आयातमा कडाइ नीतिले ६२%ले घट्यो टीआर कर्जा, करिब आधा खर्ब नेपाल इन्भेष्टमेन्ट बैंकबाट मात्रै



काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव र विदेशी सञ्चिति घट्दै गएको भन्दै सरकारले आयातमा कडाइ गरेको नीतिले त्यसक्षेत्रमा प्रवाह हुने कर्जामा ६२ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा गत वर्षको सोही अवधिमा ६२.१४ प्रतिशतले कर्जा प्रवाह घटेको हो ।

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा देशभरको वाणिज्य बैंकबाट ३ खर्ब २१ अर्ब ७७ करोड ९० लाख रुपैयाँट ट्रष्ट रिसिप्ट कर्जा/आयात कर्जाका लागि कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब ५० अर्ब १३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

सरकारले गत वर्षको पुसबाट आयातमा कडाइ गरेको थियो । सरकारले विदेशी सञ्चितl घट्दै गएको र तरलता अभाव भएको भन्दै विभिन्न ४७ वटा वस्तुको आयातमा मार्जिनको व्यवस्था गरेको थियो । साथै, थप मोबाइलमा पनि मार्जिनको व्यवस्था गरेको थियो ।

मार्जिनको व्यवस्थाले पनि आयात कमी नआएपछि सरकारले गत वैशाख १३ गते विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । जसले गर्दा आयातमा जाने कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा कडाइ गर्नुभन्दा अगाडि बैंक तथा वित्तिय संस्थाबाट मासिक २ खर्ब रुपैयाँभन्दा बढी यस क्षेत्रमा कर्जा प्रवाह हुने गरेको तथ्याङ्कले उल्लेख गर्छ ।

गत वर्षको साउनमा बैंक तथा वित्तिय संस्थाबाट २ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ, भदौमा २ खर्ब ७ अर्ब १९ करोड रुपैयाँ, असोजमा २ खर्ब १५ अर्ब २५ करोड ४० लाख रुपैयाँ र कात्तिकमा २ खर्ब २२ अर्ब ९३ करोड २० लाख रुपैयाँ ट्रस्ट रिसिप्ट कर्जा/आयात कर्जा प्रवाह भएको थियो ।

तर, राष्ट्र बैंकले आयातमा कडाइ लगत्तै सो क्षेत्रमा जाने ऋण निरन्तर घटेको देखिन्छ । त्यस्तै, चालु आर्थिक वर्षको साउनमा ७९ अर्ब ४ करोड ६९ लाख रुपैयाँ, भदौमा ८० अर्ब ४ करोड २५ लाख रुपैयाँ, असोजमा ८० अर्ब ६३ करोड ८ लाख रुपैयाँ र कात्तिकमा ८१ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

कर्जा प्रवाहमा कमी आएसँगै आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५ खर्ब ३२ अर्ब ६९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अहिले बजारमा तरलताको अभाव छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर ह्वात्तै बढाएको छ । जसले गर्दा बजारमा अधिकांश वस्तुको मागमा कमी आएको छ । बजारमा माग कम भएकाले पनि अधिकांश वस्तुको आयातमा कमी आएको व्यवसायीहरु बताउँछन् ।

नेपाल उद्योग परिसंघले पनि बजारका अधिकांश वस्तुको मागमा कमी आएको जनाएको छ । बजारमा माग कमी आएसँगै आयातका लागि खोलिने एलसीमासमेत कमी आएको अध्ययनले देखाएको छ ।

कुन बैंकबाट कति कर्जा प्रवाह ?

चार महिनाको अवधिमा करिब साढे ३ खर्ब कर्जा प्रवाह हुँदा सबैभन्दा बढी नेपाल बंगलादेशबाट ट्रस्ट रिसिप्ट कर्जा÷आयात कर्जा प्रवाह भएको छ । उक्त अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकबाट मात्रै ४६ अर्ब ९० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यसपछि हिमालय बैंकबाट ३८ अर्ब ९० करोड ७९ लाख रुपैयाँ, नबिल बैंकबाट ३७ अर्ब ६० करोड ६९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चाटर्ड बैंकबाट २६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकबाट २४ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ, सिद्धार्थ बैंकबाट १७ अर्ब १ करोड १२ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट १६ अर्ब ३१ करोड ५७ लाख रुपैयाँ, लक्ष्मी बैंकबाट १५ अर्ब १९ करोड ३ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकबाट १२ अर्ब ६ करोड २० लाख रुपैयाँ, प्रभु बैंकबाट ११ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ र एनएमबी बैंकबाट १० अर्ब ३१ करोड ७८ लाख रुपैयाँ ट्रस्ट रिसिप्ट कर्जा÷आयात कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले ९ अर्ब ७६ करोड २२ लाख रुपैयाँ, कुमारी बैंकबाट ७ अर्ब ५२ करोड ५० लाख रुपैयाँ, सानिमा बैंकबाट ७ अर्ब २४ करोड ४२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकबाट ७ अर्ब १५ करोड २१ लाख रुपैयाँ, सनराइज बैंकबाट ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ, एनसीसी बैंकबाट ५ अर्ब ५० करोड ७५ लाख रुपैयाँ, मेगा बैंकबाट ५ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

साथै, राष्ट्रिय वाणिज्य बैंकबाट ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ, सिटिजन बैंकबाट ४ अर्ब ५० करोड १० लाख रुपैयाँ, बैंक अफ काठमाडौंबाट ३ अर्ब ११ करोड ३६ लाख रुपैयाँ, सिभिल बैंकबाट १ अर्ब ३९ करोड २२ लाख रुपैयाँ, प्राइम बैंकबाट १ अर्ब ११ करोड रुपैयाँ, सेन्चुरी बैंकबाट ९८ करोड ४० लाख रुपैयाँ, एनआईसी बैंकबाट ५९ करोड ३७ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ४९ करोड ४४ लाख रुपैयाँ र महालक्ष्मी बैंकबाट ११ लाख रुपैयाँ ट्रस्ट रिसिप्ट कर्जा/आयात कर्जा प्रवाह भएका छन् ।


क्लिकमान्डु