बढ्दा नाफा घट्यो



काठमाडौं । सीजी ग्रुपद्वारा सञ्चालित सम्राट सिमेन्टक कम्पनीले एकै वर्ष करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ७० करोड ४० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ११ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा कम्पनीको व्यापार ३२ प्रतिशतले बढेको छ ।

सन् २०१३ देखि व्यापार शुरु गरेको कम्पनीले दैनिक ३ हजार ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२२ को जुलाईबाट मात्रै १८ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने क्षमता रहेको उद्योगलाई विस्तार गरी ३ हजार ६ सय मेट्रिक टन पुर्याएको हो ।

त्यसैगरी, कम्पनीले सन् २०२१ को जनवरीमा मात्रै दैनिक ४ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमतासहित अर्को सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १२ अर्ब ६४ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब १५ करोड ४७ लाख रुपैयाँ अर्थात् बीप्लस र अल्पकालीन कर्जाका लागि २ अर्ब ४९ करोड ९ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले क्लिङ्कर र ग्रान्डिङ उद्योगलाई थप विस्तार गर्नका लागि १० अर्ब १३ करोड २० लाख रुपैयाँ खर्चको अनुमान गरेको थियो । तर, उक्त उद्योगको लागत बढेर अहिले १३ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार मेसिनरीको मूल्य वृद्धि, समय लम्बिएकाले लागत बढेको उल्लेख छ ।

त्यसमध्ये कम्पनीले १ अर्ब रुपैयाँ खर्च हुने जनाएको छ ।

कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक विभिन्न कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको छ । कम्पनीले कोइला, फ्लाई यास, जिप्सम, क्ले, आइरन ओरजस्ता मुख्य कच्चा पदार्थ आयात गर्दै आएको छ । जसमा कोइलाको मात्रै करिब ७० प्रतिशत हिस्सा रहेको छ । जुन क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ हो ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा उत्पादनमा पनि असर पुगेको कम्पनीको भनाइ छ । कम्पनीले साउथ अफ्रिका, अष्ट्रेलिया र भारतबाट आयात गर्ने गरेको छ । साथै, आन्तरिक बजारको क्लिङ्कर प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सञ्चालक समितिका ५ जना सदस्य रहेको कम्पनीका दुई जना निर्देशक छन् । निरभाना चौधरी र बरुण चौधरी निर्देशक रहेका कम्पनीको अध्यक्ष भने अनिलकुमार रुङ्गटा हुन् । साथै, बासदेव पाण्डे व्यवस्थापन निर्देशक हुन् ।

सन् २०२१ मा कम्पनीको क्लिङ्करको परिमाणको उत्पादन बढ्दा आम्दानी बढेको जनाएको छ । बजारमा सिेमन्टको बढ्दो प्रतिस्पर्धा छ । जसले गर्दा मूल्यमा असर परेको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२२ मा प्रतिबोरा ४४२ रुपैयाँमा सिमेन्ट बिक्री गरेको जनाएको छ । सन् २०२१ मा प्रतिबोरा २७२ रुपैयाँमा बिक्री गरेको थियो । जसले गर्दा नाफामा पनि कमी आएको छ । कम्पनीको सन् २०२२ मा २० प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा कच्चा पदार्थको मूल्य बढेकाले सन् २०२१ मा २७ प्रतिशत नाफा कमाएको कम्पनीको सन् २०२२ मा २० प्रतिशत मात्रै नाफा कमाएको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२३ को पहिलो त्रैमासिकमा ६० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले विभिन्न सातवटा ब्रान्डमा सिमेन्ट बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियम ब्रान्डमा सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीले गजराज, बाज बादशाह र सम्राट ब्रान्डमा पीपीसी र गजराज प्रिमियम, बाज प्रिमियम र सम्राट प्रिमियम ओपीसी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको घोराही, तुल्सीपुर, कोहलपुर, धनगढी, नेपालगञ्ज, बुटवल र भैरहवामा ठूलो बजार छ ।


क्लिकमान्डु