गोदावरी बिजनेस अर्गनाइजेशनको व्यापार ७ अर्ब, कुनको कारोबार कति ?



काठमाडौं । गोदावरी बिजनेस अर्गानाइजेसनको तीनवटा कम्पनीले सन् २०२२ मा ७ अर्बको व्यापार गरेका छन् । मुन्नाप्रसाद सेनुरिया बानिया अध्यक्ष रहेको तीन कम्पनीले सन् २०२२ मा ६ अर्ब ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

अर्गनाइजेसनअन्तर्गत गोदावरी स्टिल प्रालि, गोदावरी पोलिस्याक्स एण्ड फ्याब्रिक प्रालि र गोदावरी आइरन स्टोर प्रालि सञ्चालित छन् । उक्त कम्पनीलेहरुले सन् २०२२ मा उच्च व्यापार गरेको देखिन्छ । त्यसमा पनि गोदावरी स्टिल कम्पनीले सबैभन्दा बढी व्यापार गरेको छ ।

गोदावरी बिजनेस अर्गनाइजेशन सन् १९५० मा स्थापना भएको थियो । कम्पनीमा बानिया र उनको परिवारको स्वामित्वमा छ । उनी लामो समयदेखि एचडीपीई पाइप, गार्डेन पाइप र पानी ट्याङ्कीमा, ट्रेडिङ र निर्माण सामाग्री, ट्रान्स्फर्मर र फ्याब्रिकेसन र खानेपानी आयोजना क्षेत्रमा संलग्न छन् ।

कम्पनीले रेटिङ गराएर तीनवटा कम्पनीमार्फत् दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब १६ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

गोदावरी स्टिल प्रालिः गोदावरी स्टिल कम्पनीबाट एकै वर्ष ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब १२ करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०१९ देखि व्यापार गर्न शुरु गरेको थियो । कम्पनीले टीएमटी स्टिल बार र टोरकारी गरी दैनिक ६०० मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले ‘गोदावरी स्टिल’ ब्रान्डअन्तर्गत डण्डी तथा स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ६७ करोड १९ लाख रुपैयाँ अर्थात् बी माइनस र अल्पकालीन कर्जाका लागि ४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले तीन वटा उद्योग स्थापना गर्ने जनाएको छ । जसमा कम्पनीले रोलिङ मिल, सीसीएम प्लान्ट र वायर रोड उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त उद्योग सञ्चालनमा ल्याउनका लागि ३ अर्ब १ करोड ४० लाख रुपैयाँ खर्च हुने उल्लेख छ । हालसम्ममा उक्त उद्योगहरुको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । कम्पनीअनुसार चालु आर्थिक वर्षसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कम्पनीले विशेषगरी भारतबाट कच्चा पदार्थ आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले व्यापार गरेकोमध्ये ९० प्रतिशत उत्पादन र कच्चा पदार्थको हिस्सा रहेको जनाएको छ । तर, पनि कम्पनीले सन् २०२२ मा ७९.८० प्रतिशतले आम्दानी बढेको उल्लेख छ ।

कम्पनीले ५ अर्बको व्यापार गर्दा ७.९४ प्रतिशतले नाफा कमाएको छ ।

गोदावरी पोलिस्याक्स एण्ड फ्याब्रिक प्रालिः सन् २०१८ देखि दुई वटा क्षेत्र अर्थात् टर्पुलिन र पोलिस्याक ब्याग उत्पादन गर्दै आएको गोदावरी पोलिस्याक्स एण्ड फ्याब्रिक प्रालिले सन् २०२२ मा ६३ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ६३ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा १८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । वार्षिक ४ हजार ८ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीको शाखा ललितपुर, हेटौंडा र रौतहटमा छन् ।

कम्पनीको सन् २०२२ मा उच्च व्यापार गरेपनि नाफा भने कमाउन भने नसकेको देखाउँछ । कम्पनीले सन् २०२२ मा ०.३१ प्रतिशत मात्रै नाफा कमाएको जनाएको छ । त्यसैगरी, कम्पनीले ४ हजार ८०० मेट्रि टन उत्पादन क्षमतालार्ई ६ हजार मेट्रिक टन उत्पादन गर्ने गरी कार्य अगाडि बढाएको छ ।

कम्पनीले ‘गोदावरी’ ब्रान्डमा आफ्ना सामाग्री बिक्री वितरण गर्दै आएको छ । देशभर दुई सय डिलर÷सब–डिलर रहेको कम्पनीको उद्योग मकवानपुरमा छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २५ करोड ४६ लाख रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि ४० करोड रुपैयाँ अर्थात् एफोर गरी ६५ करोड ४६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

गोदावरी आइरन स्टोर प्रालिः सन् २०१५ देखि निर्माण सामाग्रीको व्यापार र आपूर्ति गर्दै आएको गोदावरी आइरन स्टोरले सन् २०२२ मा ८९ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६६ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा ३० करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले स्टिल, सिमेन्ट र हार्डवेयरजस्ता सामाग्रीको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि १७ करोड रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि ५४ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले सन् २०२२ मा ०.२८ प्रतिशत मात्रै नाफा कमाएको छ ।


अरिष्मा मोक्तान